साप्ताहिक संवाददाता
गरिब परिवारमा हुर्किएका राजेश मगरले डाउनहिल साइक्लिङ रेसमा मुलुकलाई स्वर्ण दिलाए । अरूबाट पाएको साइकल आमाले ९० रुपैयाँमा कवाडीमा बेचिदिएपछि धुरु—धुरु रोएका मगरको स्वर्णयात्रा उत्तिकै संघर्षमय छ ।
गरिब भएपछि सबैले हेप्दा रहेछन्,’ १३ औं दक्षिण एसियाली खेलकुद (साग) को डाउनहिल साइक्लिङ रेसका स्वर्ण विजेता राजेश मगरको कटु भोगाइले यस्तै भन्न बाध्य पार्छ । गरिब परिवारमा जन्मिएर साइक्लिङलाई करियर बनाएका मगरको स्वर्णसम्मको यात्रा केवल साइकलप्रेमले मात्रै सम्भव भएको हो । यस क्रममा उनले थुप्रै हन्डर खेपेका छन् ।
स्थायी घर सोलुखुम्बु भए पनि उनको जन्म भने भैंसेपाटी, सैंबु, ललितपुरमा भएको हो । उनका आमाबाबुले सोलुखुम्बु छाडेको ३० वर्ष भयो । सुरुमा राजेशका बाबुआमा गलैंचा कारखानामा काम गर्थे । त्यसबाट गुजारा नचलेपछि बाबु (रामबहादुर) ज्यामी काम गर्न थाले भने आमा (दीपा) अर्कैको घरमा काम गर्न थालिन् । बुवा मदिरासेवन गर्ने भएकाले जति कमाउँथे, त्योभन्दा बढी उडाउँथे । आमाले कमाएकाले मात्र घर चल्न गाह्रो हुन्थ्यो । त्यसपछि आमा पनि अरूको घरमा काम गर्दै दिउँसो ज्यामी काममा जान थालिन् । राजेशकी एक दिदी छिन् । आमाबाबु ज्यामी काममा जाने भएपछि राजेश पनि आमाबाबु जता काममा जान्थे, उतै जान्थे । त्यतै धुलीमाटी खेल्थे । यसरी नै उनको बाल्यावस्था बित्यो । सायद सानैदेखि दु:ख पाएर होला, राजेशको मानसपटलमा त्यतिबेलाका परिदृश्य अझै ताजा बनेर बसेका छन् । ‘मलाई सानैदेखिको दु:ख याद छ । त्यही दु:खले नै अहिले यहाँ छु जस्तो लाग्छ,’ उनी भन्छन्, ‘बुबाममी ज्यामी काममा जाँदा जुन घर बनाउन लागेको हो त्यो घरको निर्माण सामग्री कुर्नका लागि इँटाले वरिपरि बेरेर माथि टिनले ढाकेर बस्दा कहिले पानीको भेलले ओछ्यान भिज्याउँथ्यो त कहिले छानाबाट पानी चुहिन्थ्यो ।’ केही दिनअघि साप्ताहिकसँग खुलेर प्रस्तुत हुने क्रममा दु:ख र संघर्ष सम्झँदै धेरै पटक भक्कानिए । उनका आँखा पटक–पटक रसाए ।
राजेश स्कुल जान सक्ने भएपछि उनलाई जनोदय स्कुलमा भर्ना गरियो । त्यहाँ उनले नर्सरीदेखि कक्षा १ सम्म अध्ययन गरेपछि बुङ्मतीस्थित आदर्श सहुल युवक माविमा कक्षा २ मा भर्ना भए । उनको स्कुले जीवन सामान्य रह्यो । त्यहाँबाट उनले कक्षा १२ सम्मको अध्ययन गरे । त्यहाँभन्दा माथि उनको अध्ययन अघि बढ्न सकेको छैन ।
