कहाँ घुम्ने किन घुम्ने ?

- जनक तिमिल्सिना, मुकुन्द बोगटी

पुस ११, २०७६

नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी ५०/६० वर्षको पर्यटकीय इतिहास भए पनि नेपाललाई पर्वतीय र साहसिक गतिविधि हुने गन्तव्यका रूपमा मात्रै चिनिने बताउँछन् । ‘हामी कहाँ वाइल्ड लाइफ, कल्चर, हेरिटेच, फेस्टिवल, ल्यान्डस्केप पनि त्यत्तिकै आकर्षक छन्,’ जोशी भन्छन्, ‘संसारको ट्रेन्ड नयाँ अनुभव लिने छ । कुन ठाउँमा जाँदा जीवनमा कहिल्यै नभएका अनुभवहरू हासिल गर्न सकिन्छ भन्ने ट्रेन्ड चलिरहेको छ । त्यसैले नेपाल लाइफटाइम एक्सिपिरियन्स लिनका लागि उपयुक्त गन्तव्य हो ।’

किन घुम्ने नेपाल?

‘अमेरिकाको न्युयोर्क राज्यभन्दा थोरै बढी क्षेत्रफल भएको नेपालको भौगोलिक विविधता क्षेत्रफलका दृष्टिकोणले कुनै पनि मुलुकमै छैन ।’ विश्वप्रसिद्ध फोब्र्स म्यागेजिनमा सन् २०२० को दशकमा संसारका घुम्नुपर्ने १० वटा ठाउँबारेको रिपोर्टमा क्याथरिक पार्कर मोयरले लेखेकी छिन् । नेपाललाई २० को दशकमा घुम्नैपर्ने गन्तव्यको पहिलो स्थानमा राखिएको उक्त आलेखमा नेपालको प्राकृतिक सुन्दरता एवं सांस्कृतिक भव्यताको सटिक वर्णन गरिएको छ । हुन पनि हो, न्युयोर्कको क्षेत्रफल १ लाख ४१ हजार ३ सय वर्गकिलोमिटर छ भने नेपाल थोरैले बढी अर्थात् १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर । 

भौगोलिक क्षेत्रफलका दृष्टिले सानो भएतापनि हिमालदेखि समथल तराईको मैदानी भू–भागसम्म फैलिएको नेपालमा अनेकन् प्राकृतिक, सांस्कृतिक र जैविक विविधताहरू छन् ।

असंख्य जैविक विविधताबीच मनोरम भौगोलिक परिवेशको सम्मिलनले कल्पनातीत स्वर्गकै आभास दिलाउँछ । त्यसैले त मोयर मात्रै होइन, नेपालको प्राकृतिक मनोरम, वाइल्ड लाइफ टुरिज्म, कला, संस्कृति, ऐतिहासिक सम्पदा, वेशभूषा, संगीत, खानपानकै लोभमा दसौं लाख पर्यटक बर्सेनि नेपाल भित्रिन्छन् ।

संसारकै सर्वोच्च शिखर सगरमाथादेखि ८ हजार मिटरभन्दा अग्ला कन्चनजंघा, लोत्से, मकालु, चोयु, धौलागिरि, मनास्लु र अन्नपूर्ण गरी ८ वटा हिमाल नेपालमै छन् । ६ हजार मिटरभन्दा अग्ला १ हजार ३ सय १० हिमश्रृंखलामध्ये माछापुच्छ्रे, सैपाल, अपीजस्ता केही हिमश्रृंखला भर्जिन पिक हुन्, जसमा अहिलेसम्म कुनै पनि सफल आरोहण भएको छैन । 

नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी ५०/६० वर्षको पर्यटकीय इतिहास भए पनि नेपाललाई पर्वतीय र साहसिक गतिविधि हुने गन्तव्यका रूपमा मात्रै चिनिने बताउँछन् । ‘हामी कहाँ वाइल्ड लाइफ, कल्चर, हेरिटेच, फेस्टिवल, ल्यान्डस्केप पनि त्यत्तिकै आकर्षक छन्,’ जोशी भन्छन्, ‘संसारको ट्रेन्ड नयाँ अनुभव लिने छ । कुन ठाउँमा जाँदा जीवनमा कहिल्यै नभएका अनुभवहरू हासिल गर्न सकिन्छ भन्ने ट्रेन्ड चलिरहेको छ । त्यसैले नेपाल लाइफटाइम एक्सिपिरियन्स लिनका लागि उपयुक्त गन्तव्य हो ।’

हिमालको आकर्षण, आरोहणको एड्भेन्चर्स त एकातिर छँदैछ, प्राकृतिक सौन्दर्यका दृष्टिकोणले अन्नपूर्ण पदमार्ग र सगरमाथा पदमार्ग ट्रेकिङका लागि विश्वमै प्रसिद्धि कमाएका छन् । उत्कृष्ट ल्यान्डस्केपका लागि कालापत्थर, अन्नपूर्ण बेस क्याम्प, लामटाङ भ्याली, अपर मुस्ताङ, रारा र खप्तडको सुन्दरता स्वर्गकै टुक्राजस्तो लाग्छ । 

हिमाली र पहाडी भू–बनावटको आकर्षणले पर्यटकहरूलाई तानिरहेकै छ । तराई क्षेत्रमा वाइल्ड लाइफ टुरिज्मले विशेष ख्याति कमाइरहेको छ । नेपालमा भित्रिने पर्यटकहरूमध्ये झन्डै ६० प्रतिशत पर्यटक वाइल्ड लाइफमा रमाउन आउने गरेको वन्जयन्तु विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठ बताउँछन् । ‘हिमाली र पहाडी क्षेत्रको ल्याडस्केप अद्भुत छ,’ उनी भन्छन्, ‘तराईको वाइल्ड लाइफ अर्को पर्यटकीय रत्न हो । नेपाल आउने पर्यटकमध्ये झन्डै ६० प्रतिशत वाइल्ड लाइफ हेर्न मात्र आउने गर्छन् ।’ 

गैंडा, हात्ती, बाघ हेर्न र जंगल सफारीका साथै सूर्योदयको आनन्द लिन चितवन राष्ट्रिय निकुन्जमा अहिले धेरै पर्यटक जान्छन् । गत आर्थिक वर्षमा मात्रै १ लाख ८५ हजार ६ सय बढी पर्यटकले चितवन राष्ट्रिय निकुन्ज भ्रमण गरेका थिए । बर्दिया राष्ट्रिय निकुन्जमा बाघ हेर्नेकै लागि आउने पर्यटकको संख्या पनि निरन्तर उकालो लागिरहेको विभागका प्रवक्तासमेत रहेका श्रेष्ठ बताउँछन् । यसबाहेक सगरमाथा राष्ट्रिय निकुन्ज, कोसी टप्पु वन्यजन्तु संरक्षण क्षेत्रलगायतका निकुन्ज र संरक्षण क्षेत्रमा पनि पर्यटक पुगिरहेका हुन्छन् । 

वाइल्ड लाइफ टुरिज्ममा अरू थुप्रै पर्यटकीय सम्भावना नेपालमा विद्यमान छन् । त्यसका लागि वाइल्ड लाइफको अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङका साथै सजिलो पहुँचका लागि भौतिक पूर्वाधारहरूको उचित प्रबन्ध आवश्यक देखिन्छ । ‘चितवन र बर्दियामा सहज एक्सेस भएकै कारण पर्यटकको संख्या बढेको हो,’ श्रेष्ठ थप्छन्, ‘बाँकेमा पनि बाघ छन् । तर, त्यसको प्रचार र ब्रान्डिङ हुन सकेन । हिमचितुवाका लागि शे–फेक्सुन्डो गन्तव्य हुन सक्छ । तर, सहज एक्सेसका लागि इन्फास्ट्रक्चर जरुरी छ ।’ 

