कुराकानीका क्रममा थापाले आफ्नो मोबाइलमा राखेको विश्वका प्रख्यात खेलाडी टाइगर उडको बाल्यकालको फोटोसँग सुवासको फोटो जोडिएको तस्विर देखाउँदै भने, ‘ल हेर्नुस त टाइगर उडको हाँसोसँग सुवासको हाँसो म्याच गरेको ।’
ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ भारदेउको विपन्न परिवारमा जन्मिएका १७ वर्षीय एक टिठोले एलिटहरूको खेल मानिने गल्फमा नेपाललाई स्वर्ण दिलाए । गल्फ बल टिप्ने बल ब्वाइका रूपमा गल्फ कोर्समा छिरेका उनको गल्फ यात्रा रोमाञ्चकताले भरिएको छ ।
पहाडी बस्ती । उति धेरै घर छैनन् । तामाङ समुदायको बढी बसोबास रहेको बस्तीमा नेवार र ब्राह्मण समुदायको पनि बसोबास छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ मा पर्ने यही भारदेउ गाउँमा ढुंगा र गारोले ठड्याइएको एउटा एक कोठे घर छ । घरमा छतसँगै झ्याल ढोकामा टिन बेरिएका छन् ।
भूकम्पले भत्केपछि ठडिन नसकेको त्यही घरजस्तो देखिने एक कोठे टहरोमा बस्छ— सागका स्वर्णपदक विजेता खेलाडी सुवास तामाङको तीन जनाको परिवार । जस्ताले बेरिएको यही घरमा खुट्टा राम्ररी नचल्ने उनकी आमा सानुमाया तामाङ, ज्यामी काम गर्ने बुवा उत्तम तामाङ र १० वर्षीय भाइ अर्जुन तामाङ बस्छन् । दु:खजिलो गरेर उनका बुवाले परिवारको भरणपोषण भरथेग गर्छन् ।
२०५९ सालमा आर्थिक दु:खले गिजोलेको यही परिवारमा सुवास जन्मिएका हुन् । सुवासले सम्झिने बेलामा उनका बुवाआमा इँट्टाभट्टामा काम गर्थे । सुवासको जिम्मा भने भाइ हेर्ने, खाना पकाउने हुन्थ्यो । उनका बुवाआमाले केही वर्षमै इँट्टाभट्टामा काम छाडेर ज्यामी काम गर्न थाले । काम परिवर्तन गरे पनि उनीहरूको आर्थिक अवस्थामा सुधार हुन सकेन, जसको प्रत्यक्ष प्रभाव किशोर सुवासमा पर्यो । उनले आर्थिक दुरवस्थाकै कारण ३ कक्षामै पढाइ छाड्नुपर्यो । ‘बुवाआमाको आर्थिक स्थिति निकै कमजोर थियो, मैले राम्रो पढ्ने अवसर पाइनँ,’ हालैको एक अपराह्न साप्ताहिकसँगको भलाकुसारीमा सुवासले भने, ‘त्यति राम्ररी स्कुल नै जान पाइनँ ।’
०६८ सालमा काठमाडौंमा बस्ने उनकी छेमा (सानीआमा) मीना तामाङले आफ्नो छोरा हेर्नका लागि नौ वर्षीय सुवासलाई सहर ल्याइन् । छेमा कालीमाटी टोल सिंनामंगलमा बस्थिन्, दुई वर्ष उनले छेमाका छोराको हेरचाहमा बिताए । दुई वर्ष छेमाको छोरा हेरेर बिताएपछि मावली दाइ विनोद तामाङमार्फत श्याम तामाङ भेटिए, उनी रोयल नेपाल गल्फ क्लबको प्रशासनमा काम गर्थे । श्यामले नै ‘बल ब्वाइ’का रूपमा ‘धनीहरूको खेल’ भनिने गल्फको मैदानमा सुवासको इन्ट्री गराए । ‘गल्फमा बल ब्वाइ बनेर छिरेपछि एकदमै रमाइलो हुन थाल्यो, साथीहरू पनि हुन्थे,’ सुवास गल्फ मैदानका सुरुवाती दिनहरू सम्झन्छन्, ‘हाँस्ने, बल टिप्ने, रमाइलो हुन्थ्यो ।’