गरिब परिवारमा जन्मिए पनि राजेशको साइकलसँगको नाता सानैदेखिको हो । एसएलसीपछि लाहुरे बन्ने लक्ष्य राखे पनि यही साइकलप्रतिको मोहले डोर्याउँदै साइक्लिङ रेसमा देशको नाम लेखाउन सक्ने भए । २३ वर्षीय राजेशले केही हप्ताअघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदको डाउनहिल साइक्लिङ रेसअन्तर्गत १ मिनेट ४९ सेकेन्ड ३३ मिलिसेकेन्डमा १ किलोमिटर दूरी पार गर्दै नेपालका लागि स्वर्ण पदक दिलाए । यसभन्दा अघि पनि उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न साइक्लिङ रेसमा जित हासिल गरेका छन् । उनले चारवटा नेसनल डाउनहिल च्याम्पियनसिप पनि जितिसकेका थिए । सन् २०१४, २०१६, २०१७ र २०१८ का उनी नेसनल डाउनहिल च्याम्पियन हुन् ।
साइक्लिङमा यो सफलता प्राप्त गर्न उनको साइकलप्रतिको लगाव नै मुख्य कारण हो । सानैदेखि चकचके स्वभावका राजेश साथीहरूले साइकल चलाएको देखेर आमालाई साइकल किनिदिन आग्रह गर्थे । यद्यपि उनका आमाबाबुसँग भने त्यतिबेला साइकल किन्दिने हैसियत थिएन । ‘सिसाकलम, कापी त मैले साथीहरूसँग मागेरै चलाउनुपथ्र्याे,’ राजेश भन्छन्, ‘साइकल नै किनिदिने त परको कुरा हो ।’ यही क्रममा राजेश आमाले काम गर्ने घरमा सँगै गए । त्यहाँकी घरबेटीकी छोरीको बीएमएक्स साइकल थियो । त्यही दिन साइकलमा चढाएर घरबेटीकी छोरीले उनलाई पसलसम्म लगिन् । बीच बाटोमा पुगेपछि राजेशसँग सोधिन्, तिमीलाई साइकल चलाउन आउँछ ? राजेशले आफूलाई साइकल चलाउन नआउने भए पनि आउँछ भन्दिए । साइकल चलाउने कोसिस गरे तर लडिहाले । ‘कहिल्यै साइकलको पाइडलमा खुट्टा राखेको भए पो सक्नु त,’ राजेश भन्छन् ।
समयक्रमसँगै ती घरबेटीकी छोरी ठूली भइन्, त्यो साइकल उनका लागि सानो भयो । त्यसपछि घरबेटीले त्यो साइकल राजेशलाई दिए । अब राजेशलाई के चाहियो र † उनको खुसीको सीमा रहेन । त्यसपछि उनले त्यही साइकल सिके । आवास क्षेत्र, मनशान्ति ओरालो उनको साइकल कुदाउने गन्तव्य बन्न थाले । उनको दिनचर्या नै साइकलमा बित्न थाल्यो । मनशान्ति ओरालोमा साइकल सिक्ने क्रममा लडेर ढाड बजारिएको राजेश सम्झन्छन् । उनी भन्छन्, ‘त्यो बेला ठोक्किएको ढाड अहिले पनि धेरै समय साइकल चलाउँदा दुख्छ ।’ साइकलले गर्दा पढाइतिर ध्यान जान छाडेपछि राजेशकी आमा हैरान भइन् । छोरो स्कुल जाओस् भनेर कहिले गोठमा साइकल लुकाइदिन्थिन् त कहिले साइकलको चेन चुँडालिदिन्थिन् । जति गर्दा पनि राजेशको साइकलप्रतिको मोह हटाउन नसकेपछि उनले त्यो साइकल ९० रुपैयाँमा कवाडीमा बेचिदिइन् । त्यो दिन राजेशका लागि निकै पीडादायी रह्यो । आमाले साइकल बेचिदिएपछि रोए, कराए, आमासँग झगडा गरे, त्यो दिन खाना खाएनन् ।
समय बित्दै गयो । राजेश पनि ६–७ कक्षामा पढ्ने भएपछि उनलाई छिमेकीहरूले विभिन्न काम अर्हाउन थाले, त्यो पनि ठाडो लवजमा । जसले जसरी भने पनि उनी नाइँ नभनी अर्हाएको काम गरिदिन्थे । ‘गरिब हुनुको बेफाइदा यही रहेछ,’ राजेश भन्छन्, ‘जसले पनि काम लगाउने अनि जो पनि ओइ आइजो न, यसो गर्, उसो गर् भनेर अर्हाउँथे ।’ यसरी काम गरिदिएबापत कसैले म:म, चाउमिन खाजा, कसैले एक छाक खाना खुवाउँथे । त्यही खान पाउने आसले उनले धेरैको काम गरिदिन्थे । ‘अरूले मीठो–मसिनो खानेकुरा खाएको देख्दा मुख रसाउँथ्यो ।’ राजेश ती दु:खका दिन सम्झँदै भन्छन्, ‘मेरो आमाबुबासँग म:म, चाउमिन किनेर खुवाउन सक्ने अवस्था थिएन, त्यसैले खानकै लागि अरूले अर्हाएको काम नाइँ नभनी गर्थें ।’ यही क्रममा उनी एक जना छिमेकीको घरमा काम गर्न थाले । त्यहाँ उनी बिहान ७ बजे पुग्थे । पसलमा गएर केही सामान किनेर ल्याइदिन्थे, फूलमा पानी हाल्ने, दुईवटा कुकुरलाई दिसापिसाब गराउन खाली ठाउँमा लैजाने । यति काम सिध्याएर उनी स्कुल जान्थे । त्यो घरबाट उनले मासिक ४ सय रुपैयाँ पारिश्रमिक पाउँथे । कुकुरलाई दिसापिसाब गराउन लैजाने क्रममा उनका कतिपय साथी भने सुकिला–मुकिला भएर साइकलमा हुइँकिन्थे । राजेशका लागि भने बाल्यकालमा सुकिलो कपडा लगाउने दिन कहिल्यै आएन । आङमा वर्षमा एक जोर नयाँ कपडा पर्न पनि धौ–धौ थियो । त्यसो त उनी कहिलेकाहीँ फोहोरमा फालिएका पुराना जुत्ता, कपडाहरू टिपेर ल्याउँथे अनि त्यसलाई धोइपखाली गरेर लगाउँथे । फोहोरको डंगुरमा भेटिएका ठूला साइजका कपडा भए पनि ल्याएर शरीर ढाक्ने गरेको राजेश बताउँछन् ।
यसरी दु:ख, पीडा र गरिबीले गाँजिरहे पनि राजेशमा साइकलप्रतिको मोह भने हटिसकेको थिएन । उनी धेरैजसो समय साइकल पसलमा बिताउँथे । त्यहाँ मर्मत गर्न सघाउँथे, साथै सिक्थे पनि । यही क्रममा उनको एक जना साथीले उनलाई १५ सयमा साइकल बेच्ने कुरा सुनाए । उनले त्यो साइकल किने, किस्ता–किस्तामा पैसा तिर्ने सर्तमा । यसपछि साइकलसँग छुटेको राजेशको साइनो फेरि जोडियो । सोही बेला महँगा माउन्टेन बाइसाइकलमा हेल्मेट लगाएका केही मान्छेहरू भंैसेपाटीतिर देखिन थाले । त्यो दृश्य देखेपछि राजेशलाई पनि माउन्टेन बाइसाइकल चलाउने रहर जाग्यो । तर, उनीसँग त्यस्तो डाउनहिल साइकल किन्ने हैसियत थिएन । बेलाबेलामा साइबर जान थालेका राजेशले युट्युबमा साइकलका विभिन्न स्ट्यान्ड हेर्न थाले । डाउनहिल साइकलकै युट्युब प्रभावले उनले १५ सयमा किनेको साइकललाई काटेर स्कुटर, मोटरसाइकलको सस्पेन्सन कवाडीबाट किनेर हालेर मोडिफाइ गरे ।
यहीबीचमा उनले छिमेकीको घरमा गर्दै आएको काम छाडे । त्यसपछि अन्नपूर्ण पोस्टको प्रेसमा छापिएका किताब बोक्ने काम गर्न थाले । त्यहाँ काम गरेबापत दैनिक ५ सय रुपैयाँ पाउँथे । यहाँ केही समय काम गरेपछि उनी ठमेलको एउटा साइकल पसलमा काम सुरु गरे, जहाँ काम गरेबापत उनले मासिक २ हजार पाउँथे ।
त्यही क्रममा सन् २०१२ मा उनी हात्तीवन, फर्पिङमा नेसनल डाउनहिल च्याम्पियनसिप हेर्न पुगे । त्यहाँ उनले साइकल उडाइरहेका अचम्मको दृश्य देखे । त्यसले उनलाई त्यसैगरी साइकल उडाउने रहर जाग्यो । उनी हप्ताको एक दिन साथीहरूसँगै हात्तीवनमा सिक्न पुग्थे ।