ल्याडस्केपका दृष्टिकोणले समेत अत्यन्तै रमणीय शे–फोक्सुन्डोमा पर्यटक नै पुग्दैनन् । जबकि संसारका १२ देशमा मात्रै पाइने दुर्लभ मानिने हिमचितुवा यहाँ पाइन्छ । इलाम, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा पाइने रेडपाण्डा, बर्दियामा पाइने कृष्णसारलाई पनि पर्यटकीय दृष्टिकोणले सम्भावनाका वन्यजन्तु मानिएको छ । यस्तै, सुदूरपश्चिमको कन्चनपुरको शुक्लाँफाटा आरक्षमा पाइने बाह्रसिंगेलाई पनि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय बजारमा राम्रो प्रचार—प्रसार गर्न सकिएको देखिँदैन । कोसी टप्पुको अर्ना अर्को पर्यटकीय आकर्षण हो । 

उसो त नेपालमा १७ हजार ९७ वटा जीवजन्तु पाइन्छन् । स्तनधारी जनावर २ सय १२ किसिमका जनावर पाइने नेपालको वाइल्ड लाइफ टुरिज्मको ब्रान्डिङ स्वदेश तथा विदेशमा आवश्यक देखिन्छ । रंगीविरंगी पुतलीमात्रै ६ सय ६४ वटा पाइने सरकारी तथ्यांक छ । पुतलीजस्तै मानिने अर्को प्रजाति मोथका ३ हजार ९ सयभन्दा बढी छन् । २ किसिमका पुतली, ५० स्तनधारी जनावरहरू, २९ प्रजातिका घस्रेर हिँड्ने लोपोन्मुख जीवजन्तु ओसार–पसार प्रतिबन्धित छन् । 

चितवन राष्ट्रिय निकुन्जका पूर्ववार्डेन नरेन्द्रबाबु प्रधान नेपालमा वन्यजन्तु पर्यटनको ठूलो स्कोप देख्छन् । खासगरी विश्वमै दुर्लभ मानिने पाटेबाघ, हिमचितुवा, गैंडा, हात्ती नेपालको मुख्य आकर्षण रहेको उनको तर्क छ । ‘वाइल्ड लाइफ टुरिज्म अफ्रिकापछि नेपालबाटै सुरु भएको हो । नेपालका निकुन्ज र आरक्षण क्षेत्रहरू वाइल्ड लाइफ टुरिज्मका केन्द्र हुन्,’ उनी भन्छन्, ‘सानो दूरीमा धेरै वन्यजन्तु हेर्न सकिने संसारकै नेपालमात्रै त्यस्तो देश हो, जहाँ तराईदेखि पहाडसम्म एकैदिनमै हिँडेर पुग्न सकिन्छ ।’ 

चरा पर्यटनको सम्भावना पनि नेपाल उत्तिकै छ । ८ सय ८६ किसिमका चराचुरुंगी पाइने नेपालमा १ सय १२ जातका चराचुरुंगी त लोपोन्मुख सूचीमा छन् । विश्वमै दुर्लभ चरामध्ये नेपालमा ४४ प्रजातिका चरा पाइन्छन् ।नेपालमै मात्रै पाइने काँडे भ्याकुर नामक चरा लमजुङमा पाइन्छ । चराविद् डा. हेमसागर बराल नेपाल चरा पर्यटनको ठूलो सम्भावना रहेको बताउँछन् । ‘नेपाल चरा पर्यटनका लागि विश्वकै उत्कृष्ट गन्तव्य हो । दुई साताको बसाइमा नेपालमा ४ सय चरा हेर्न सकिन्छ,’ बराल भन्छन्, ‘हुनत नेपालभन्दा धेरै चरा भएका ठूला देशहरू पनि छन् । तर, छोटो बसाइमै यति धेरै चरा संसारमा विरलै हेर्न पाइन्छ ।’

