‘मिस वल्र्डको अदृष्य ताज जित्न सकें’

- नवीन पोखरेल

पुस ७, २०७६

यो वर्षकी मिस नेपाल अनुष्का श्रेष्ठले गत शनिबार लन्डनमा सम्पन्न मिस वल्र्ड–२०१९ मा दुई शीर्षक उपाधि जित्न सफल भएकी छिन् । प्रतियोगिताको उत्कृष्ट १२ सम्म पुग्न सफल अनुष्काले ब्युटी विद अ पर्पोज तथा मल्टिमिडिया एवार्ड जितेकी हुन् । दुईवटा शीर्षक उपाधि जितेपछि अनुष्काले खुसी व्यक्त गर्दै विश्वमञ्चमा नेपाली झन्डा फहराउन सफल भएको बताएकी छिन् । ६९ औं संस्करणको मिस वल्र्ड–२०१९ को उपाधि भने जमैकाकी २३ वर्षीया टोनी एन सिंहले जित्न सफल भइन् । यही मेसोमा उनले प्रतियोगितापछि  पहिलो पटक बेलायतको ब्रिस्टोलमा नवीन पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

मिस वल्र्डमा दुई एवार्ड जित्दा कस्तो लागिरहेको छ ?

दुई एवार्ड र हेड टु हेड च्यालेन्ज जित्न सफल भएकोमा एकदम खुसी छु र कृतज्ञ पनि । निकै गर्व पनि महसुस भइरहेको छ कि हाम्रो प्रस्तुति यसपालि पनि राम्रो रह्यो भनेर विश्वले याद गरेको छ । 

कत्तिको आत्मविश्वास थियो ?

प्रतिस्पर्धामा जानुअघि मलाई विश्वास के थियो भने आफ्नो मेहनत, टिमको मेहनत र इमान्दारीपूर्वक काम गरेकाले हाम्रो प्रस्तुतिमा कुनै कमी रहनेछैन । र, कमी रहेन जस्तो पनि लाग्छ । विश्वास थियो कि हाम्रो प्रस्तुत निकै राम्रो हुनेछ । नतिजा त निर्णायकको हातमा हुन्छ । तर, आफ्नो तर्फबाट यो ठाउँमा चुक्यौं भन्नेचाहिं हुन दिंदैनौं भन्ने थियो । 

यो एवार्डपछि मिस वल्र्ड आयोजकबाट तपाईंलाई कस्तो सहयोग हुन्छ ?

मिस वल्र्ड भनेको यस्तो ब्रान्ड हो कि उसले रिकग्नाइज गरेर मान–सम्मान दिइसकेपछि विश्वको आँखा नेपाल पुगेको छ । यसले हाम्रो सोल्सिङ प्रोजेक्टलाई अझ ठूलो रूपमा विस्तार गर्न सहयोग पुर्‍याउँछ भन्ने अपेक्षा छ । हाम्रो हेलम्बुको कम्युनिटी प्रोजेक्ट सबलीकरण परियोजना हो । हामीले परियोजनामार्फत आय आर्जनका स्रोतको बाटो खोलेका छौं । गलौंचा मैनबत्तीजस्ता उत्पादन गरेका छौं । अब बजार विस्तार हुनेमा आशावादी छु । 

अब नेपालले मिस वल्र्ड जित्ने दिन कहिले आउला ?

हरेक वर्ष नेपालले उत्कृष्ट पर्फमेन्स दिंदादिंदै किन टप ५ मा पुगेन भनेर प्रश्न आउँछ ? मेरो आफ्नो पनि यही प्रश्न छ । पहिला हामी जजहरूबाट स्कोर सिट पाउँथ्यौं तर अहिले स्कोरसिट दिइन्न वा पारदर्शी देखिन्न । केको आधार र क्राइटेरियाले टप ५ छानिदिनुभयो भन्ने थाहा हुँदो हो त आफ्नो तयारी अझ राम्रोसँग गर्न सक्थ्यौं । साँच्ची भन्ने हो भने आफ्नो देशका रूपमा, व्यक्ति र टिमका रूपमा राम्रो प्रस्तुति दियौं जस्तो लाग्छ । यदि हामीलाई यो विधामा राम्रो गर्नु भनेर टिप्पणी वा फिडब्याक आउने हो भने झन् बढी गर्न सक्थ्यौं । ताज जित्ने दिन आउँछ तर आफ्नोतर्फबाट गर्व हुने गरी प्रस्तुति दिनचाहिं छाड्नु हुन्न । तर मानिसहरूले यसरी पनि भाग लिन जानु राम्रो हो त भन्नुहुन्छ । म भन्छु, हरेक वर्ष जानु नै पर्छ । किनभने ताज त एउटा पाटो हो, तर अदृश्य ताज लिएर हामी बर्सेनि फर्कन्छौं । मिस वल्र्ड महोत्सव सुरु भएपछि हामीले जातीय कुरा, रूपको कुरा गरेनौं । बरु नेपाल र विश्वभरका सबैले यसलाई सकारात्मक रूपले हेर्‍यौं । त्यसकारण एकता र सकारात्मक सोचवृद्धिका लागि मिस वल्र्ड एउटा बहाना हुन सक्छ र सधैं जानुपर्छ भन्ने लाग्छ । 

इभेन्टको अनुभव कस्तो रह्यो ?

