भ्रमण वर्ष, २०२० नजिकिँदै जाँदा संस्कृति, उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईको व्यस्तता बढेको छ । भ्रमण वर्ष लक्षित कार्यक्रम, बैठकहरूमा उनी बिहानदेखि बेलुकासम्म व्यस्त हुन्छन् । गत बुधबार अपरान्ह अति व्यस्तताका बीच साप्ताहिकका महेश तिमिल्सिनाले भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश :
नेपाल भ्रमण वर्ष–२०२० मा विदेशी पाहुनालाई कसरी स्वागत गरिँदैछ ?
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा सन् २०१७ मै गरेको हो । घोषणा गरिरहँदा यसका केही निश्चित उद्देश्य थिए । त्यो मध्ये २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने, पर्यटन क्षेत्रका केही प्रमुख पूर्वाधारका काम पूरा गर्ने उद्देश्य थियो । साथै नेपालको अर्थतन्त्रको एउटा प्रमुख आधार पर्यटन हो भन्ने कुरालाई देशभित्र स्थापित गर्ने र त्यही अनुसारको नीति कार्यक्रम बनाउने पनि यसको लक्ष्य थियो । त्यही उद्देश्यलाई सफल बनाउन हामी भ्रमण वर्ष २०२० को तयारीमा जुटिरहेका छौं ।
विषेशगरी पूर्वाधारको कुरा गर्दा हवाई र सडकको कुरा आउँछ । यसपछि होटललगायतका अन्य क्षेत्रका कुरा आउँछन् । यतिबेला हामीसँग एउटा मात्र विमानस्थल छ । जसले वार्षिक ७२ लाख यात्रुलाई सेवा दिइरहेको छ । विज्ञहरूको भनाइअनुसार यसको क्षमता वार्षिक ९० लाखभन्दा बढी छैन । यो विमानस्थललाई हामीले जति विस्तार अथवा सिंगारपटार गरे पनि त्यसले दिन सक्ने सेवा भनेको ९० लाख भित्र नै हो । तर अहिले हाम्रो हवाई यात्रा प्रयोग गर्ने यात्रुको संख्या वार्षिक १० प्रतिशतका दरले वृद्धि भैरहेको छ अर्थात् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब एक–दुई वर्षमा ‘स्याचुरेटेड’ हुन्छ । लुम्बिनीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदैछौं, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्दैछ । यी विमानस्थलले काठमाडौंको चापलाई केही हदसम्म सहयोग गर्छन् । तर, यहाँको चापलाई उल्लेख्य मात्रामा यिनीहरूले बोक्न भने सक्दैनन् । किनभने यी विमानस्थलहरू राजधानीभन्दा टाढा छन् । त्यसकारण निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाई हुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।
पर्यटनको विकासका लागि २० लाख पर्यटकमात्र होइन । अब १० वर्षभित्र नेपालको मुख्य पर्यटकीय पूर्वाधारको काम सम्पन्न गर्नुपर्छ र १० वर्षपछि हरेक वर्ष १ करोड पर्यटक आउने वातावरण बनाउनुपर्छ भन्ने हाम्रो सोच रहेको छ । त्यसका लागि पहिलो त एयरपोर्ट नै चाहिन्छ, विदेशी आउने भनेको त एयरपोर्टबाटै हो । त्यसकारण पनि निजगढको अपरिहार्यता देखिरहेका छौं ।
पूर्वाधारको सीमितता, सडकको अवस्था, ट्राफिक जाम, धूवाँधूलो आदि प्रतिकूलता छँदै थिए, अब पर्यटन बोर्ड पनि नेतृत्वविहीन भयो । कसरी सफल होला भ्रमण वर्ष ?