बरालकाअनुसार कोसी टप्पु र चितवनमा मात्रै एकै दिनमा सयभन्दा बढी चरा हेर्न पाइन्छ । अर्ना तथा घुमन्ते र साइबेरियन चराका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष स्वर्ग मानिन्छ । विदेशबाट आउने सुनचरी, स्वर्गचरी, होमायु, कोइली, कालो गरुड, नीलपुच्छ्रे, मुरलीलगायतका चराले त्यहाँको चार संसारमा बेग्लै रौनक थप्छन् । विभिन्न प्रजातिका १ सय ५० भन्दा बढी चरा फागुन, चैत र वैशाखतिर नेपालका विभिन्न ठाउँमा विचरण गरेर वर्षात सकिएपछि फर्किन्छ ।

हिमाली, पहाडी र तराई क्षेत्रमा फुल्ने थरी–थरीका वनस्पति र फूलहरूले नेपाललाई खुल्ला बगैंचाजस्तै शोभायमान बनाइरहेका हुन्छन् । नेपालमा फूलजन्य बोटबिरुवा १३ हजार बढी रहेको ०६७ बायो डाइभर्सिटी एन्ड एक्सन प्लानमा उल्लेख छ । ४ सय १७ थरिका लोपोन्मुख प्रजातिका फूलहरू नेपालमा छन् । ७ सय प्रकारका जडीबुटी पाइने नेपालमा ३२ प्रकारका रंगीचंगी लालीगुराँसहरू फुल्छन् । एकमात्र सिकार आरक्ष ढोरपाटनमा लामो समयदेखि विदेशी सिकारीहरू आएर सिकार गर्दै आएका छन् ।

असोज, कात्तिक, मंसिर र फागुन, चैत,वैशाख गरी वर्षमा दुई सिजनमा नाउर र झारल सिकारका लागि खुल्ने गर्छ । त्यही समयमा आएर सरकारले तोकेको संख्या सिकार गर्न पाइने व्यवस्था छ । 

संसारकै सर्वाधिक उच्च बिन्दुको आनन्द उठाउन पाइने नेपालमा जल पर्यटनको सम्भावना पनि उत्तिकै छ । हिमाली तथा पहाडी भेगका अवस्थित हिमताल तथा झरनाको सौन्दर्य मुग्ध बनाउने खालको छ ।

जलसम्पदामा संसारमै दोस्रो धनी देश नेपालमा ६ सयभन्दा बढी नदीनाला छन्, जसमा दृश्यावलोकनसँगै र्‍याफ्टिङ, जलविहार, फिसिङको सम्भावना पनि छ । साहसिक खेलका दृष्टिकोणले पनि नेपालमा पर्यटकहरूका लागि पहिलो रोजाइ हुनसक्छ । बन्जी, रक क्लाइबिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेनियरिङ, अल्ट्रा रनिङ, स्वीङ, क्यानोइङजस्ता साहसिक खेलको आनन्द उठाउन पनि पाइन्छ । 

नेपालको अर्को मुख्य पर्यटकीय आकर्षण भनेको १ सय २९ भन्दा बढी जातजातिको मौलिक संस्कृति, खानपिन पनि हो । जातिगत भाषा, पर्व, खानपिन, पहिरन, वेशभूषाको आकर्षण पनि विशेष छ । नेपालमा घुम्न चाहने स्वदेशी तथा विदेशी पर्यटक आफ्नो रुचिअनुसार यसको मज्जा उठाउन सक्छन् । चाहे त्यो सगरमाथा आरोहणको एड्भेन्चर्स होस्, चाहे त्यो चितवनको जंगल सफारी ।आन्तरिक तथा बाह्य पर्यटकले मनोरन्जन लिन सक्ने एकसे एक विकल्पहरू नेपालमा छन् । 

