साप्ताहिक संवाददाता
बुधबारको साँझ लोकप्रिय गायक रामकृष्ण ढकालको अप्रिय खबरले तरंगीत भयो । उनले काठमाडौं जिल्ला अदालतमा पुगेर निलम शाहसँगको १७ वर्षे सहयात्रामा पूर्णविराम लगाए । १७ वर्षअघि मनले जोडेको सम्बन्ध अन्तत: कागजी रुपमा टुङ्गियो । उनको सम्बन्ध विच्छेदको खबरले यतिबेला सामाजिक सञ्जाल तंरगीत बनेको छ ।
सबैले रामकृष्ण ढकालको सम्बन्ध विच्छेद हुनुका विभिन्न कारणहरु उल्लेख गरिरहदा गायक ढकालले भने जसले जे भने पनि आफूहरुको सम्बन्ध सदाबहार उस्तै रहने उल्लेख गरेका छन् । उनले बुधबार साँझ नै फेसबुकमा लेखेका छन्, ‘अरुले जे सुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।’ श्रीमतीको तस्बिरमा लभ रियाक्टसहित उनले यस्तो स्टाटस लेखेका छन् । यद्यपि जिल्ला अदालत काठमाडौंले भने ढकाल दम्पतिले सम्बन्ध विच्छेद गरेको पुष्टि गरिसकेको छ ।
ढकालको सम्बन्ध बिच्छेदको खबर सार्वजनिक भएसँगै उनका कतिपय फ्यान भने निक्कै भावुक देखिएका छन् । धेरैले गायक ढकालको सम्बन्ध विच्छेदको कारण ढकाललाई लागेको ऋण उल्लेख गरेपछि कवि प्रज्वल अधिकारीले फेसबुकमा लेखेका छन्– ‘आदरणीय गायक रामकृष्ण ढकालको ऋण कति छ पत्ता लगाएर सबै नेपालीले दुई चार रुपैयाँ उठाएर तिरिदिउँ, यदी ऋणले नै गर्दा सम्बन्ध बिच्छेद भएको हो भने । नेपाली संगीतिक क्षेत्रमा उनको योगदान अमुल्य छ । हाम्रा सुख, दु:खमा उनका गीतले हरदम साथ दिएका छन् । आउनुहोस यो गुन तिर्ने मौका हो, हरेक नेपालीले अलिअली रुपैयाँ उठाएर उनीलाई ऋण मुक्त गरिदिउँ । यस्ता गायक ऋणमा डुबेर जिन्दगी बिग्रनु नेपाली साागीतिक क्षेत्रको अपुरणीय क्षति हो । आज उनी दु:खमा हुँदा सम्बन्ध बिच्छेदको स्टाटस लेखेर मात्र केही हुँदैन । हामी सबै मिलेर उहाँहरूलाई पुन: मिलनको लागि अनुरोध गरौँ । यसको लागि के–के गर्न पर्छ भनौं त जानकारहरूले ।’
गीतकार राजेन्द्र थापाले पनि उनीहरुको सम्बन्ध विच्छेदको कुरा गरेर दु:ख नदिन आग्रह गरेका छन् । गीतकार थापा लेख्छन्– ‘यदी रामकृष्णले तपाईंको मन छोएको थियो कहिले भने फेसबुक र अनलाइनमा राम या निलम बिषय कुनै पनि नकारात्मक कुरा या अनुमान या आक्षेप नलगाउनुस् । अहिले मौन रहेर साथ दिनुस । यिनीहरुको मन कहिले छुटदैन, सम्बन्ध कहिले टुट्दैन । जिन्दगीले कहिलेकाहीं हिसाब बिगार्न सक्छ । त्यो शान्त मनस्थिति तथा आफन्तहरुको सहयोगबाट सेटल हुन्छ । कामना गर्नु:, प्रार्थना गर्नु:, आशिर्वाद दिनुस । निलमले असाधारण पिडापुर्वक यो मार्ग अपनाउने बिरता र प्रेमशक्ती प्रदर्शन गरेको सत्य महसुस गर्नुस् ।’