केही कुरामा प्रतिकूलता हुन्छन् त केहीमा अनुकूलता । विगतको तुलनामा एयरपोर्टहरूको स्थिति सुधार भएको छ । हामीसँग ५३ वटा आन्तरिक विमानस्थल छन् । यीमध्ये ३४ वटा विमानस्थलमा हवाई उडान हुन्छ । ती ३४ वटा र बाँकी अरूलाई पनि आधुनिकीकरण गर्ने, बिस्तार गर्ने भनेर हामीले हरेक विमानस्थलमा केही न केही काम गरिरहेका छौं । सडक यातायातका कुरा गर्ने हो भने सडक यातायातको गुणस्तरमाथि प्रश्न गर्न सकिन्छ, तर सडक यातायातको पहुँच त हिजोभन्दा आज बढेको छ ।
सडकको गुणस्तर पनि सधैं यही अवस्थामा रहँदैन । सरकारले सडक पूर्वाधारमा विशेष जोड दिएको छ र बजेटको ठूलो हिस्सा लगानी नै सडकमा गरेको छ । त्यसैले आगामी केही वर्षभित्र सडकको स्थिति यो भन्दा धेरै राम्रोसँग सुधार्छौं । हाम्रो कनेक्टिभिटी एक्सेबिलिटी पनि बढ्दै जान्छ । अहिले नै पनि चार वटा पूर्व–पश्चिम हाई वे समानान्तर ढंगले काम भैरहेका छन् । हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी पूष्पलाल राजमार्ग । नौ वटा उत्तर दक्षिण राजमार्गमा एकसाथ काम भैरहेका छन् । यसले कनेक्टिभिटीलाई जोड्दै लान्छ र पहुँचलाई बढाउँदै जान्छ । साथै पर्यटन प्रवद्र्धनमा पनि ठूलो भूमिका खेल्छ ।
अलिअलि प्रतिकूलता जहाँ पनि हुन्छन् । त्यसबाट डराउने, भाग्ने, आत्तिने होइन त्यसलाई सामना गर्ने र अनुकूलतामा बदल्ने हो । करिब ५/६ महिना जति मन्त्रालयको राजनीतिक नेतृत्व खाली भयो । जसले गर्दा यसको तयारी जुन उचाइमा पुग्नुपर्थ्र्यो । त्यसले केही समस्या भयो होला । म आइसकेपछि पनि केही समय बुझ्नै समय लाग्यो । त्यसले पनि मैले जुन स्पिड लिनुपर्थ्र्यो त्यो लिन सकिन होला । जिम्मेवारी भन्ने कुरा त अविच्छिन्न हुन्छ । म नभए पनि मन्त्रालय हुन्छ । यहाँ कर्मचारी तथा विभिन्न निकाय छन् । साथै भ्रमण वर्षको सचिवालयले पनि काम गरिरहेको छ । अब अहिले नेपाल पर्यटन बोर्डमा मुख्य कार्यकारी निर्देशकको समय सकियो । त्यो त यही बेला सकिएला भन्ने अनुमान गरिएको त थिएन ।
तर, केही कर्मचारीले बोर्डमा काम गर्ने वातावरण छैन भनेर राजीनामा दिए, सचिवालयको काम पनि अपेक्षाकृत सन्तोष गर्न लायक छैन । राजनीतिक हस्तक्षेप भयो भन्ने आरोप पनि छ ? के भन्नुहुन्छ ?
त्यहाँ कुनै पनि राजनीतिक हस्तक्षेप छैन । त्यहाँ आएका नेतृत्वलाई हेर्ने हो भने उहाँहरू कुनै राजनीतिमा संलग्न भएको व्यक्ति होइन । राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा आफ्नो व्यावसायिक प्रतिष्ठाबाट नाम कमाएका व्यक्तिहरू नै हुनुहुन्छ । उहाँहरूलाई हाम्रो नियमावली र कार्यविधिले पूर्ण अधिकार दिएको छ । नेपाल पर्यटन बोर्ड भनेको यो पब्लिक प्राइभेट पार्टनरसीप मोडलको संस्था हो । त्यसो हुँदा त्यहाँ को सिइओ राख्ने भन्ने कुरा पनि सरकारले नियुक्ति गर्दैन । छनोट समितिबाट प्रतिस्पर्धाका आधारमा नियुक्ति हुन्छ । अहिलेका दीपकराज जोशी पनि प्रतिस्पर्धाबाटै आउनुभएको हो । अब आउने व्यक्तित्व पनि त्यही प्रक्रियाबाट आउनुहुन्छ ।
नेपाल घुम्न आउने पर्यटकका लागि विशेष प्याकेज के छन् ?
सन् २०२० लाई विशेष भ्रमण वर्ष भनिसकेपछि हामीले विदेशीहरूलाई आकर्षण गर्न केही न केही प्याकेज दिनुपर्छ । त्यसको हामीले तयारी गरेका छौं । यो निजी क्षेत्र र सरकारी क्षेत्र दुवैबाट हुन्छ । सरकारी क्षेत्रबाट पनि केही प्याकेजहरूको हामी अन्तिम निष्कर्षमा पुगेका छौं । जस्तो, अहिलेसम्म आरोहण गर्न अनुमति नदिएका हिमाललाई यो अवसरमा आरोहणको अनुमति दिने । त्यस्ता केही हिमालहरू खोल्दैछौं । हिमाल आरोहणका लागि लाग्ने रोयल्टीमा केही हदसम्म छुट दिने कुराको अन्तिम तयारीमा पुगेका छौं । क्याबिनेटबाट अब केही दिनभित्रमा त्यसको घोषणा गर्छौं । त्यस्तै, विभिन्न राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दा अथवा प्रतिबन्ध लगाइएका स्थानहरूमा प्रवेश गर्दा केही निश्चित शुल्क तिर्नुपर्छ । त्यो शुल्कलाई पनि केही मात्रामा घटाउन गृहकार्य गरिरहेका छौं । त्यो पनि सरकारको तर्फबाट घोषणा हुन्छ । निजी क्षेत्रको तर्फबाट होटल संघ, ट्रेकिङ, ट्राभल, होमस्टेका विभिन्न संघसस्थाहरूले आफ्नो छुट घोषणा गर्नुभएको छ । यस्तै वायुसेवा सञ्चालकका साथीहरूले भ्रमण वर्षको अवसरमा आन्तरिक उडानमा केही छुट गर्छौं भन्नुभएको छ । यसरी सरकारी र निजी क्षेत्रबाट प्रदान गरिएका प्याकेजलाई एकीकृत गरेर एक–दुई दिनभित्रै घोषणा गर्छौं ।
भ्रमण वर्षलाई जोड्दै गर्दा चाइना मार्केटलाई बढी हेरिएको जस्तो देखिन्छ, हाम्रो प्राथमिकता कहाँ–कहाँ हो ?