स्वर्ण सम्पदा 

‘सभ्य युरोपियन नगर’ का रूपमा काठमाडौंलाई लुच्यानो पेतेकले सम्पादन गरेको पुरानो किताब ‘तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरू’मा उल्लेख गरिएको छ । अंग्रेज चिकित्सक हेनरी वल्र्डफिल्ड काठमाडौंको कलासम्पदाबाट यति प्रभावित भएकी उनले हातैले यहाँका कलाकृतिलाई पेन्टिङमार्फत उतारे । 

यसबाट के थाहा हुन्छ भने परापूर्वकालदेखि नै काष्ठकला, मूर्तिकलाका दृष्टिकोणले काठमाडौं उपत्यका संसारकै अद्वितीय ठाउँ हो । विदेशीहरूको आँखामा यहाँका कलाकृति र सम्पदाहरू लिच्छविकालदेखि नै पर्न थालेको इतिहासविद् एकराम महर्जन बताउँछन् । उनकाअनुसार त्यो क्रम मल्लकाल, शाहकाल, राणाकाल हुँदै अहिलेसम्म पनि जारी छ । ‘नेपालका सम्पदामा विदेशीको निकै आकर्षण छ,’ उनी भन्छन्, ‘नेपाली नयाँ पुस्तालाई आकर्षित गर्न र विदेशीमाझ थप चिनाउनका लागि यसको इतिहास र कथासमेत उल्लेख गरेर प्रचार–प्रसार गर्न सक्नुपर्छ ।’ 

प्यागोडा शैलीमा निर्माण गरिएको भक्तपुरको पाँचतले दरबार, मल्लकालमा शिखर शैलीमा बनाइएको पाटनको कृष्ण मन्दिर, महाबौद्ध मन्दिर, लिच्छविकालीनकाष्ठमण्डप, चाँगुनारायण मन्दिर, बूढानीलकण्ठको विष्णुको मूर्ति, हनुमानढोकाको कालभैरव विशेष पुरातात्त्विक महत्त्वका सम्पदा मानिन्छन् । ‘लिच्छविकालमा भव्यताका दृष्टिले निर्माण भएको देखिन्छ,’ महर्जन थप्छन्, ‘मल्लकालमा निर्माण भएका वस्तुहरूमा धेरै बुट्टा प्रयोग गरेको पाइन्छ ।’ माटो, काठ र धातु हुँदै सभ्यताको क्रमसँगै निर्माणका कामहरू भएको पाइन्छ । अहिले पनि माटोबाट निर्माण भएका महांकाल, संकटा, बुद्धविहारजस्ता सम्पदा नेपालमा छन् । काठबाट निर्माण भएका थुप्रै संचरना अहिले पनि भेटिन्छन् । 

भक्तपुर दरबार, पाटन दरबार, हनुमानढोका दरबार, गोरखा दरबार तथा नुवाकोटमा रहेका दरबारहरू पनि पुरातात्त्विक र ऐतिहासिक महत्त्वका क्षेत्र हुन् । पशुपतिनाथ, तलेजु भगवती, बौद्धनाथ, जानकी मन्दिर, बुद्धको जन्मस्थल लुम्बिनीलगायतका देशभर सयौं ठूला–साना धार्मिक गन्तव्यहरू नेपालमा छन्, जसले अझै उचित प्रसार–प्रसार पाउन सकेका छैनन् । अझ अर्को रोचक पक्ष के छ भने नेपालका मन्दिरका टुँडालहरूमा कुदिएका यौन जीवन झल्काउने कलाकृतिका अनेकन सन्देशहरू छन्, जसलाई हामीले अहिलेसम्म पर्यटकहरूमाझ चिनाउन सकेका छैनौं । 

सांस्कृतिक दृष्टिकोण पनि नेपालमा थुप्रै विविधता पाइन्छन् । पुरानो जनजीवन र इतिहाससँग जोडिएका र लामो समयदेखि प्रचलनमा रहेका चाडपर्वहरूमध्ये अधिकांश काठमाडौंमा छन्, जसमा हिन्दू राजसंस्थासँग जोडिएको पर्व इन्द्रजात्रालाई आकर्षक सांस्कृतिक पर्व मानिन्छ । यस्तै, बिस्केट जात्रा, पाटनको झ्यालिचा प्या ख पनि पनि हेर्न ऐतिहासिक सांस्कृतिक सम्पदाहरू हुन् । 

