श्रीमान्ले छोरीमात्रै जन्माइस भनेर छोडेर हिँडेकी आमाले हुर्काएकी एक किशोरीले मुलुकलाई कुस्तीमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण दिलाइन् । कञ्चनपुर तिलकपुरकी १९ वर्षीया किशोरी संगीता धामीले कुस्तीमा प्रतिस्पर्धा गर्न थालेको तीन वर्षमै स्वर्ण पदक जितेकी हुन् ।
छोटो कद । खिरिलो ठिक्कको शारीरिक बनावट । चञ्चल स्वभाव । तीन वर्षअघि खेलमोहले कुस्तीमा होमिएकी १९ वर्षीया संगीता धामी यस्तै देखिन्छिन् । २०५७ सालमा सुदूरपश्चिमको विपन्न परिवारमा जन्मिएकी तिनै संगीताले १३ औं सागमा कुस्तीमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण मुलुकलाई दिलाइन् । २१ मंसिरमा जनकपुरमा कुस्तीतर्फ पहिलो अन्तर्राष्ट्रिय स्वर्ण मुलुक भित्र्याउने कीर्तिमान आफ्नो नाममा लेखाउने क्रममा उनले ५५ किलो तौल समूहतर्फ बंगलादेशका रिमी सरकारलाई फाइनलमा पराजित गरेकी थिइन् ।
सम्पत्तिका नाममा केवल एउटा भैंसीमात्रै भएको विपन्न परिवारमा हुर्किएकी उनी अभावका पहाडहरू छिचोल्दै तीन वर्षअघि कुस्तीमा प्रवेश गरेकी हुन् । तर, तीन वर्षको छोटै अवधिमा संगीताले कुस्तीमा पहिलो स्वर्ण जित्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाउने महत्वपूर्ण सफलता हात पारिन् । तीन वर्षअघि हेटौंडामा भएको राष्ट्रिय खेलकुद प्रतियोगिताबाट उनले कुस्तीमा स्पर्धा थालेकी हुन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले आफ्नो खेलजीवनको पहिलो स्वर्ण पदक जितेकी थिइन् ।
तीन वर्ष । २ स्वर्ण । एक राष्ट्रिय, एक अन्तर्राष्ट्रिय । किशोरवयमै संगीताले प्राप्त गरेका मुख्य ठूला उपलब्धि हुन् । सागमा स्वर्ण जितेपछि तिनै संगीताले बुवाको नाम लिनै अस्वीकार गरिदिइन् । किन त ? भन्छिन्, ‘जुन मान्छेले हामीलाई छोडेर गए, त्यो मान्छेको किन नाम लिनु ?’ जतिबेला उनलाई हिँड्नका लागि सहारा दिने पिताको हात आवश्यक थियो, बुवाको काँधमा चढेर पर गगनको रोमाञ्चकता हेर्न चाहन्थिन् । त्यतिबेला न उनले बुवा काँध पाइन्, न त हात नै । त्यही बेलादेखि हो–बालक संगीताको मनमा भावनात्मक अभावका खतहरू गहिरो डोब बन्न पुगेको । उनका लागि बुवाको काँध र हात दुवै आमा धनादेवी धामीको आचल थियो । त्यही आचलमा उनले आमा र बुवा दुवै पाइन् ।
संगीता सानै थिइन्, उनकी कान्छी बहिनी भने गर्भमै थिइन् । उनका बुवा धर्तिमा हुर्किइरहेका तीन छोरी र गर्भमै रहेकी अर्की एक छोरीलाई छाडेर हिँडेका थिए । बुवा हिँडेपछि उनकी आमाले चारवटा छोरी हुर्काउन आर्थिक समस्याका ठूला—ठूला पहाडहरूको सामना गर्नुपर्यो । ‘एकदमै समस्या थियो, घर गृहस्थी थिएन्, अरूको घरमा काम गरे, बाख्रा, भैंसी पालेर मैले मेरी छोरीहरू हुर्काएकी हुँ,’ धनादेवी भन्छिन् ।
छोरीले स्वर्ण जितेपछि उनलाई अहिले छोराछोरी जे भए पनि समान रहेछन् भन्ने लाग्न थालेको छ । ‘छोरीमात्रै जन्माइस’ भनेर छोडेर हिँडेका पतिले दिएको घाउमा छोरीको सफलता मलम बन्न पुगेको छ । ‘अहिले त्यो दु:खको फल मिलेजस्तो भएको छ, धेरै खुसी लागिरहेको छ,’ धनादेवी सुनिइन्, ‘हामी गरिबहरूका लागि यो ठूलै सपना हो । छोरीको यस्तो होला भनेर मैले सपनामा पनि सोचेकी थिइन् ।’
