साप्ताहिक संवाददाता
वर्ष २०१९ हामीबाट बिदा हुने क्रममा छ । योसँगै मनोरञ्जन क्षेत्रले वर्ष २०१९ मा हासिल गरेका उपलब्धिहरूको लेखाजोखासमेत प्रारम्भ हुन थालिसकेको छ । यसबीच गुगल इन्डियाले वर्ष २०१९ मा सबैभन्दा बढी खोजिएका बलिउड तथा हलिउडका फिल्महरूको सूची सार्वजनिक गरेको छ । यो सूचीमा बलिउडका सात तथा हलिउडका तीन चलचित्र समावेश छन् । यी हुन् उक्त सूचीमा परेका उत्कृष्ट दस चलचित्र :
कबिर सिंह
शाहिद कपुर तथा कियारा आडवाणीको चलचित्र ‘कबिर सिंह’ उक्त सूचीको पहिलो स्थानमा रहन सफल भएको छ । यो तेलुगु भाषाको चलचित्र ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । दुवै चलचित्रलाई सन्दीप रेड्डी बांगाले निर्देशन गरेका हुन् । यो चलचित्र भारतको बक्स अफिसमा वर्ष २०१९ कै दोस्रो सर्वाधिक आम्दानी गर्ने चलचित्र पनि हो । गत जून २१ का दिन प्रदर्शन भएको उक्त चलचित्रले करिब २ सय ७८ करोड भारतीय रुपैयाँको व्यवसाय गर्न सफल भएको थियो ।
एभेन्जर्स–इन्डगेम
अप्रिल २२ का दिन प्रदर्शन भएको यो चलचित्रले नेपालमा समेत दर्शकको ध्यान आकर्षित गर्न सफल भएको थियो । मार्वल स्टुडियोजको यो सुपरहीरो चलचित्रलाई एन्थोनी रस्सो तथा उनका भाइ जो रस्सोले संयुक्त रूपमा निर्देशन गरेका थिए । रोबर्ट डाउनी जुनियर, क्रिस इभान्स, मार्क रुफालो, क्रिस हेम्सवर्थ आदि कलाकारद्वारा अभिनीत यो चलचित्र ३ सय ५६ मिलियन डलरको लागतमा निर्माण गरिएको थियो, जसले २ दशमलव ७९ बिलियन डलर आम्दानी गर्न सफल भएको थियो ।
गली ब्वाइ
जोया अख्तरको निर्देशनमा यो चलचित्र निर्माण गरिएको हो । यसको कथा एउटा सानो गल्लीबाट निस्किएर र्यापर बन्ने सपना साकार गर्न सफल र्याप कलाकारहरू नैजी तथा डिभाइनको जिन्दगीबाट प्रेरित छ । चलचित्रमा रणवीर सिंह तथा आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेका छन् । यो चलचित्रले बक्स अफिसमा १ सय ४० करोड भारु आम्दानी गर्न सफल भएको थियो । यो चलचित्रलाई ९२ औं ओस्कार एवार्डमा सर्वोत्कृष्ट इन्टरनेसनल फिचर फिल्मको श्रेणीमा भारतबाट प्रतिनिधित्व गराइएको छ । यो चलचित्र १४ फेब्रुअरीका दिन प्रदर्शन भएको हो ।
जोकर
टोड फिलिप्सको निर्देशनमा बनेको यो हलिउड चलचित्र अगस्ट ३१ का दिन प्रदर्शन भएको हो । यो एउटा साइकोलोजिकल चलचित्र हो । चलचित्रको कथा डीसी कमिक्सको चरित्रमा आधारित छ । जोकिन फिनिक्सले यो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । ७० मिलियन डलर लगानी गरिएको यो चलचित्रले विश्वभरिबाट १ दशमलव ०६ मिलियन डलर आम्दानी गर्न सफल भएको छ ।
क्याप्टेन मार्बल