सन् २०१३ मा पहिलो पटक उनलाई नेसनल डाउनहिल च्याम्पियनसिपमा भाग लिने अवसर जुर्यो, जसमा उनी नेसनली छैटौं र इन्टरनेसनली आठौं भए । उनको रेसलाई धेरैले तारिफ गरे । ‘त्यसपछि हो मैले साइक्लिङमा भविष्य देखेको,’ राजेश भन्छन्, ‘नेसनल च्याम्पियनसिपमा पहिलो पटक नै छैटौं र आठौं हुनु मेरो लागि ठूलो कुरा थियो ।’
२०१४ मा हात्तीवनमै लाइफ साइकल डाउनहिल रेसमा भाग लिन अभ्यासका लागि राजेश हात्तीवन गएका थिए । अभ्यास गरिरहेकै बेला उनीमाथि साइकलिस्ट मन्दिल प्रधानको नजर पर्यो । त्यसपछि मन्दिलले उनीसँग कुरा गरे । राजेशसँग त्यो बेला उनले १५ सयमा किनेको साइकल थियो । सामान्य कुराकानीपछि मन्दिलले राजेशलाई आफ्नो साइकल दिए । मन्दिलकै साइकलले उनले प्रतियोगितामा भाग लिए, तर फाइनलमा ३ सय मिटर अघि नै साइकलको चेन चुँडियो । तैपनि राजेश चौथो भए । त्यो बेला साइकलबाट पाएको धोका राजेश कहिल्यै बिर्संदैनन् । त्यसैले हरेक रेसमा भाग लिनुभन्दा अघि साइकलले धोका नदेओस् भन्ने कामना गर्छन् ।
मन्दिलसँग भेटिएसँगै राजेशको जीवनमा परिवर्तन देखा पर्न थाल्यो । ‘मन्दिल दाइसँग भेट नभएको भए सायद अहिले म यो क्षेत्रमा हुन्नथेँ होला ।’ राजेश भन्छन् । यसपछि मन्दिलले राजेशलाई आफ्नो ‘हिमालयन राइड्स’ कम्पनीमा जागिर दिए, जहाँ उनी अहिले साइक्लिङको पर्यटक गाइड गर्ने काम गरिरहेका छन् । सुरुमा मन्दिलले उनलाई दैनिक २ हजार पारिश्रमिक दिने कुरा सुनाए । महिनाको २ हजार पारश्रमिकका लागि ठमेलमा काम गरिरहेका राजेशले दैनिक २ हजार पारिश्रमिक पाउने भएपछि उनको खुसीको सिमा रहेन । त्यतिबेला हिमालयन राइड्समा १० दिन काम गरेको २० हजार पारिश्रमिक बुझेर घर गए । आधा आमालाई दिए १० हजार आफैं खर्च गरे । राजेशको कामबाट सन्तुष्ट भएपछि मन्दिलले उनलाई महिनावारी पारिश्रमिकमा राखे ।
राजेश सन् २०१४ को नेसनल डाउनहिल च्याम्पियनसिपमा विजेता बने । विजेता भएसँगै उनी मेडल लिएर घर गए अनि आमालाई मेडल देखाएर भने, ‘आमा अब म साइकलमै जीवन बिताउँछु, तपार्इंहरूलाई सुखी राख्छु ।’ त्यसपछि आमा भक्कानिइन् र भनिन्, ‘राम्रो गरिस् अझै राम्रो गर्दैै जा ।’ यसपछि राजेशले सन् २०१६ मा पनि नेसनल च्याम्पियन जिते र त्यहिसाल थाइल्यान्डमा भएको एसियन च्याम्पियनसिपमा भाग लिए, जसमा १९ औं भए । त्यसपछि उनी सन् २०१७ र सन् २०१८ मा नेसनल डाउनहिल च्याम्पियनको विजेता बने । यसरी विभिन्न रेस जित्दै पैसा कमाउन थालेपछि उनका आमाबुबा खुसी हुँदै उनको प्रगतिको कामना गर्न थालेका छन् । राजेशको परिवारको जीवनशैलीमा बदलाव आएको छ । अझै १३ औं सागमा डाउनहिल साइक्लिङ रेसमा स्वर्ण जितेसँगै हिजो हेयका दृष्टिले हेर्ने छिमेकीहरू आज भन्दैछन्, ‘छोरो भनेको त यस्तो पो हुनुपर्छ ।’