महेन्द्रनगर तिलकपुरमा संगीता बहिनी र आमा धनादेवीसँग बस्छन् । उनीहरूको आफ्नै घरजग्गा छैन, बस्ने घरको व्यवस्था पनि ठूलाबुवाले गरिदिएका हुन् । संगीताका चार दिदीबहिनीमध्ये दुई जना दिदीको विवाह भइसकेको छ । चारै बहिनीलाई धनादेवीले निकै दु:खजिलो गरेर हुर्काइन् । ‘दूध बेचेर आमाले हाम्रो आवश्यकताहरू पूर्ति गर्नुपथ्र्यो,’ संगीता सम्झिन्छिन्, ‘धेरै संघर्ष गर्नुभयो, कहिलेकाहीँ मजदुरी गर्न पनि जानुहुन्थ्यो, आमाको संघर्ष निकै ठूलो छ ।’ उनकी आमा घरबाट महेन्द्रनगर बजार लगेर दूध बेच्थिन्, त्यसबाट आएको पैसाले छोरीहरूको खानपिन र लुगाफाटोको जोहो गर्थिन् ।
संगीताले प्रारम्भिक पढाइ गाउँकै गौरीशंकर निम्न माविमा पूरा गरेकी हुन् । सानोमा संगीताको रुचि सेनामा भर्ना हुने थियो । जुन रुचि अहिले पनि यथावत रहेको उनी बताउँछिन् । ‘मैले सम्झेदेखि त मलाई आर्मी बन्ने रहर हुन्थ्यो,’ उनी भन्छिन्, ‘दु:ख परेको मान्छेले जे पनि गर्न सक्छ भन्थे हो रै’छ ।’ ८ कक्षासम्म गौरीशंकरमा पढेपछि उनी भृकुटी माध्यमिक विद्यालय गइन् । चञ्चले स्वभावकी संगीता सानैदेखि खेलकुद निकै मन पराउँथिन् । ‘गाउँको स्कुल पढ्दा उति धेरै गेमहरू पनि हुँदैन्थे,’ उनी भन्छिन्, ‘जब बजारको स्कुलमा आए, सर्टफुट, दौडजस्ता खेलहरू हुन्थे । जहिले पनि म फष्ट, सेकेन्ड भइरहेकै हुन्थे ।’
अवसर उनलाई खोज्दै स्कुलमै आइपुग्यो—ठ्याक्कै तीन वर्षअघि । जतिबेला संगीतामा भृकुटी माविमै १० कक्षामा पढ्दै थिइन् । कुस्तीका कोच राजेन्द्र चन्दसहितको टोली खेलाडीहरू खोज्दै संगीताको स्कुलमा पुग्यो । खेलाडी खोज्न आइपुगेका थाहा पाउने बित्तिकै संगीताले कुन खेल भनेर सोध्दै सोधिनन् । उनले आफू पनि कुस्ती खेल्न इच्छुक भएको कुरा बताइन् । अवसर खोजिरहेकी यी फूर्तिली ठिटीलाई त्यही नै जीवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो । ‘हामी स्कुल–स्कुलमा गएर कुस्ती खेल्न इच्छुक खेलाडीहरू खोजिरहेका थियौं,’ कुस्तीका प्रशिक्षक चन्द भन्छन्, ‘भृकुटी माविमा पुगेका बेला उनले कुन खेल हो भनेर सोध्दै नसोधी कुस्ती खेल्न इच्छा व्यक्त गरिन् ।’
संगीतालगायतका ३० जना खेलाडीहरूलाई लिएर प्रशिक्षण सुरु गरियो । संगीता सुरुकै दिनदेखि आफूहरूले गुरुको राम्रो सहयोग पाएकाले लक्की ठान्छिन् । तर, गुरुको सहयोग एकातिर थियो, अर्कातिर उनको कमजोर आर्थिक अवस्थाका कारण समस्या पनि उत्तिकै थिए । उनलाई डाइट खानका लागि पैसा हुन्नथ्यो । ‘कुस्तीमा पावर चाहिन्छ, सुरु–सुरुमा डाइट खानलाई पैसा पनि हुँदैन्थ्यो्,’ संगीता आफ्नो सुरुवाती खेलयात्राबारे भन्छिन्, ‘ममीले घरको खर्चबाट केही रकम बचाएर मलाई डाइट खा भनेर पैसा दिनुहुन्थ्यो तर घरको अवस्थाले त्यो लिन मेरो मन मान्दैन्थ्यो । म लिदिन थिएँ ।’ छोरीले पैसा नलगे पनि उनकी आमाको चित्त कसरी मानोस् । आफंै बदाम, चनाजस्ता डाइट ल्याएर छोरीलाई दिन्थिन् । आमाले पनि उनको खेल जीवनमा सदैव सपोर्ट गरिन् ।
