साप्ताहिक संवाददाता
२० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यसहित अगाडि सारिएको भ्रमण वर्ष–२०२० को तयारी कसरी गरिँदैछ ? नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्य तयारी अन्तिम चरणमा पुगेका बताउँछन् । २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यले घोषणा गरिएको भ्रमण वर्षको उद्घाटन जनवरी १ मा दशरथ रंगशालामा हुँदैछ । ‘यतिबेला त्यसैको तयारीमा जुटेका छौं,’ वैद्य भन्छन्, ‘नेपाल भ्रमण वर्ष त बार्है महिना चल्ने कुरा हो, त्यसैले हामी अहिले यसको प्रचार–प्रसार र उद्घाटन समारोहको कार्यक्रम व्यवस्थापनतर्फ बढी केन्द्रित भएका छौं ।’
‘लाइफटाइम एक्सपिरियन्स नेपाल’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको नेपाल भ्रमण वर्षमा आउने पर्यटकलाई कसरी लाइफटाइम एक्सपिरियन्स दिन सकिन्छ भन्नेमै यसको सफलता निर्भर हुनेछ ।
नेपाल भित्रिने विदेशी पर्यटकमा पर्ने प्रभाव र त्यसबाट निर्माण हुने उनीहरूको दृष्टिकोण पर्यटनको भविष्यका लागि पनि महत्त्वपूर्ण हुनेछ । आगमनको पहिलो बिन्दु एयरपोर्टबाटै यसका लागि सुधारका कामहरू थालिएको वैद्य बताउँछन् । अध्यागमन विभाग र गृह मन्त्रालयसँगको सहकार्यमा एयरपोर्टबाट पर्यटकहरू बिनाझन्झट बाहिर निस्कन सक्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ ।
साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन होल्डिङको समस्या पनि त्यत्तिकै छ । त्यो समस्याबाट छुट्कारा पाउन पार्किङ वे बन्दैछ । ब्यागेज काउन्टर पनि थप्ने काम भइरहेको छ । साथै नेपालीपन झल्काउन एयरपार्टमा विभिन्न सम्पदाको तस्बिर राखिएको छ ।
पर्यटकलाई सहज बनाउन भौतिक पूर्वाधार, सडक, खानेपानी, होटल आदिको राम्रो सुविधा हुनु आवश्यक हुन्छ । यद्यपि अहिले विस्तारका नाममा भत्किएका सडकको समयमै काम सम्पन्न नहुँदा यसको प्रत्यक्ष प्रभाव नेपाल भ्रमण वर्षमा पर्न सक्छ । साथै, पर्यटक पुग्ने अधिकांश ठाउँमा खानेपानी, शौचालयको पनि राम्रो व्यवस्था छैन । यतातर्फ सरकारको राम्रो ध्यान नपुग्दा पर्यटकमा नराम्रो सन्देश जान सक्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका अनुसार,सडकहरू छिटोभन्दा छिटो सम्पन्न गर्न र अन्य भौतिक पूर्वाधारहरू पनि समयमै सम्पन्न गर्न सम्बन्धित पक्षसँग छलफल भइसकेको छ । पर्यटकलाई सातै प्रदेशमा पुर्याउनक त्यहाँका सम्भावनाको अध्ययन गरिएको छ र सातै प्रदेशमा पर्यटक आकर्षित गर्ने कार्यक्रम आयोजना गरिने नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयले जनाएको छ ।
२०२० को नोभेम्बरमा प्रदेश ७ र प्रदेश ६ मा कर्णाली नदीमा र्याफ्टिङ गर्ने कार्यक्रम बनाइएको छ । अहिलेसम्म संसारमा सबैभन्दा लामो र्याफ्टिङ १ सय ८० किलोमिटरसम्म छ, जुन अमेजन नदीमा भएको थियो । तर, कर्णाली नदीमा भने २ सय किलोमिटरको र्याफ्टिङ गरेर विश्व कीर्तिमान बनाउने लक्ष्य राखेको वैद्यले बताए ।
