सौराहा हात्ती चढेर जंगल घुम्न देश–विदेशका लाखौं पर्यटक पुग्ने ठाउँ हो । १६ वर्षदेखि क्षेत्रीय होटल संघ (हान), सौराहा, चितवनले क्रिसमस र अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर बाघमारा चौरमा हात्ती महोत्सव गर्दै आएको छ । यो वर्ष हिजोदेखि प्रारम्भ भएको यो महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सव आयोजक समितिका संयोजक राममणि खनालका अनुसार हात्तीको वनभोज कार्यक्रम महोत्सवको विशेष आकर्षण रहने गरेको छ । यसका साथै महोत्सवमा हात्ती फास्ट वाक प्रतियोगिता, हात्तीका छावाहरूको फुटबल प्रतियोगिता, हात्तीको सुन्दरी प्रतियोगिता, हात्तीपोलो, हात्ती पेन्टिङजस्ता हात्तीसँग सम्बन्धित कार्यक्रमहरू रहने खनालले जानकारी दिए । प्रदेश–३ सरकारले भ्रमण वर्षको घोषणा कार्यक्रम सौराहाबाटै गर्ने भएको छ । हात्ती महोत्सवको समापन गर्दै भ्रमण वर्ष आरम्भको घोषणा गरिनेछ । त्यसैले महोत्सवको समय लम्बिएको अध्यक्ष भट्टराईले बताए ।
‘पहिलेभन्दा दिन लम्बिने भएका कारण यो पटक टाँगा दौड, गाडा दौड, डुंगा दौडजस्ता प्रतियोगिताहरू पनि हुने छन् । पहिला यी प्रतियोगिताहरू हुन्थे । बीचमा छुटेका थिए । फेरि थप्दैछौं,’ संयोजक खनालले भने । महोत्सवमा आयोजना हुने खेलहरू हात्तीको बानी र स्वभावअनुकूलका नभएको भन्दै यसको राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय स्तरमा सक्रिय पशु अधिकार तथा पशु कल्याणकारी संघ–संस्थाले विरोध गर्दै आएका छन् ।
पर्यटन प्रवद्र्धनका लागि सौराहामा हात्ती महोत्सव हुने गरेको छ । सुरुमा हात्ती दौडको नाममा कार्यक्रम हुने गथ्र्याे । पशु अधिकारकर्मीको विरोधपछि विभिन्न गतिविधि थपेर महोत्सव भन्न थालिएको हो । हात्ती दौडलाई पनि तीन वर्षदेखि हात्तीको छिटो हिँडाइ अर्थात् इलाफेन्ट फास्टवाक भन्ने गरिएको छ । महोत्सवले पर्यटनमा टेवा पुर्याउनुका साथै वन्यजन्तु संरक्षणको सन्देश दिने आयोजकहरूको जिकिर छ ।