गहना–संगीत र नृत्य

सयथरी बाजा एउटै ताल

सयथरी गोडा एउटै चाल 

मदनकृष्ण श्रेष्ठ र तारा थापाको स्वरमा दुर्गालाल श्रेष्ठले रचना गरेको गीतमा भनिएझैं नेपालमा सयथरी बाजा, संगीत र नृत्यहरू विद्यमान छन् । ६० हजारभन्दा बढी भाका, १सय २५ प्रकारका तालबोल, १३ सय बढी बाजा । हरेक बाजाको तालबोल गाउँपिच्छे भिन्नता । यसैले नेपाली समाजको गहना–संगीत र नृत्यमा रहेको विविधता दर्साउँछ । 

‘संगीतको मुख्य रुट हामीकहाँ नै छन्, हामीकहाँ भएका तालबोलहरू विश्वभर प्रसार भएका छन्,’ लोकबाजा संग्रहालयका अध्यक्ष रामप्रसाद खनाल भन्छन्, ‘मुर्चुङ्गा हाम्रो आदिम बाजा हो, त्रिशूल, ओम अक्षर, शिवलिङ्ग र मुर्चुङ्गा एउटै हो । साइबेरियामा पनि मुर्चुङ्गा छ, अर्जेन्टिनामा पनि छ ।’ चेतनालहरमा फैलिएर हजारौं वर्षमा त्यो त्यहाँ पुगेको उनको भनाइ छ । नेपालमा भारद्वाज नामक चराको आवाज सुनेर भरतमुनिले १ सय २५ प्रकारका तालबोलहरूको विकास गरेको उनी बताउँछन् । 

चाडपर्व, जाति, रीतिरिवाज, ऋतुअनुसार नेपालमा गीतका भाका, बोल, बाजा र संगीतमा पनि उत्तिकै फरकपन भेटिन्छ । ‘नेपाल संसारभरको फोक म्युजिकको फाउन्टेन हो,’ खनाल थप्छन्, ‘आधा संसारको संगीत एकातिर होला तर पूरै हामीतिर छ ।’ बाजा बजाएर उपचार गर्ने सम्भवत: नेपाल विरलै देशमा पर्छ । यहाँको चर्चित पञ्चैबाजाको सम्बन्ध शरीरका पञ्चतत्त्वसँग रहेको संगीत विश्लेषकहरू बताउँछन् । ट्यामका पृथ्वी तत्त्व, दमाहा जल तत्त्व, झुर्मा अग्नि, ढलकी वायु, सनई/नरसिंहा आकाश तत्त्वको प्रतीक भएको उनीहरूको मत छ । 

पञ्चैबाजाजस्तो संगीतको सेट विश्वमा कहीँ पनि नभएको खनालको दाबी छ । खनाल म्युजिकलाई टुरिज्मका रूपमा लाने सम्भावना बढेको बताउँदै यति ठूलो चीज विश्वका सांगीतिक पर्यटनका लागि केही हुँदैन । सरोकारवाला निकायहरू हिमाल बेच्नै केन्द्रित रहेको गुनासो पनि उनको छ । ‘अहिले हिमालमा हिउँ छ, हिमाल बेचिरहेका छन्,’ उनी आक्रोश पोख्छन्, ‘३०–३५ वर्षपछि हिमालमा हिउँ रहँदैन, अनि के बेच्छन् ?तराईमा वाइल्ड लाइफमा त्यत्रो पैसा खन्याइएको छ, त्यसबाहेक नयाँ मेनु केही छैन ।’ सांगीतिक पर्यटन सुरु गरेमा नेपाल गुरु हुन सक्ने सम्भावना आफूले देखेको उनी दाबी गर्छन् । संगीतको मेनु अनलिमिटेड भएकाले संगीत सिकाउने सक्ने सबैभन्दा ठूलो सम्भावना नेपालमा देखिन्छ । 

