साप्ताहिक संवाददाता
‘५१ स्वर्ण जित्नेमध्ये १० जना खेलाडी हाम्रो छनोटमा परेका छन्, जसले प्रतिकूलतालाई जितेर आफ्नो मुठ्ठीमा मेडल पार्न सफल भएका छन् ।’
खेलकुद त्यस्तो विधा हो, जसले सारा समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्छ । आफ्नो खेलाडीले जित्दा सारा मुलुक खुसीमा झुम्छ भने पराजित हुँदा त्यसको पीडा महसुस गर्छ । हालै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा एकचोटी सारा नेपाली एउटै सूत्रमा बाँधिए । समाजमा असन्तुष्टि र चरम निराशा बढिरहँदा सागले आम मानिसमा उत्साह ल्याइदियो ।
अभाव/व्यवस्थापकीय कमीकमजोरीका बाबजुद हाम्रा खेलाडीको प्रदर्शन अभूतपूर्व रह्यो । तिनले नेपाली खेल जगतमा बेग्लै इतिहास रचे । पहिलो पटक ५१ स्वर्ण पदकसहित २०६ पदक दिलाएर नेपालको गौरव बढाए ।
खेल जित्ने, पराजित भए पनि खेलमा सहभागी हुने खेलाडी, कोच सबै यो जितमा बधाईका पात्र हुन् । जो–जो नेपाली खेलको विकास र विस्तारमा लागेका छन्, ती सबैको योगदान महत्वपूर्ण छ । यद्यपि यीमध्ये केही त्यस्ता अनुहारले यसपटक स्वर्णपदक जितेका छन्, जसको सफलताका कथा अरूका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।
खेल जित्न हरेक खेलाडीले उत्तिकै मेहनत गर्नुपर्छ । जित्ने सबै तारिफका योग्य हुन्छन् र सबैको मेहनतको उच्च कदर गरिनुपर्छ । केही त्यस्ता खेलाडी पनि यो १३ औं सागमा उदाए, जसले अत्यन्त प्रतिकूल अवस्थाबाट माथि उठेर खेल जिते र उदारहण बन्न सके । ५१ स्वर्ण जित्नेमध्ये १० जना खेलाडी हाम्रो छनोटमा परेका छन्, जसले प्रतिकूलतालाई जितेर आफ्नो मुठ्ठीमा मेडल पार्न सफल भएका छन् । यसपटकको हामीले तिनै दश जनाको सफलताको कथालाई विशेष सामग्रीका रूपमा प्रस्तुत गरेका छौं ।
एउटा व्यक्तिको सफलतामा पारिवारिक पृष्ठभूमि, आर्थिक हैसियत, हुर्केको समाज, उसले प्राप्त गर्ने साधन–स्रोत, वरपरका आफन्तको सहयोग–सद्भाव सबै कुरा जोडिएको हुन्छ । यी सबै चिज सहज र सुलभ प्राप्त गर्ने व्यक्ति अनुकूल परिस्थितिमा हुन्छ भने प्रतिकूल अवस्थामा पनि कतिपयले आफूलाई निखार्न सक्छन् । त्यसको उदाहरण यी दश खेलाडी बनेका छन् ।
१३ औं सागमा हामीले स्वर्ण जितेपछि झन्डा लिएर उत्साहित हुँदै दौडिएका खेलाडीहरू देख्यौं । गलामा मेडल झुन्डिदा तिनको मुहारको खुसी देख्यौं । तर, त्यो स्वर्ण जित्नुअघिको संघर्षको कथा झन् मर्मस्पर्शी छ । दुई सन्तानलाई जन्म दिइसकेपछि पनि आयशा शाक्यले खेललाई कसरी निरन्तरता दिइन् ? गल्फको बल टिप्दै हिँड्ने सुवास तामाङको जीवनले कसरी फड्को मार्यो ? ड्रेस र डाइट किन्ने पैसा नभएकी र अनाथ आश्रममा हुर्केकी पुनम श्रेष्ठले स्वर्ण यात्रा कसरी तय गरिन् ? रोल्पाबाट विस्थापित निमा घर्तीले लगातार सागमा स्वर्ण ल्याउने उत्प्रेरणा कहाँबाट पाइन् ? अनुपमा मगर, राजेश मगर, सुनिता महर्जन, काजल श्रेष्ठ, वीरबहादुर महरा, संगीता धामी आदिले कस्ता अप्ठेरो परिस्थितिमा पनि खेलप्रतिको प्यासन छोडेनन् ? स्वर्णको भोकले खेललाई निरन्तरता दिँदै सफलता प्राप्त गर्ने यी सबैका संघर्ष र सफलताका कथा नवोदित खेलाडीहरू र आम पाठककै लागि उत्प्रेरणाको स्रोत बन्न सक्छ ।