साप्ताहिक संवाददाता
अभिनेता सलिनमान बानियाँ पहिलो चलचित्र ‘ए मेरो हजुर २’बाट चर्चामा आए । चकलेटी अनुहारका कारण उनको भविष्य निकै राम्रो रहेको अनुमान गरियो । कतिपयले त उनलाई यो चलचित्रपछि अब एक छछत्र राज गर्न सक्छन् भनेर हावा तालमा व्याख्या समेत गरे ।
चलचित्र चल्यो, उनी पनि यो उद्योगमा चल्ने अनुमान गरियो । कसैमाँझ नचिनिएका सलिनलाई धेरैले चिने । सलिनलाई समेत यो क्षेत्रमा आफ्नो आफ्नो भविष्य निकै उज्ववल रहेको अनुमान गरे ।
त्यसलगत्तै उनी अर्को चलचित्र ‘यात्रा’मा अनुबन्धित भए । महंगो रकम खर्चिएर निर्माण गरिएको चलचित्र ‘यात्रा’ चलेन । यसको असफलताको हिसाब किताब उनले गर्नु त परेन तर यो चलचित्र नचल्दा उनलाई चलचित्र यात्रामा भने धक्का पुगेको छ ।
हाल अस्प्रिनासँगको प्रेममा व्यस्त सलिन नयाँ चलचित्र भने पाएका छैनन । ठुला ब्यानरदेखि साना ब्यानरसम्मले चलचित्र निर्माण गरिरहेका छन्, तर सलिन कुनै चलचित्रमा अनुबन्धित भएको खबर मिडियाले पाउन सकेको छैन ।
बजारमा चर्चा के छ भने, सलिन आजभोली चलचित्र करिअरमा भन्दा धेरै प्रेममा गम्भिर छन् । सलिनले केहि समय अघि बताएअनुसार उनी अस्प्रिनासँग बिहे गर्ने योजनामा छन् । सलिन आफ्नो प्रेम सफल हुनेमा ढुक्क समेत छन् ।
ठिकै पनि हो, प्रेम सफल हुन एउटालाई चित्त बुझाए हुन्छ, चलचित्र सफल हुन लाखौं दर्शकलाई चित्त बुझाउनुपर्छ । चलचित्र उद्योगमा स्थापित हुन खुबै मिहेनत चाहिन्छ । तर, सलिन अनुहार देखाएकै भरमा चलचित्र उद्योगमा स्थापित हुने सोच राखेका छन् भने त्यो उनैका लागी घातक हुने पक्का छ ।