संगीतझै नृत्यमा पनि नेपाल उत्तिकै धनी छ । नेपालमा ३ हजारभन्दा बढी लोकनाच छन् । देशभर छरिएर रहेका यस्ता नृत्यहरू जाति, क्षेत्र, भूगोलअनुसार फरक–फरक पहिरन, वेशभूषा र तालमा प्रचलनमा छन् । मगर जातिको टप्पा, थारुको झुमरादेखि लोकनाच मानिने सोरठीसम्मका अनेकन् नाचहरूले मनै लोभ्याउँछन् । मिथिलाको नटुआ, शेर्पाको फुटुक, मुसहर र दुसाधको सलहेसजस्ता जाति र क्षेत्रपिच्छे प्रचलनमा रहेका थुप्रै नृत्य छन् । घिन्ताङ नाच, महाकाली नाच, छलिया, डेउडा, सेब्रु, धान नाच, रोदी नाचजस्ता असंख्य नाचहरू सुरतालसँगै पहिरनका दृष्टिकोणले आँखामा विविधता झल्काउँछन् । काठमाडौंको हरिसिद्धि नाच, नवदुर्गा, तान्त्रिक, लाखे नाच पनि उत्यकाका हेर्न लायक नाचहरूमा पर्छन् । 

समृद्ध स्वाद 

नेपालको खाना अरू देशको जस्तो खानापानमा पर्दैन । नेपालका केही खाना साझा देखिएपनि जातजातिका विभिन्न खानामा उनीहरूको संस्कृति लुकेको हुन्छ भने उनीहरूले आफ्नो खानालाई कृषि, मौसम र भौगोलिक अवस्थालाई जोडेर बनाउने गरेका हुन्छन् । 

कृषि तथा खाद्य सुरक्षाविज्ञ यमुना घले भन्छिन्, ‘साउन १५ गते खाइने खीर होस् वा असार १५ मा खाने दहीचिउरा, माघ १ गते माघेसंक्रान्ति मनाउँदै खानेघिउ, चाकु, तिलको लड्डु नै किन नहोस् । यी सबै खानामा कृषि, मौसम र भौगोलिक अवस्थालाई मनन गरेरै तयार पारिएको हुन्छ ।’ नेवार समुदायमा खुवाइने ‘लपते भो’कै कुरा गरौं, उनीहरूले भोजको बेला पस्किने परिकारमा यति धेरै विविधता हुन्छ कि यसलाई व्यवस्थित ढंगले नखाने हो भने मानिसले पचाउनै सक्दैनन् ।

तर, उनीहरूले उक्त भोजमा खानालाई यसरी पस्किन्छन् कि नेवारी भोज खाएपछि अपच हुने समस्या धेरै कम हुन्छ । यस्तै थकाली खानालाई पनि लिन सकिन्छ । उनीहरूले बनाउने खाना मूलत: चिसो क्षेत्रमा रुचाइने दालभात तरकारीकै खाना हो । अरु जातजातिले पनि यही परिकार बढी खान्छन् तर थकाली खानाको स्वाद भने किन फरक हुन्छ भने यसको निर्माणमा उनीहरूले आफ्नो परम्परागत सीप, कला र स्वादलाई व्यवस्थित ढंगले प्रस्तुत गर्न सक्छन् । 

नेपालको खानपिनले पनि स्वदेशी होस् वा विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने धेरै सम्भावना देखिन्छ । हामी कहाँ रैथाले स्वादहरूलाई ब्रान्डिङ गर्न नसकेकै कारण धेरै परिकार लोपोन्मुख अवस्थामा पुगेका छन् । नेवारी खानाकै कुरा गर्दा कुनै एक जनावरबाट सबैभन्दा धेरै परिकार कसैले बनाउन जानेको छ भने त्यो नेवार समुदाय नै हो । नेवार समुदायमा राँगाको मासु म्ये लाबाट ६४ किसिमको परिकार बन्छ भनिन्छ । यो संख्या पहिला अझ धेरै थियो अहिले कतिपय परिकार लोप भइसके । अहिले राँगाको मासुका विभिन्न परिकारमा चार–पाँचवटा स्वादले मात्र नेपालीहरूको मन जित्न सकेको छ । 