यस्तै, प्रदेश ५ मा बुद्धजयन्तीलाई लक्षित गरी सातदिने कार्यक्रमको आयोजना गरिनेछ । बुद्ध भगवान्को जन्मदिन मनाउने र दुई दिन वल्र्ड बुद्धिस्ट कन्फ्रेन्स हुनेछ । साथै संसारका विभिन्न बुद्धिस्ट मुलुकका मन्त्रीहरूलाई बोलाएर बृहत् कार्यक्रमको आयोजना गरिनेछ । त्यही क्रममा नेपालको सांस्कृतिक र विदेशको सांस्कृतिक कुरा, बुद्ध धर्मसँग सम्बन्धित कुरालाई प्रस्तुत गर्ने कार्यक्रम बनाइएको छ, जसमा नाटक, गीतसंगीत, नृत्यका माध्यमबाट विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुनेछन् । यही क्रममा लुम्बिनी म्याराथन र लुम्बिनी साइक्लिङलगायतका खेलकुद प्रतियोगिता हुनेछन् । प्रदेश ४ मा २०२० डिसेम्बरमा कालीगण्डकीमा माउन्टेन बाइक रेसको आयोजना हुनेछ ।
प्रदेश ३ धार्मिक पर्यटकहरूका लागि उपयुक्त गन्तव्य हो । त्यसैले सरकारले चितवनस्थित देवघाटमा ३ जना शंकराचार्य ल्याउने तयारी गरिरहेको छ । ‘भगवान् शिवजीको महत्त्वपूर्ण मन्दिरहरूको खोजी गरिनेछ,’ वैद्य भन्छन्, ‘त्यसको सर्किट बनाएर धार्मिक पर्यटकलाई त्यतातर्फ जान उत्प्रेरित गरिनेछ ।’
यस्तै प्रदेश २ मा जनकपुरमा हुने विवाहपञ्चमीलाई लक्षित गरी अयोध्याबाट एक समूह ल्याएर सात दिनसम्म विभिन्न कार्यक्रम गरिँदैछ । साथै अयोध्या भर्सेस जनकपुरबीच महिला फुटबल प्रतियोगिता हुनेछ । प्रदेश १ मा अहिलेसम्म सगरमाथा आरोहण गर्नेहरूलाई नेपालमा निम्त्याएर समिटर समिट र क्लाइमेट चेन्जको विषयमा कार्यक्रम गर्ने योजना रहेको वैद्यले जनाए ।
नेपाल भ्रमण वर्षलाई सफल बनाउन विभिन्न निजी कम्पनीले विभिन्न अफर अघि सारेका छन् । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)ले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकका लािग विभिन्न गतिविधि अघि बढाइरहेको छ । ‘सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिरहँदा हाम्रा मेम्बर एजेन्सीमार्फत हामीले ८ लाखभन्दा बढी पर्यटक ल्याउनका लागि मेम्बर एजेन्सीलाई अनुरोध गरेका छौं,’ टानका अध्यक्ष खुमबहादुर सुवेदी भन्छन्, ‘भ्रमण वर्षमा पर्यटक आउनका लागि थप उत्प्रेरित हुन् भन्ने उद्देश्यले टानले २० प्रतिशत छुट गर्न मेम्बर एजेन्सीलाई निर्देशन दिएका छौं ।’ टानअन्तर्गत हिमाल चढाउने र पदयात्रासम्बन्धी काम गर्ने १७ सयभन्दा बढी ट्रेकिङ एजेन्सी आबद्ध छन् । टानले पोखरामा एडभेन्चर मार्टको आयोजना गर्नेछ भने जनवरी र फेब्रुअरीमा आफ्ना एजेन्सीमार्फत आएका पर्यटकलाई नेवारी लट्के भोजको आयोजना गर्नेछ, जसका लागि पर्यटकले टिकट लिएर टानले तोकेको ठाउँमा गएर उक्त खान सक्नेछन् ।
यस्तै होटल संघ नेपाल (हान) ले पनि भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकका लागि विभिन्न प्याकेज अघि सारेको छ । होटल संघ नेपालले नेपाल भ्रमणका लागि आएका पर्यटकलाई प्रिन्टेड ट्यारिफ रेटमा ३० प्रतिशत र फुड एन्ड बेभरेजमा १५ प्रतिशत छुटको घोषणा गरिएको होटल संघ नेपालका प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महतले बताए । ‘हानकै नेतृत्वमा केही समयअघि बैंककमा एसियाका राजदूतहरूको सहभागितामा नेपालमा माइस टुरिज्मको विकास गर्ने विषयमा एउटा कार्यक्रम गर्यौं,’ महत भन्छन्, ‘हामीले भिजिट नेपाल र टानसँगको सहकार्यमा एयरपोर्टमा भएका स्टाफहरूलाई हस्पिटालिटीको ट्रेनिङ दिँदैछौं । यसले पर्यटकको स्वागत–सत्कारमा थप टेवा पुग्ने विश्वास लिएका छौं ।’