मार्बल स्टुडियोजको यो हलिउड सुपरहिरो चलचित्र फेब्रुअरी २७ का दिन प्रदर्शन भएको हो । एना बोडेन तथा रियाल फ्लेकद्वारा संयुक्त रूपमा निर्देशन गरिएको यो चलचित्रमा ब्री लार्सन, स्यामुअल एल ज्याक्सन, बेन मेन्डेल्सन आदि कलाकारले अभिनय गरेका छन् । १ सय ७५ मिलियन डलर लगानी गरिएको यो चलचित्रले १ दशमलव १२ बिलियन डलर आम्दानी गरेको थियो ।
सुपर–३०
ऋतिक रोशनको मुख्य भूमिका रहेको यो एउटा बायोपिक चलचित्र हो । १२ जुलाईमा प्रदर्शन भएको यो चलचित्र भारतको बिहारका गणितज्ञ आनन्द कुमारको जीवनीमा आधारित छ । चलचित्रमा ऋतिकले ती शिक्षकको भूमिकालाई प्रभावशाली शैलीमा अभिनय गरेका छन् । विकास बहलको निर्देशनमा बनेको उक्त चलचित्रले १ सय ४७ करोड भारु आम्दानी गर्न सफल भएको थियो ।
मिशन मंगल
१५ अगस्टमा प्रदर्शन भएको यो चलचित्र भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका वैज्ञानिकहरूको जीवनीमा आधारित छ । ती वैज्ञानिकहरूले भारतको पहिलो इन्टरप्लानेटरी एक्सपिडिसन मार्स अर्बिटर मिशनलाई सफल बनाउन महत्त्वपूर्ण योगदान दिएका थिए । जगन शक्तिको निर्देशनमा बनेको यो चलचित्रमा अक्षय कुमार, सोनाक्षी सिन्हा, विद्या बालन, तापसी पन्नु, नित्या मेनन आदि कलाकारहरूले अभिनय गरेका छन् । यो चलचित्रले बक्स अफिसमा २ सय २ दशमलव ९८ करोड भारु आम्दानी गर्न सफल भएको थियो । यो चलचित्रलाई भारतको प्रतिनिधित्व गराउँदै ओस्कारमा पनि पठाइएको थियो ।
वार
सिद्धार्थ आनन्दद्वारा निर्देशित यो एक्सन–थ्रिलर चलचित्र अक्टुबर २ का दिन प्रदर्शन भएको हो । यो चलचित्रमा ऋतिक रोशन तथा टाइगर श्राफले पहिलो पटक सँगै काम गरेका थिए । बक्स अफिसमा यो चलचित्र ३ सय १७ दशमलव ९१ करोड भारु आम्दानी गरेर भारतमा वर्षकै सबैभन्दा बढी आम्दानी गर्ने चलचित्रका रूपमा स्थापित भएको छ ।
हाउसफुल–४
अक्षय कुमार, बबी देओल, रितेश देशमुख, कृति सेनन, कृति खरबन्दा, पूजा हेगडे आदि कलाकारले अभिनय गरेको यो हास्यप्रधान चलचित्र २५ अक्टुबरका दिन प्रदर्शन भएको हो । यो चलचित्रले बक्स अफिसमा करिब १ सय ९४ दशमलव ५९ करोड भारु आम्दानी गरेको छ । यो चलचित्रको निर्देशन फरहाद सामजीले गरेका हुन् ।
उरी : द सर्जिकल स्ट्राइक
११ जनवरीमा प्रदर्शन भएको यो हिन्दी चलचित्र सत्य घटनामा आधारित छ । चलचित्रमा सेप्टेम्बर २०१६ मा भारतका जम्मु–कस्मिरको उरीस्थित सेनाको क्याम्पमा भएको आतंकवादी हमला (जसमा १९ सैनिक मारिएका थिए) तथा भारतीय सेनाद्वारा एलओसी पार गर्दै पाकिस्तानको ३ किलोमिटरभित्रसम्म गएर आतंककारीहरूको आश्रयस्थलमा गरेको कारबाहीमा आधारित छ । आदित्य धरले यो चलचित्रलाई निर्देशन गरेका हुन् । यो उनको पहिलो चलचित्र पनि हो । चलचित्रमा विक्की कौशलले मुख्य भमिका निर्वाह गरेका छन् । यो चलचित्रले बक्स अफिसमा २ सय ४५ दशमलव ३६ करोड भारु आम्दानी गर्न सफल भएको छ ।
स्रोत : एजेन्सी