‘बल ब्वाइ’का रूपमा काम गर्दा उनले ४ हजार तलब पाउँथे । २५ रुपैयाँ थप खाजा खर्च हुन्थ्यो । ‘त्यो २५ रुपैयाँको चाउमिन खान्थें, साँझपख छेमाकहाँ गएर खाना खान्थें,’ सुवास सम्झन्छन् । पहिलो वर्ष उनले ‘बल ब्वाइ’का रूपमा बिताए । अर्को वर्षदेखि आक्कलझुक्कल खेल्ने अवसर पनि उनलाई जुट्न थाल्यो । सुवासको बल हान्ने क्षमताबाट नेपाल गल्फ एसोसिएसनका अध्यक्ष टाँसी घले प्रभावित भए, उनले नै सुवासलाई गल्फ हान्न सिकाए । सुवासलाई टी, बल, पन्जा, सुजलगायतका सामग्रीहरू किनिदिए । गल्फ खेल्ने अवसर पनि उनले नै जुराइदिन थाले । सुवास बिहान ६ बजेदेखि १२ बजेसम्म बल ब्वाइका रूपमा काम गर्थे, त्यसपछि अभ्यास ।
‘१३ वर्षको उमेरमा पहिलो पटक खेल्ने अवसर पाएँ,’ सुवास भन्छन्, ‘मलाई टाँसी घले सरले जुनियर गेम खेल्ने अवसर दिनुभयो ।’ संघको युथ प्रोग्राममा छनोट भएपछि सुवासले अरूभन्दा राम्रो बल हाने, स्कोरहरू पनि एकदम राम्रो गर्दै गए । जुनियर गेमहरूमा राम्रो स्कोर आएपछि उनलाई एमेच्योर खेल्ने अवसर जुट्यो । ‘त्यसमा पनि राम्रो स्कोर आएपछि प्रोफेसनल गेम्समा अवसर पाएँ,’ सुवास थप्छन् । नेपाल गल्फ संघले पनि उनलाई सहयोग गर्न थाल्यो ।
प्रोफेसनल गल्फरहरूको सूर्य नेपाल गल्फ टुरमा टप एमेच्योरहरू खेल्न अवसर दिइन्छ । उनीहरूले प्रोफेसनल गल्फरहरूसँग खेलेर केही अनुभव बटुलून् भनेर प्रोफेसनल गल्फ एसोसिएसन (एनपीजे), त्यसमा टप एमेच्योरहरूलाई प्रोफेसनल गल्फरहरूसँग खेल्ने अवसर दिन्छ । राम्रो प्लेयर्स भएकाले एनपीजेले सुवासलाई प्रोफेसनलसँगै खेल्ने अवसर प्रदान गर्यो । त्यसबाट उनले थप अनुभव बटुल्ने अवसर पाए । नेपालका नम्बर वान गल्फर शिवराम श्रेष्ठ, भुवन नगरकोटी, धनबहादुर थापा, सन्जय लामाहरूजस्ता खेलाडीहरूसँग खेल्न पाए । सुवासले पाएको चान्सलाई अवसरका रूपमा भरपुर उपयोग गरे । उनले प्रोफेसनलभन्दा राम्रो स्कोर गरेर ट्रफी जिते । एमेच्योर्स र प्रोफेसनल दुवैमा ट्रफी जितेपछि उनी गल्फका उदाउँदा युवा प्रतिभाका रूपमा चिनिन थाले ।
कारण नै मान्नुपर्छ, सुवासले पछिल्लो तीन वर्षयता व्यावसायिक प्रतियोगिता ‘सूर्य नेपाल गल्फ टुर’ मा एमेच्योर खेलाडीका रूपमा नियमित प्रतिस्पर्धा गर्ने अवसर पाइरहेका छन् । उनले स्वदेश तथा विदेशमा छात्रवृत्तिमा ट्रेनिङ गर्ने मौका पनि पाएका छन् । अहिलेसम्म उनी भुटान, सिंगापुर, भियतनाम, चीन, थाइल्यान्ड, बंगलादेश गएर खेलिसकेका छन् । ‘विदेशमा अलि लामो–लामो हान्नुपर्छ,’ उनले भने, ‘विदेशमा भन्दा नेपालमा खेल्न सहज छ ।’
सुवासको प्रतिभालाई चिनेर नै हुनुपर्छ, २०७५ मा नेपाल आर्मी क्लबले उनलाई करारमा नियुक्ति गर्दै आफ्नो गल्फ क्लबमा खेलाडीका रूपमा स्वागत गर्यो । ‘सुवास आउँदा मैले यस्तो राम्रो प्रतिभा भएको खेलाडी छ, केही गर्छ भन्ने लागेको थियो,’ पाँचवटा टाइटलसमेत जितेका आर्मी अफिसर्स गल्फ क्लबका प्रशिक्षक धनबहादुर थापा भन्छन्, ‘यसले भोलि आर्मी क्लबमा मेरो ठाउँ लिन्छ भन्ने लाग्यो ।’ त्यसपछि थापाले प्रशिक्षण दिन थाले । सुवासको स्टामिना, अनुशासन, कम बोल्ने शैली, भनेको मान्नेजस्ता गुणहरूले थापाको मन जितेको छ । आर्थिक रूपमा देखिएको समस्या आर्मी क्लबमा करारमा नियुक्त भएसँगै थोरै राहत हुन थालेको छ । अहिले पनि आर्मीमा भएकाले उनलाई खान बस्न नि:शुल्क छ । उनले केही तलब पनि थाप्छन् । ‘केही तलब आउँछ, त्यसको केही भाग घर पनि पठाउँछु,’ सुवासले थपे ।
