साप्ताहिक संवाददाता
बलिउड अभिनेत्री आलिया भट्टलाई सन् २०१९ को एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा छनोट गरिएको छ । यसै सूचीमा दीपिका पादुकोणले दोस्रो स्थान हासिल गरेकी छिन् ।
बुधबार लण्डनको साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ले अनलाइन भोटिङ गर्दा यी दुई अभिनेत्री शीर्ष स्थानमा पर्न सफल भएका हुन् । साप्ताहिक पत्रिका ‘इस्टर्न आई’ ले आलियाका लागि सन् २०१९ सबैभन्दा उत्कृष्ट वर्ष बताएको छ ।
पत्रिकाका अनुसार आलियाले यो वर्ष अभिनयका कारण विभिन्न अवार्ड जित्नुका साथै उनको फिल्म ‘गली बोय’ लाई सन् २०२० को ओस्करका लागि नोमिनेट पनि गरिएको छ ।
यस्तै, सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी दीपिका पादुकोण यसपटक दोस्रो स्थानमा छिन् । तर यसपटक दीपिका पादुकोणले दशककी सबैभन्दा सेक्सी महिलाको ताज आफ्नो पक्षमा पारेकी छिन् ।
एशियाको सबैभन्दा सेक्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खानले तेस्रो स्थान हासिल गरेकी छिन् ।
यस्तै, चौथो स्थानमा माहिरा खान छिन् । यो वर्षको शीर्ष १० को सूचीमा सुरभि चन्दनाले पाँचौं, कट्रिना कैफले छैटौं, शिवांगी जोशीले सातौं, निया शर्माले ८ औं, मेहविश हयातले ९ औँ र प्रियंका चोपडाले १० औं स्थान हासिल गरेका छन् ।
- एजेन्सी