यस्तै किराँत समुदायका बासिन्दाले धेरै अघिदेखि जाडो महिनामा ज्यान तताउन र चिसो भगाउन कुखुराको मासुको बाचिपा बनाएर खान्छन् । कुखुरालाई प्वाँखसहित आँगोमा पोलेर त्यसको खरानीलाई भातमा मिसाएर बनाइने यो परिकारले पनि आफ्नो समुदाय र सिमा क्षेत्र पार गरेर आफ्नो स्वादलाई फैलाउन सकेको छैन ।

नेपालमा अहिले १ सय २९ जातिहरू रहेका छन् । सबै जातिको आ–आफ्नै मौलिक परिकारहरू रहेका छन् । ती खानालाई हामीले व्यवस्थित ढंगले स्वदेशी र विदेशीलाई पस्किने हो भने नेपाल खानपिनका लागि अर्को पर्यटकीय गन्तव्य हुन सक्ने घले बताउँछिन् । ‘हाम्रो सबै खानाहरू भौगोलिक अवस्था, मौसक, कृषि उपजसँग जोडिएको त छ नै, यसका अतिरिक्त स्वादमा पनि विविधता रहेको छ,’ उनी भन्छिन्,‘हिमाली क्षेत्रमा न्यानो हुने परिकारको बोलवाला छ भने पहाडमा मिश्रित र तराईमा गर्मीलाई भगाउने किसिमको छ ।’ योवाहेक हामी अन्नको उब्जाउअनुसार पनि परिकारहरू बनाउने गर्छौं । अहिले हामी प्रदेशको अवधारणामा गएका कारण अब स्थानीय सरकारले पनि खानपिनलाई पर्यटक आकर्षणको माध्यम बनाउन सक्नुपर्ने घलेको मत छ । उनका अनुसार यस्ता कार्यले स्थानीय परिकारहरूको संरक्षण हुन्छ नै भने पर्यटकहरू पनि आकर्षित हुन्छन् । 

पछिल्लो पटक केही स्थानीय खानाहरूको रेस्टुराँ खोलिनु पनि नेपाली खानाप्रति आकर्षण रहेको देखिन्छ । स्थानिय परिकारको रुपमा रहेको भक्का, चुकौनी, मकैका परिकार, हाँसको छोएला, थकाली खानाप्रति खानाका पारखीहरू झुम्मिनु नेपाली खानले विस्तारै बजारीकरण गरेको देखिन्छ । यो बजारीकरण नेपाल भित्र बढ्नु त छ नै, विदेशी बजारको डाइनिङ टेबलमा देखिनुपर्ने अवश्यता पनि रहेको छ किनभने कान्तिपुरका राजा गुणकामदेवले दसौं शताब्दीमा इन्द्रजात्रा सुरु गर्दा, उपत्यकावासीले भैरवको मुखबाट निस्कने ठोलाई प्रसादका रूपमा पिउँदै उल्लास मनाउँदा सायद अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका कतिपय मदिराको आविष्कार नै भएको थिएन । नेपालको प्राचीन मदिराका रूपमा रहेको ठो र ऐलाले काठमाडौं उपत्यका पार गरेर आफ्नो स्वाद विस्तार गर्न अझै सकेको छैन । तर, ठोभन्दा पछि आएको बियरमा भने उही उपत्यकावासी सेप्टेम्बर महिनामा मनाइने अक्टोबर फेस्टमा पिउँदै रमाउने गर्छन् ।

 

प्रकाशित :पुस ११, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×