स्पोर्ट्स टुरिज्म इन नेपाल, माइस टुरिज्म इन नेपाल, कल्चरल हेरिटेज टुरिज्म इन नेपाल, माउन्टेनियरिङ इन नेपाल, वाइल्डलाइफ टुरिज्म इन नेपाल लगायतमा यो भ्रमण वर्ष केन्द्रित भएका छन् । यसैगरी रेस्टुरेन्ट एन्ड बार एसोसियसन, उद्योग वाणिज्य महासंघ, सीएनआई, नेपाल चेम्बर अफ कमर्स, रेडक्रस सोसाइटी, रोटरी, लायन्स क्लबलगायतका संस्थाहरूसँग भिजिट नेपाल–२०२० का लागि सरकारसँग हातेमालो गर्दैछन् ।
सरकारले विभिन्न एयरलाइन्ससँग यसको पब्लिसिटीका लागि सम्झौता गरेको छ, जसमध्ये टर्किस एयरलाइन्ससँग नेपाललाई युरोपमा प्रमोशन गर्ने र विश्वका विभिन्न देशबाट नेपाल आउन चाहने पत्रकार, चर्चित व्यक्तिहरूलाई टिकटमा केही सहुलियत गरिदने सहमति गरेको छ । मलेसिया एयरलाइन्स, सिंगापुर एयरलाइन्स, कतार एयरलाइन्स, फ्लाइ दुबई एयर, नेपाल एयरलाइन्सलगायतका एयरलाइन्ससँग पनि यस्तै खाले सहमति भएका छन् ।
फितलो समन्वय
आदित्य बराल, पूर्व वरिष्ठ निर्देशक, नेपाल पर्यटन बोर्ड
नेपाल भ्रमण वर्ष–२०२० मा समन्वय र अपनत्व फितलो भएजस्तो लाग्छ । अघिल्ला भ्रमण वर्षहरूमा राष्ट्रपतिदेखि किन्डरगार्डेन स्कुलसम्म एकै ठाउँ बाँधिएर सबैले अपनत्व लिन ऊर्जा दिएको थियो, तर यसपालिको भिजिट नेपालमा भने यो कुरा खड्किएको छ । यसमा सरकार, वायुसेवा, निजी क्षेत्रहरूसँग जसरी समन्वय हुनुपर्ने हो त्यो भएको छैन । पहिलाको तुलनामा यसपालिको भ्रमण वर्षमा स्रोतसाधनको पनि कम छ । नेपाल भ्रमण वर्ष मनाउनका लागि त नेपाल भित्रबाटै पर्यटक जेनेरेट हुने होइन । पर्यटक ल्याउनका लागि त विदेशमै जानुपर्छ । विदेशमा भएका जति पनि डिप्लोम्याटिक एजेन्सीहरू छन् । ती निकायहरूलाई मोबिलाइज गर्न पैसा खर्चनुपर्छ, तर परराष्ट्रबाट जति इकोनोमिक डिप्लोमेसीअन्तर्गत गयो त्यसको केही अंशमात्र मोबिलाइज भएको देखियो । भिजिट नेपाल भनेर प्रचारप्रसार गर्नुपर्ने कुरामा अलि पछाडि परेको हो कि जस्तो लाग्छ ।
यो सँगै पर्यटन प्रवद्र्धनका लागि नेपालमा भएका पूर्वाधारहरूलाई तयारी अवस्थामा राख्ने, झन्डै २५ प्रतिशत दोहोर्याएर आउने पर्यटकहरूलाई नयाँपन के दिने ? चितवन, पोखरा, काठमाडौंमा मात्र केन्द्रित पर्यटकलाई सातै प्रदेशमा कसरी फैलाउने ? भन्ने कुराहरू ठूलो चुनौतीका रूपमा देखा परेका छन् । हामीसँग भएका पूर्वाधारहरू निकै कमजोर अवस्थामा छन् । यस्तो अवस्थामा सरकारले नयाँ लगानीका क्षेत्रहरूमा लिबरल पोलिसी ल्याइदिने र एयरलाइन्सहरूलाई अलि बढी सशक्तीकरण गरी नागरिक उड्डयन, पर्यटन बोर्ड, नेपाल एयरलाइन्ससँग समन्वय राम्रोसँग भैदिएको भए धेरैभन्दा धेरै पर्यटक ल्याउन सहज हुन्थ्यो । अहिले त नेपाल एयरलाइन्स एकातिर, पर्यटन बोर्ड एकातिर र सरकार अर्कातिर भएर समन्वयको अभाव देखिएको छ ।
(कुराकानीमा आधारित)