‘भात, दाल र रोटीकै भरमा खेलाडीहरू संघर्ष गर्नुपर्छ । यो संगीताको मात्रै होइन्, गाउँ घरमा खेल्ने धेरै नेपाली खेलाडीको कमन समस्या हो,’ संगीताका कुरा एकाग्रतासाथ सुनिरहेका उनका गुरु चन्द बोले, ‘सामान्य खाना खाएर ट्रेनिङ गर्छन् ।’ तर, जति समस्याका बाबजुद पनि संगीताले पढाइ सँगसँगै कुस्तीको प्रशिक्षणमा पनि निरन्तरता दिइन् । बिहानै हिँडेकी उनी राति मात्रै घर फर्किन्थिन् । तीन किलोमिटर साइकलमा यात्रा गर्दै उनी बिहान–बेलुका ट्रेनिङमा सहभागी हुन्थिन्, भने बिहान ट्युसनसँगै दिउँसो स्कुल पनि भ्याइरहेकी हुन्थिन् ।
सागका लागि छनोट भएपछि संगीतासहितका ७ जना युवतीलाई क्लोज क्याम्पमा राखेर तयार पारियो । क्लोज क्याम्पमा भने उनका लागि व्यावहारिक र खानपिनका समस्याहरू कम भए । ६ महिनादेखि क्लोज क्याम्पमा राखेर साँझ–बिहान तीन–तीन घण्टा ट्रेनिङ दिइएको उनी बताउँछिन् । कुस्तीका प्रमुख प्रशिक्षक बह्मदेव यादव, प्रशिक्षकहरू मुमताज अली, राजेन्द्र चन्दलगायतका सबै गुरुहरूले उनलाई शारीरिकसँगै मानसिक रूपमा पनि बलियो गरी तयार पारे । ‘संगीतामा गोल्ड जित्ने प्रतिभा देखेर बलियोसँग तयार पार्यौं,’ मुख्य प्रशिक्षक यादव भन्छन्, ‘उनी पुसअप, रनिङ मन लगाएर गर्थिन्, टेक्निकमा पनि अब्बल थिइन् । अनुशासन र टेक्निक सबै राम्रो भएपछि हामीलाई स्वर्ण जित्छौं भन्ने लागेको थियो ।’ २१ मंसिरमा अन्तत: वर्षांैदेखिको कुस्तीमा रहेको अन्तर्राष्ट्रिय स्वर्णको खडेरीलाई संगीताले तोडेरै छोडिन् ।
‘गुरुहरूले तिमीले गोल्ड नै जित्छौं भन्नुभएको थियो,’ संगीता भन्छिन्, ‘तर, हन्ड्रेड प्रतिशत नै फष्ट हुन्छु भन्ने लागेको थिएन् ।’ तर, कता–कता उनको मनमा भने जित्छुजस्तो पनि थियो । गुरुहरूको आत्मविश्वासले उनलाई थप आत्मविश्वासी बनायो । ‘जब फाइनलमा म्याटमा गएर मैले प्रतिस्पर्धीलाई पन्छाए्,’ उनी स्वर्ण साकार हुँदाको क्षणबारे भन्छिन्, ‘आँखाबाट आँसु झरे ।’ स्वर्ण जितेपछि उनले सबैभन्दा पहिले सम्झिइन्, ममी र गुरुहरूलाई । अहिले सम्झँदा उनलाई लाग्छ– स्वर्णयात्रा उति सजिलो पक्कै होइन् ।
स्वर्ण विजेता संगीताको भावि सपना खेल र पढाइलाई निरन्तरता दिँदै जागिर गर्ने सोच छ । भृकुटी माविबाटै एसएलसी गरेकी उनले सनराइज बोर्डिङ स्कुलबाट प्लस टु पनि सकिन् । अब उनी स्नातकमा भर्ना हुने योजनामा छिन् । ‘घर गएर एडमिसन गर्छु र गेमलाई निरन्तरता दिन्छु,’ उनले भनिन् । पुरस्कार रकम के मा खर्चिनेछिन् त ? भन्छिन्, ‘मेरो आफ्नो घर छैन, ठूलो ड्याडीको घरमा बसेका छौं, ममीले त्यही भैंसी पालेका छन् । खेत पनि छैन, किनेर खानुपर्छ । हाम्रो धनसम्पत्ति भनेको भैंसी नै हो । सरकारले दिएको पुरस्कार रकमबाट उनले घर बनाउने योजना रहेको सुनाइन् । त्यसबाहेक ८ कक्षामा पढ्ने कान्छी बहिनी र आफ्नो पढाइमा पनि उनले केही रकम खर्चनेछिन् ।