छापामार छलाङ 

- मुकुन्द बोगटी

पुस ६, २०७६

१२ वर्षको उमेरमै माओवादी सशस्त्र युद्धमा होमिएकी अनुपमा मगरले  योग्य लडाकू भएर पनि समायोजन नरोजेर खेलकुदमा आइन् । ०६५ मा आमा गुमाएकी उदयपुर लेखानीकी अनुपमा काठमाडौंमा भाइबहिनीहरूको अभिभावकको जिम्मेवारी सम्हाल्दै कराँतेमा स्वर्ण जित्न सफल भइन् । 

 

२०५९ सालतिर । माओवादी द्वन्द्व उत्कर्षतिर थियो । समानान्तर सत्ताकै शैलीमा माओवादीहरू जनवादी सत्ताको अभ्यास गरिरहेका थिए । उनीहरूको आफ्नै सत्ता, सेना र कलाकारहरू थिए । उदयपुरमा ग्रामीण बस्तीमा कलाकारमार्फत जनजागरण अभियानहरू सञ्चालन गरिन्थे । निधारमा रातो ताराअंकित फेटा बाँधेका जनवादी कलाकारहरू जब सैनिक ड्रेसमा नृत्य प्रस्तुत गर्थे । ५ कक्षामा पढ्ने उदयपुर लेखानीकी १२ वर्षीया अनुपमा मगरका जीउमा पनि काडा उर्मिन्थे । जोशिला जनजीवनका गीत गाउने जनवादी कलाकारको ग्ल्यामरले उनको बाल मस्तिकलाई बेचैन बनाउँथ्यो । 

गोरो, आकर्षक अनुहारकी धनी अनुपमाको मनमा पनि माओवादी जनवादी कलाकारजस्तै निधारमा रातो ताराअंकित फेटा बाँध्ने रहर हुन थाल्यो । त्यही आकर्षणले बेला–बेलामा माओवादीको कार्यक्रममा सरिक हुन थालिन् । नाच्न—गाउन रुचि भएको कारण सांस्कृतिक विभागमै बसेर काम गर्न इच्छुक रहेको खबर उनले माओवादी कार्यकर्तालाई गरिन् । त्यसपछि अनुपमालाई माओवादीहरूले भूमिगत बनाए । कार्यक्रम नभएको बेला उनी पार्टीका विभिन्न नेताहरू आएर पार्टीको काममा लगाउँथे । धेरैजसो उनीहरूलाई राति सामान एक ठाउँबाट अर्को ठाउँमा ओसार्ने जिम्मेवारी हुन्थ्यो । 

रातो ताराअंकित फेटामा लोभिदै माओवादी बन्न पुगेकी अनुपमा पनि सकिनसकी सामानहरू बोक्ने गर्थिन् । ‘मलगायत मेरो क्लासका साथीहरूको काम भनेको पार्टीको सामानलाई सप्लाई गर्ने नै हुन्थ्यो,’ अनुपमा भन्छिन्, ‘हामी स्कुले झोलामा बोकेर कहिले कहाँ–कहाँ उहाँहरूले भनेको सामान बोकेर गोप्य रूपमा पुर्‍याइदिने गथ्र्यौं ।’ माओवादी पार्टीमा लडाकुका रूपमा भन्दा उनी संगठनमा क्रियाशील रहिन् । जनमुक्ति सेना लडाइँमा जाँदाको बन्दोबस्तीको सामान लैजाने, खाना पकाउनेजस्ता कामहरू उनीहरूले गर्नुपथ्र्यो । ‘हामी गाउँमै भूमिगत भएर बस्ने पनि गथ्र्यौं । नाचगानमा मन भए पनि अहिले जस्तो गीत बजाएर कहाँ नाच्न पाइदैनथ्यो र ?,’ उनी थप्छिन्, ‘उही पार्टीको कार्यक्रममा नाच्ने त होनी ।’