निकै रमाइलो, राम्रो र धेरै कुरा सिक्ने मौका पाएँ । २१ दिनसम्म १ सय २५ देशका प्रतिनिधिसँग बिहान ६ बजेदेखि १२ घण्टासम्म सँगै काम गथ्र्याैं । रिहर्सल गथ्र्यौं, खान्थ्यौं, हांस्थ्यौं । एक–अर्काको देश, रहनसहन, संस्कृतिका बारेमा कुरा गथ्र्यौं । यसले व्यक्तिगत नाता मात्र गाँसिएन, देशका रूपमा पनि नाता गांस्न पुग्यौं । सहभागी प्रतिस्पर्धी र आयोजकहरूले फर्कंदा आएको भन्दा धेरै कुरा सिकेर अझ प्रोत्साहित व्यक्ति बनेर फर्कियौं जस्तो लाग्छ । सामाजिक सञ्जालमा हामीले मानसिक स्वास्थ्यबारे १० मिनेटको भिडियो राखेका थियौं, धेरै युवायुवती प्रभावित भए । हामी प्रतिस्पर्धीहरूले मेन्टल हेल्थका बारेमा खुलेर बोल्यौं । मैले आफ्नो कथा सुनाएँ, अरू प्रतिस्पर्धीको पनि कथा सुनें । मलाई घत लागेको कुरा के भने घरेलु र महिला हिंसा हाम्रो समाजमा मात्र हुन्छ कि जस्तो लाग्थ्यो, तर विकसित देशमा पनि हुने रहेछ । के कारणले ती देशमा हुने रहेछ र हाम्रोमा के कारणले भइरहेछ भन्नेबारे धेरै कुरा आदान–प्रदान भयो । सबैभन्दा मनमा लागेको कुरा, यौन हिंसाको । सहभागी कति त आफैं पनि यौंन हिंसाका पीडित रहेछन् । नेपालसँग मिल्दोजुल्दो मुद्दामा सहकार्य गर्नेबारे पनि कुराकानी भयो ।

तपाईंले प्रशिक्षण अवधिभर आफ्ना प्रतिस्पर्धी साथीहरूमाझ नेपाललाई कुन हिसाबले चिनाउनुभयो ?

नेपाल सुन्दर र विविधताको देश भनेर धेरैले चिन्नुभयो । हामीले परिचय भिडियोमा पनि हिमाल, पहाड, तराई दर्साएका थियौं । साथीहरू नेपाल कता छ भनेर सोध्थे । मैले नेपालको व्याख्या गरिदिंदा सबै जना प्रभावित भए । हाम्रो पृथक् झन्डा छ, कुमारी छन् र भौगोलिक रूपमा सानो भए पनि मौसम, खानेकुरा, संस्कृति र वेशभूषामा विविधता छ भन्ने सुनेर उनीहरू अचम्म मान्थे । एकपटक नेपाल जानैपर्छ भन्ने फिल उनीहरूमा भएको छ । मैले नेपाल भ्रमण वर्षको प्रवद्र्धन मात्र गरिनँ, नेपाल ठाउँ होइन, अनुभव हो । हिमाल हेर्न होइन, महसुस गर्न जाने देश हो नेपाल भनेर व्याख्या पनि गरें । 

ग्रान्ड फिनालेमा हलभित्र तपाईंका शुभचिन्तक नेपालीहरूको भीड देख्दा कस्तो लाग्यो ?

एकदम गद्गद् भएँ । हरेक रोमा बसेका नेपालीसँग युनिक झन्डा देखेर आत्मविश्वास बढ्यो । अधिकांशले नेपालको झण्डा हल्लाएर हौसला दिँदा हुटिङ गरेको देखेर थप शक्ति, ऊर्जा आइरहेको महसुस भयो ।

‘स्टेजमा उत्रँदा ‘नर्भसनेस’ महसुस भएन ?

देशको आशा बोकेर हिंडेको छु भन्ने सोच्दा डर लाग्दो रहेछ । परिचय राउन्डमा २० सेकेन्डभित्र आफ्नो देशको पहिचान दर्साउनुपर्ने थियो । मैले थारु संगीत र नाच प्रस्तुत गरें । इभेन्ट प्रशिक्षणभर पनि मैले हरेक सेग्मेन्टमा नेपालको विभिन्न भाग र वेशभूषा देखाउने प्रयत्न गरें । पहिरनमा पहिचान भन्ने मूलमन्त्रसहित फिनाले गाउन मैले हातले बुनेको नेपाली ढाकाको लगाएको थिएँ । महिला सबलीकरण कार्यक्रमबाट उत्पादित थियो उक्त ढाका ।

 

प्रकाशित :पुस ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×