साप्ताहिक संवाददाता
नेपाल प्रज्ञाप्रतिष्ठानले आगामी माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव गर्ने भएको छ । पुस ७ गते नेपाल प्रज्ञाप्रतिष्ठानको साहित्य पद्य र काव्य विभागको संयोजनमा भएको गजलविज्ञ र अभियन्तासँगको भेटमा उक्त जानकारी गराइएको हो ।
राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा नेपाल प्रज्ञाप्रतिष्ठानमा आगामी माघ १५ र १६ गते हुने राष्ट्रिय गजल महोत्सव, २०७६ मा काव्य विभागको संयोजनमा घनश्याम न्यौपाने परिश्रमी र गोपाल अश्कद्वारा सम्पादित प्रज्ञा आधुनिक नेपाली गजलसङ्ग्रह र लोकसाहित्य, बालसाहित्य विभागको संयोजनमा प्रभाती किरण र रूपक अलङ्कारद्वारा सम्पादित प्रज्ञा नेपाली बालगजलको सार्वजनिक हुनेछ ।
गजल महोत्सवमा मुलुकका सातै प्रदेशबाट प्रतिनिधिमूलक सहभागिता गराउने र गजल वाचन, गजलसम्बन्धी बहस, गजलगोष्ठी एवं गजल सन्ध्या कार्यक्रम सम्पन्न गर्नेलगायतका विषयमा छलफल भएको छ ।
काव्य विभाग प्रमुख प्रा. डा.हेमनाथ पौडेलको संयोजनमा भएको छलफल कार्यक्रममा प्राज्ञहरू प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली, डा. देवी नेपाल, डा. गीता त्रिपाठी, शशि लुमुम्बू, नन्दु उप्रेती एवं वासुदेव अधिकारी, डा. विन्दु शर्मा, प्रा.डा. सुधन पौडेलको उपस्थिति रहेको थियो ।