झन्डै पाँच वर्षजति लुकीछिपीको भूमिगत जीवन बिताएपछि माओवादी शान्ति प्रक्रियामा आयो—वि.स.२०६३ मा । अनुपमालगायतका धेरै कार्यकर्ताहरूलाई माओवादीले सेनामा भर्ती गर्‍यो । उनी माओवादी जनमुक्ति सेनाको सिन्धुलीस्थित दोस्रो डिभिजनमा परिन् । क्यान्टोनमेन्टमा रहँदा बिहान बेलुका कवाज खेल्नुपर्ने र आफूलाई रुचि भएको कुराहरू सिक्न थालिन् । ‘म सानैदेखि मोटीघाटी भएको कारण कामरेडहरूले तिमी कराँते खेल, जीउ घट्छ भन्न थाले,’ उनी आफ्नो कराँतेसँगका सुरुवाती दिनहरू सम्झिन्छिन्, ‘अनि, म कराँते खेलमा आए ।’ 

कराँते गुरु कमल वाइवालगायतकाले उनलाई पहिलो पटक कराँतेको सामान्य स्टेपहरु सिकाए । ‘एक महिनामै मैले अरेन्ज बेल्ट पाएँ । त्यो बेला ध्रुवविक्रम मल्लले ७ वटै डिभिजनको गेम हेर्नुहुन्थ्यो,’ उनी जोशिली देखिइन्, ‘मेरो खेल देखेर गुरुहरूले मलाई केन्द्रमा लगेर खेलाउने निधो गर्नुभयो ।’ माओवादीले आफ्नो सेनाभित्र नेपाली सेना र प्रहरीकै झल्को दिने गरी खेलकुदका लागि ‘पीएलए क्लब’ गठन गरे । फूर्तिली अनुपमालाई पनि पीएलए क्लबका लागि छानिइन् । 

अल्ट्रा धाविका मीरा राईसँग उनको सामीप्यता यही बेला बढेको हो । उनीहरू दुवै पीएलए क्लबमा थिए । ‘हामी दुवै पीएलए क्लबमा रहँदा मीरा राई र मेरो भेट भएको थियो । पहिलो भेटमा हामी खासै बोलेनौं,’ अनुपमा मीरासँगको मित्रताबारे भन्छिन्, ‘उहाँ र मेरो अनुहार उस्तै देखिन्थ्यो । साथीहरू मलाई भनेर उहाँलाई बोलाउने र उहाँलाई भनेर मलाई बेलाउने गर्थे ।’ अनुहार उस्तै भएको उनीहरू दुवैको कथा पनि उस्तै छ, दुवै छापामार र दुवैले खेलकुदबाट कालान्तरमा नाम कमाए । उनीहरू पीएलए क्बलमा रहँदा क्यान्टोनमेन्टमा बसेका लडाकुहरूको पनि प्रमाणीकरण प्रक्रिया सुरु भइसकेको थियो । अनुपमा समायोजनका लागि अनमिनले गरेको प्रमाणीकरणमा योग्य ठहरिइन्, तर मीरा भने अयोग्य ।

तर, त्यही बेला अनुपमाको जीवन बदलिदिने एउटा घटना घट्यो । २०६५ सालमा उनकी आमाको निधन भयो । यो घटनाले उनको व्यक्तिगत जीवनमा पनि ठूला—ठूला परिवर्तनहरू एकै पटक भए । बाल्यकालदेखि नै सेना बन्ने सपना नजिक पुगेकी उनले त्यसलाई लत्याइन् । आमाको निधनको शोकबाट अगाडि बढ्दै केन्द्रीय प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरिन् । ‘अनि मैले निर्णय गर्नुपर्ने भयो सेनामा जानेकी स्वेच्छिक बहिर्गमन गर्ने ?,’ अनुपमा भन्छिन्, ‘घरको अवस्था अझ भनौं भाइबहिनीलाई हेर्दा सेनामा गए तलब आउने जसले भाइबहिनीको शिक्षादीक्षालाई भरपर्दो आधार हुने देखिँदैनथ्यो । मैले किन हो भाइबहिनीलाई साथै राखेर जसरी भए पनि पढाउँछु भनेर समायोजनमा जान चाहिन र स्वेच्छिक अवकाश लिएर बाहिरिए ।’ त्यही बाहिरिने निर्णयले अनुपमालाई छापामारबाट खेलाडी बन्ने मार्ग प्रशस्त गरिदियो । 

