साप्ताहिक संवाददाता
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहको वैवाहिक सम्बन्धमा पुर्णविराम लागेको छ । रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् । मंगलबार निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी निवदेन दिएकी थिइन् ।
यो जोडीलाई निकै उदाहरणीय जोडिका रुपमा लिइन्थ्यो । कहिल्यै झगडा भएको सुनिएको थिएन । न त उनीहरुको सम्बन्ध उताब–चढाब भएको विषय मिडियामा सार्वजनिक भएको थियो ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएका हुन् । न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार पेस भएको निवदेनउपर सुनुवाई गर्दै दुवैलाई सहमतिमा अलग हुने फैसला सुनाएको हो । निलमले मंगलबार निवदेन दिएपछि बुधबार रामकृष्णले पनि आफू सम्बन्ध विच्छेद गर्न सहमत भएको अदालतलाई बताएका थिए ।
श्रेस्तेदार श्रेष्ठका अनुसार दम्पतिकी छोरी आमा निलमसँगै रहनेछन् । निलमले ढकालबाट अंश नलिने अदालतसामू बताएको पनि श्रेष्ठले जानकारी दिए । लालिगुराँस सहकारीसँगको ऋणको मुद्दाका कारण यो दम्पति केही समयदेखि तनावमा थियो । उनीहरुको सम्वन्ध के कारणले टुंगिएको हो त्यो भने खुलासा भएको छैन ।