साप्ताहिक संवाददाता
पछिल्लो समय देश विदेशमा एवार्ड कार्यक्रम गर्ने होडबाजी नै चलेको छ । एवार्ड कार्यक्रम आयोजना त गरिन्छ तर अधिकांश कार्यक्रम विवादमा तानिन्छन् । यस्तै बेलायतमा आयोजना हुन लागेको एक एवार्ड कार्यक्रम हुनु अघि नै विवादित बनेको छ ।
एवार्ड वितरण सम्बन्धी सामान्य ज्ञान नराखि कार्यक्रम आयोजना गर्नखोज्दा नविन गुरुङले आयोजनागर्न लागेको एक कार्यक्रम नै विवादमा तानिएको छ । आफ्नो रहर पूरा गर्न र आफूले चाहेको व्यक्तिको प्रचार प्रसार गर्ने उद्धेश्यले सामाजिक संजाल फेसबुक मार्फत नविन गुरुङले संचालन गर्दैै आएको ‘ह्.या.ब.’ ह्याब ए मोमेन्टले सार्वजनिक गरेको नोमिनेशन नै हाँस्यास्पद बनेको छ ।
कुनैपनि विधाको नोमिनेसनमा ३ देखि ५ जना राख्ने विश्वव्यापी प्रचलन छ ।
तर ह्याबले सार्वजनिक गरेको नोमिनेसनको कतिपय विधामा डेढ दर्जन भन्दा बढी राखिएको छ ।
मिडिया र फोटोग्राफी विधामा डेढ दर्जनभन्दा बढीलाई नोमिनेसनमा राखिएको छ । बेलायतमा व्यवशायिक फोटोग्राफी गर्ने मुस्किलले आधा दर्जन फोटोग्राफर रहेका छन् । आयोजकले विभिन्न विधामा नोमिनेसन आव्हान गरे पछि इच्छुक व्यक्तिले नोमिनेसन भर्नुपर्ने हुन्छ । तर नोमिनेसनमा परेका अधिकांशलाई उक्त कुराको जानकारी समेत छैन । नोमिनेसन फेसबुकमा सार्वजनिक भएपछि आफूले देखेको पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले साप्ताहिकलाई बताए । नोमिनेसनमा सहभागी हुन इच्छुक छ÷छैन एक पटक सोध्नु त पर्छ, उनले भने । नोमिनेसनबाट आफ्नो नाम हटाउन आयोजकलाइ सम्पर्क गर्दा आयोजक सम्पर्कमा नआएको लुईंटेलले बताए । त्यस्तै केही व्यवशायिक पत्रकार एवं संचारकर्मीका नामहरु बिना अनुमति राख्दा पनि मौन छन् भने नोमिनेसनबाट केहीले आफ्नो नाम हटाएका छन् ।
त्यस्तै संगीत विधामा १५ जनाको नाम समावेश गरिएको छ । जसमा दुई–तीन जना बाहेक अधिकांशको नाम कसैले नसुनेका छन् ।
बिबिसी नेपाली सेवामा कार्यरत बरिष्ठ पत्रकार र फेसबुकमा लाइभ गर्नेलाई एउटै विधामा राखिएको छ । वेष्ट एक्टरको मनोनयनमा परेका समिर गुरुङको अहिलेसम्म कुनै पनि फिचर फिल्म रिलिज भएको छैन, तर गुरुङलाई चल्तीका कलाकारसंगै वेष्ट एक्टरको नोमिनेसनमा राखिएको छ । समिर गुरुङ स्वयंलाई थाहा छैन आफू यो विधामा नोमिनेट भएको । त्यस्तै वेष्ट एक्टरमै परेका टंक धमलाको पहिलो चलचित्र प्रदर्शन भएको एक–दुई साता मात्र भएको छ । नव कलाकारलाई चल्तीका कलाकारसँग एउटै विधामा प्रतिस्पर्धा गराइँदैन भन्ने कुरामा आयोजक अनभिज्ञ देखियो । साथै वेष्ट एक्टर फिमेलमा पनि त्यस्तै चल्तीका अभिनेत्रीहरुसँग प्रसुना कँडेललाई पनि समावेश गरिएको छ । प्रसुना कँडेलले मुख्य अभिनेत्रीको रुपमा अभिनय गरेको कुनै पनि चलचित्र छैन । प्रसुना आफैलाई यो मनोनयन नमिलेको कारण उक्त विधाबाट आफ्नो नाम हटाउन लगाउने बताउछिन् ।
यस एवार्ड कार्यक्रमलाई एनआरएनए यूके पनि सहयोग गरेको देखिन्छ । सहयोगी संस्थामा एनआरएनए यूके रहेपछि यो बिषयमा नकारात्मक टिप्पणी बेलायतमा बस्ने नेपाली माझ हुन थालेको छ । कार्यक्रमको स्तर र अवधारणा नबुझी आवद्ध भएमा संस्थाको साख गिर्नेमा दुई मत छैन ।
केही साता अघि जापानमा गएिरको एक एवार्ड कार्यक्रममा आयोजकको कमजोरीका कारण विवादमा आएको थियो । दुई दर्जनभन्दा बढी कलाकार अपमानित हुन परेको यो कार्यक्रम दर्शक विहीन भएको थियो । आफ्नो दुनो सोझाउन बेलायतमा पनि मनपर्दी तरिकाले हुन लागेको एवार्ड कार्यक्रमले कुनै पनि पेशाकर्मी, कलाकार र समस्त नेपालीको प्रतिष्ठामा आँच आउने कार्य नगर्ला भन्न सकिंदैन ।
आयोजकका अनुसार मिडिया, कलाकार, मेकअप, भ्लगर लगायत विभिन्न क्षेत्र गरी १० विधामा अवार्ड दिइने छ ।