समायोजन पूर्व उनका दाइले काठमाडौं बसेर भाइबहिनी हेरेर सहयोग गरिदिन अनुपमालाई आग्रह गरेका थिए । ‘दाइले तिमी काठमाडौं बस्छौं भने एक भाइ र दुई बहिनीलाई पनि हेर म खर्च बेहोर्छु भनेर ढाडस दिनुभयो,’ उनले थपिन्, ‘मैले त्यो कुरालाई हुन्छ भनेर भाइबहिनीको जिम्मा लिए ।’ अनुपमाले समायोजन छाडेर भाइबहिनीको स्याहारको जिम्मेवारी लिइन् । 

त्यही क्रममा झन्डै डेढ वर्ष काठमाडौंमा बिताएपछि एक पटक भ्याली लेभलको कुनै गेमको घोषणा भयो । गुरुहरूले अनुपमालाई पनि त्यो प्रतियोगितामा भाग लिन प्रस्ताव राखे । उनले ‘हुन्छ’ भनेर डेढ वर्षपछि ट्रेनिङ गर्न थालिन् । अनुपमाले लगत्तै राष्ट्रिय प्रतियोगिताको तयारी थालिन् । अनुपमाले छैटौंमा राष्ट्रिय खेलकुदमा सेमिफाइनलमा हारिन्, भने सातौंमा उनको प्रतिभालाई चिनेको पुलिस क्लबले अनुबन्ध गर्‍यो । ‘मलाई उहाँहरूले जागिर नै खानलाई पनि प्रस्ताव गर्नुभएको थियो,’ उनी भन्छिन्, ‘मैले जागिर चाहिँ खाइन उहाँहरूको क्लबबाट मात्र खेल्ने निर्णय गरे ।’ सातौं राष्ट्रिय प्रतियोगितादेखि नेपाल पुलिस क्लबबाट खेल्न थाले ।  

राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेपछि उनका अगाडि साग प्रतियोगिताको ढोका खुल्यो । पूर्वजनवादी कलाकार तथा छापामार अनुपमाले हालै सम्पन्न १३ औं सागमा कराँतेमा मुलुकलाई स्वर्ण पदक दिलाइन् । अनुपमाको स्वर्ण यात्रा सहज भने पक्कै थिएन् । उदयपुरको लेखानीमा जन्मिएकी  उनको बाल्यकाल त्यही बितेको थियो । उनका दुई दाजु भाइ र पाँच बहिनी थिए । बाल्यकालमा अनुपमा जागिर खान चाहन्थिन्, त्यो पनि सेनामा । उनको गाउँमा जागिर भनेकै सेनामा भर्ती हुने भन्ने हुन्थ्यो । त्यसैले पनि उनी सेनाको जागिरतर्फ सानैमा आकर्षित भएकी थिइन् ।