भुटान ओपनमा त उनले राम्रो उपलब्धि हासिल गरे । शुक्रबहादुर राई प्रथम भए भने उनी तेस्रो भए । ‘भुटानमा तेस्रो हुनु उसका लागि टर्निङ प्वाइन्ट भयो । ओहो † मैले त अन्तर्राष्ट्रिय स्तरमा पनि सक्दो रहेछु, देशका लागि साउथ एसियन गेम्समा कन्फर्म गोल्ड मेडल ल्याउँछु भन्ने दृढता उसमा बढायो,’ उनका प्रशिक्षक थापा भन्छन् । सागको तयारीमा क्याम्पमा पनि एकदमै राम्रो भएको थियो । सागकै लागि भनेर सिंगापुरबाट किम वाल्डेन भन्ने विदेशी कोच आएर दुई हप्ता प्रशिक्षण दिएका थिए भने टुर्नामेन्टभन्दा एक दिन अघिसम्मको रुटिङ नेपाली प्रशिक्षकलाई दिएर गएका थिए । कतिखेर खाने, बस्ने, कतिखेर तालिम गर्ने त्यही रुटिङ नेपाली प्रशिक्षकहरूले फलो गरेर सागका लागि सुवासलाई तयार पारे ।
अन्तत: १३ औं दक्षिण एसियाली खेलकुदमा त खुलेर बोल्न पनि नसक्ने ती लुरे फुच्चे केटोले कमालै गरिदिए । उनले गल्फमा व्यक्तिगत र टिम स्पर्धामा गरी २ स्वर्णपदक दिलाए । सुवासले बंगलादेशका मोहमद फाहरादको चुनौती ८ स्ट्रोकले पन्छाउँदै व्यक्तिगत स्पर्धामा स्वर्ण जिते । स्वर्ण जितेपछि उनले सबैभन्दा पहिले बुवाआमालाई सम्झिए । ‘बुवाआमालाई सम्झिएँ, त्यसपछि टाँसी घले सरलाई सम्झिएँ,’ उनले भने, ‘टाँसी सर मेरो लागि गडफादरजस्तै हुनुहुन्छ ।’ सुवास अहिले जहाँ छन्, त्यो सबै टाँसीकै देन मान्छन् । सुवासको सपना धेरै छैन्, उनी भाइलाई बोर्डिङ स्कुल पढाउने, बुवाआमाका लागि सानो घर बनाइदिने र गल्फका लागि थप मेहनत गर्ने योजनामा छन् । ‘मेरा लागि गल्फ नै लाइफ हो, मेरो लागि जिन्दगी नै गल्फ हो,’ उनी भावुक भए, ‘म गल्फसँगै जीवन बिताउन चाहन्छु ।’
१७ वर्षकै उमेरमा सुवासको गल्फ उडान लोभलाग्दो छ । उनी अहिले वल्र्डकै गल्फरहरूको र्यांकिङमा ७ सय ४१ मा छन् । ‘यो नेपालको गल्फमा पहिलो इतिहास नै हो,’ थापाले थपे, ‘एमेच्योर्स इभेन्टमा सागमा जितेपछि अझ यसमा सुधार हुन्छ होला ।’ थापाका अनुसार १७ वर्षकै उमेरमा सुवासले हासिल गरेको प्रतिभा निकै माथिको हो । ‘ऊ बल ब्वाइ हँुदादेखि नै गल्फ खेलाडीसँगै बस्न पायो । बल टिप्न जाँदा स्टिक लिएर टिप्न जान्थ्यो । खेलाडी नहुँदा पनि बल हान्ने मौका पाउँथ्यो । त्यहींबाटै सुरु भएको हो गल्फ यात्रा,’ थापा सम्झन्छन्, ‘भर्खरै १७ वर्षकै उमेरमा उसले गल्फमा निकै फड्को मारेको छ ।’ थापा सुवासलाई नेपाली टाइगर उड भन्ने गर्छन् । कुराकानीका क्रममा उनले आफ्नो मोबाइलमा राखेको विश्वका प्रख्यात खेलाडी टाइगर उडको बाल्यकालको फोटोसँग सुवासको फोटो जोडिएको तस्विर देखाउँदै भने, ‘ल हेर्नुस त टाइगर उडको हाँसोसँग सुवासको हाँसो म्याच गरेको ।’ उनले सुवासका शारीरिक वनावट टाइगर उडसँग तुलना गरे । गहिरिएर हेर्दा सुवास ठ्याक्कै उडजस्तै देखिने रहेछन् ।