साप्ताहिक संवाददाता
अभिनय करियरमा पहिलो चलचित्र नै टर्निङ प्वाइन्ट भएपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । कार्तिकका लागि यो जीवनकै एउटा ठूलो उपलब्धि थियो ।
बलिउड अभिनेता कार्तिक आर्यनलाई बलिउडका मस्ट चार्मिङ अभिनेताका रूपमा चिनिन्छ । कार्तिक निकै छोटो समयमा चलचित्र उद्योगमा सफलताको स्वाद चाखेका अभिनेता हुन् । कार्तिकको जन्म सन् १९९० नोभेम्बर २२ मा भारतको मध्यप्रदेशस्थित ग्वालियरमा भएको हो । कार्तिकको पूरा नाम कार्तिक तिवारी हो । कार्तिकका पिता मनिष तिवारी र आमा माला तिवारी दुवै पेसाले चिकित्सक हुन् ।
उनले प्रारम्भिक शिक्षा ग्वालियरकै सेन्ट पल स्कुल र किड्डी स्कुलबाट लिएका हुन् । उनले मुम्बईको डी वाई पाटिल कलेजबाट इन्जिनियरिङको डिग्री लिएका छन् । मुम्बईमा जानासाथ चलचित्र वा विज्ञापनमा काम पाइन्छ भन्नु गलत सोचाइ हो । कार्तिकले पनि चलचित्रमा अभिनय गर्न पाइन्छ कि भनेर कलेजको केही कक्षा नै छोडेर चलचित्र स्टुडियोको निकै चक्कर लगाए, तर उनलाई सबै निर्देशकले अस्वीकार गरे ।
निर्देशकले आफूलाई अस्वीकार गरे पनि उनले त्यो अस्वीकारलाई मोटिभेसनका रूपमा लिए, किनभने उनी आफैं प्राविधिक इन्जिनियरका विद्यार्थी थिए । उनी हरेक विषयलाई बौद्धिक किसिमले हेर्थे । उनले आफूमा केही कुराको कमी भएरै निर्देशकले अस्वीकार गरेको महसुस गर्न थाले । स्टुडियोमा काम नपाएपछि उनले एक्टिङ स्कुलमा अभिनय सिक्ने निर्णय लिए ।
उनी क्रिएटिङ क्यारेक्टर एक्टिङ स्कुलमा भर्ना भए र त्यहाँ अध्ययन गरिरहँदा उनले कैयौं विज्ञापन र चलचित्रका लागि अडिसन पनि दिए ।
उनले सन् २०११ मा चलचित्र ‘प्यार का पञ्चनामा’बाट अभिनय यात्रा सुरु गरे । पहिलो चलचित्रले नै बक्स अफिसमा सफलता पाएपछि उनमा खुसीको सीमा नै रहेन । अभिनय करियरमा पहिलो चलचित्र नै टर्निङ प्वाइन्ट भएपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । कार्तिकका लागि यो जीवनकै एउटा ठूलो उपलब्धि थियो । किनभने उनी अभिनयलाई करियर बनाउँदैछन् भन्ने कुरा परिवारमा उनका बाबुआमाले समेत थाहा पाएका थिएनन् । उनी ‘प्यारका पञ्चनामा’मा फाइनल भएपछि मात्र आमाबाबुलाई यो कुरा सुनाएका थिए ।
सन् २०१३ मा कार्तिक अभिनीत चलचित्र ‘आकाशवाणी’ रिलिज भएको थियो, तर यो चलचित्र बक्स अफिसमा पूर्ण रूपमा असफल रह्यो । त्यसको एक वर्षपछि उनको अर्को चलचित्र ‘कांची : द अनब्रेकेबल’ रिलिज भए पनि यो चलचित्रले बक्स अफिसमा सफलता पाउन सकेन । सन् २०१५ मा ‘प्यारका पञ्चनामा–२’ रिलिज भयो । यो चलचित्रले कार्तिकको फ्लप भइरहेको करियरलाई सफलतामा चम्काइदियो ।
सन् २०१७ मा उनको चलचित्र ‘गेस्ट इन लन्डन’ रिलिज भयो । यो चलचित्रले बक्स अफिसमा ठीकैको व्यापार गर्यो । सन् २०१८ मा कार्तिककै ‘सोनुके टिटुकी स्विटी’ नामक चलचित्र प्रदर्शनमा आयो । यो चलचित्रले कार्तिकलाई केही हदसम्म राहत दियो । सन् २०१९ मा रिलिज चलचित्र ‘लुका छुपी’ बक्स अफिसमा सुपरहिट साबित भयो । सन् २०२० मा आउन लागेको कार्तिकको चलचित्रको कुरा गर्दा ‘लभ आजकल–२’, ‘भूलभुलैया–२’, ‘पतिपत्नी और वो’, ‘खाली पिली’ जस्ता चलचित्र छन् ।
कार्तिकका मातापिता चिकित्सक भए पनि आममानिसले सोचेजस्तो उनीहरूको जीवन सुविधासम्पन्न थिएन । किनकि सबै चिकित्सक हाइफाइ गर्ने किसिमका हुँदैनन् । यस्तो अवस्थामा मुम्बईजस्तो ठूलो सहरमा आफ्नो छोरालाई इन्जिनियरिङ पढाउनु पनि ठूलो कुरा थियो ।
बलिउडका सफल अभिनेता या अभिनेत्रीको नाम नियाल्दा उनीहरूको नामको पछाडि अफेयरको एउटा सूची नै तयार हुन्छ । पहिले मानिसहरू यो कुरामा आश्चर्य व्यक्त गर्थे, तर आजकल यो सामान्य नै बनेको छ ।
कार्तिकका साथ अभिनेत्री नुसरतले ‘प्यार का पञ्चनामा’ र ‘सोनुके साथ टिटुकी स्विटी’ जस्ता सुपरहिट चलचित्रमा काम गरिसकेका छन् । यो जोडीको अभिनय तादात्म्यतालाई दर्शकले खुबै रुचाएका थिए । उनीहरूको प्रेमका बारेमा बजारमा अफवाह नै फैलियो, तर कार्तिकले नुसरतसँगको सम्बन्धका बारे ‘नुसरत मिल्ने साथी मात्र रहेको’ भन्दै प्रेम सम्बन्धबारे अस्वीकार गरे ।
अहिले कार्तिकको नाम अभिनेत्री सारा अली खानसँग पनि जोडिएको छ । धेरै ठाउँमा यो जोडी सँगै देखिएपछि उनीहरू कतै अफेयरमा त छैनन् भन्ने चर्चा चलेको हो । कार्तिक एक चलचित्रको छायांकनका लागि लखनउमा रहँदा उनलाई भेट्न सारा लखनउ नै पुगेकी थिइन् । त्यस्तै सारा बैंककमा सुटिङमा व्यस्त रहँदा कार्तिक उनलाई भेटन बैंकक नै पुगेका थिए, जहाँ उनले साराको जन्मदिन सेलिब्रेट गरेका थिए । उनको नाम चंकी पाण्डे पुत्री अनन्या पाण्डेसँग पनि जोडिने गरेको छ । कार्तिक अनन्यासँग ‘पति–पत्नी और वो’मा सँगै देखिएका थिए ।
स्रोत : एजेन्सी