खेलाडी बन्न न उनले कल्पना गरेकी थिइन्, उनको घरबाटै न कसैले उनले खेलेको हेर्न चाहेका थिए । उनका बुवा नारदबहादुर मगरलाई पनि खेलकुदप्रति उत्ति रुचि थिएन् । ‘उहाँ खेलकुदमा लाग्यो भने हातखुट्टा भाँचिन्छ भन्नुहुन्थ्यो,’ उनी भन्छिन् । १२ वर्षको उमेरमै माओवादी सशस्त्र द्वन्द्वमा लागेकी उनी उदयपुरको लेखानीको सामान्य परिवारमा जन्मिएकी हुन् । ५ कक्षा पढ्दापढ्दै उनी ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने माओवादी युद्धमा लागिन् । युद्धरत माओवादीमा ७ वर्ष बिताएर पुन: खुला जीवनमा आइन् । खुला जीवनमा खेलकुदमा लागेकी उनले अन्तत: स्वर्ण जितिन् । 

भन्छिन्, ‘भाग्यमा लेखेको पाइन्छ भनेर धेरैले भन्छन् । तर, मेरो भाग्यमा के लेखेको छ, त्यो मैले पाउन सकेको छैन । कर्मको कारण म विभिन्न कारणले उछिट्टिदै यो अवस्थासम्म आइपुगेको छु ।’ अनुपमालाई आफूले कुन धरातलबाट आए र कसरी संघर्षपूर्ण दिनहरूमा खेल जीवनलाई अगाडि बढाए भन्ने राम्रोसँग थाहा छ । ‘कहिलेकाहीँ ट्रेनिङ गरेर लखतरान भइन्थ्यो,’ उनी भन्छिन्, ‘१० रुपैयाँ खल्तीमा नहुँदा दशरथ रंगशालाबाट हिँड्दै हामी बालाजु पुग्थ्यौं । घर पुग्दा राति भइसकेको हुन्थ्यो ।’ पैसाकै अभावका अनुपमाले त्यो समयमा न आफूलाई मन लागेको खान पाइन्, न लगाउन नै । तर, निरन्तर उनी आफ्नो कर्ममा खटिरहिन् । 

१३ औं सागमा अन्तर्राष्ट्रिय स्वर्ण जितेपछि उनलाई लाग्न थालेको छ, संघर्षले पेअफ गर्दोरहेछ । ‘प्रतियोगितामा सफलता पाउन थालेपछि बुबाले पनि खेलकुद भनेको के रहेछ भन्ने कुरा बुझ्न थाल्नुभएको छ,’ उनी सफलताले ल्याएका सकारात्मक परिवर्तनबारे भन्छिन्, ‘अहिले खुसी नै हुनुहुन्छ, अझ १३ औं सागमा पदक जितेपछि उहाँ झनै खुसी हुनुभएको छ ।’ सागमा स्वर्ण जितेपछि अब अनुपमाको अघिल्लो लक्ष्य ओलम्पिक हो । ‘अब म ओलम्पिक केन्द्रित भएर तयारी गर्छु,’ उनले थपिन् । 

अनुपमालाई खेल जीवन शरीरमा शक्ति रहुन्जेल हो भन्ने पनि थाहा छ । त्यसैले उनी खेल सँगसँगै सानोतिनो रेस्टुराँ चलाउने योजनामा पनि छन् । उनी सागमा पाएको पुरस्कार राशि भाइबहिनीको शिक्षाका लागि नै खर्च गर्ने सोचाइमा छिन् । ‘उनीहरूको भविष्य सुन्दर भएको हेर्न म चाहन्छु,’ उनी भावुक देखिइन्, ‘अहिले मैले उनीहरूलाई गरेको लगानी भविष्यमा उनीहरूले पक्कै पनि माया र सम्मान गरेर तिर्नेछन् भन्ने विश्वास छ ।’ उनकी कान्छी बहिनी पनि उनकै पथमा छिन् । मुलुकमा चर्केको सशस्त्र द्वन्द्वसँग उनको पढाइ भने बिथोलिएको छ । ‘पार्टीमा लागेका कारण पढाइलाई पनि अगाडि बढाउन सकिन्,’ उनले कुराको बिट मार्दै भनिन्, ‘अहिले कराँते सिकाएर जीविकोपार्जन गरिरहेकी छु ।’

प्रकाशित :पुस ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×