हामीले १० वटा मार्केटलाई टार्गेट गरिरहेका छौं । नेपालमा पर्यटक आउने सबैभन्दा बढी मार्केट तिनै हुन् । विश्वका सबै मुलुकमा हाम्रो प्रचार–प्रसार हुन्छ नै तर विशेष ध्यान १० वटा मुलुकमा दिन्छौं । हाम्रो मिडिया फोकसदेखि लिएर जनशक्ति परिचालन पनि बढी त्यहीँ गर्छौं । ती मुलुकमा अवश्य पनि चीन, भारत, जापान, बेलायत, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्डलगायतका मुलुकहरू आउँछन् । ती मुलुकमा नै हाम्रो बढी फोकस हुन्छ । तीमध्ये कतिपय देशहरू जो हिमाल आरोहण, ट्रेकिङतिर बढी आकर्षित देखिन्छन् । कतिपय बन्जी जम्प, प्याराग्लाइडिङतिर आकर्षित छन् भने कतिपय धार्मिक, सांस्कृतिक क्षेत्रमा आकर्षित छन् । यी दस वटा मार्केटमा जुन–जुन क्यारेक्टरका पर्यटकहरू नेपालमा आउन सक्छन् । उनीहरूलाई सहज बनाउने बातावरण गर्छौं ।
भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल ल्याउने भनिरहेका छौं । संख्या बढाउने कुरालाई बढी प्राथमिकता दिन्छौं कि पाहुनालाई गुणस्तरीय खालको सत्कार गर्ने कुरामा ?
संख्या आफ्नो ठाउँमा छ । २० लाखको ठाउँमा २२ लाख पनि पुग्न सक्ला अथवा १९ लाखमात्र पनि हुन सक्ला । तर यो २०२० को महत्वपूर्ण लक्ष्य के हो भने नेपाल सरकार, निजी क्षेत्र र सम्पूर्ण पक्षमा पर्यटन सम्बन्धमा आत्मविश्वास जगाउने सबैभन्दा ठूलो लक्ष्य हो । मलाई विश्वास छ, २०२० को अन्त्यमा पुग्दा नेपालको आत्मविश्वासको लेभल बढ्छ । पछिल्ला केही घटनाले पनि आत्मविश्वास बढ्दै गएको छ । दक्षिण एसियाली खेलकुदको व्यवस्थापनले हाम्रो आत्मविश्वास बढाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङलगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय व्यक्तिहरूको भ्रमणका क्रममा भएको सफल व्यवस्थापनले पनि हाम्रो आत्मविश्वास बढेको छ । त्यसैले यो २०२० को पर्यटन प्रवद्र्धनको वर्षले पनि हाम्रो आत्मविश्वास बढाउँछ । त्यही आत्मविश्वासको जगमा टेकेर हामी १० वर्षको नेपालको पर्यटन प्रवद्र्धनको नयाँ घोषणाका साथ अघि बढ्छौं ।
छिमेकी देशहरूबाट आएका पर्यटकहरू आपराधिक क्रियाकलापमा संलग्न भएको पाइन्छ, यस्तो खालको सुरक्षा चुनौतीको सम्बोधन कसरी हुन्छ ?
नेपाल भ्रमणमा आएका पर्यटकहरू हाम्रो नीति–नियममा बस्नुपर्छ । त्यो उल्लंघन भयो भने त्यसमाथि निगरानी गर्ने हो । दोस्रो कुरा आएका पर्यटकहरूको सुरक्षाको कुरा हुन्छ । यी दुवै कुरामा सरकारले ध्यान दिन्छ । जस्तै ट्रेकिङ जाने पर्यटकका निम्ति प्रत्येकले एउटा गाइड लानुपर्छ भनेका छौं । हामीले चौबीसै घन्टा पर्यटन बोर्डबाट सूचना लिन्छौं । कुनै पर्यटक आपत्–विपत्मा परे भने हामी आपत्कालीन उद्धार पनि गर्छौं । कोही पर्यटक बिरामी परे भने आपत्कालीन उपचारका लागि सम्बन्धित ठाउँमा लैजान्छौं । यस्तै पर्यटकलाई जुनसुकै समस्या भए पनि हाम्रा जति पनि सरकारी कार्यालय, गैरसरकारी क्षेत्रका संघसस्था मिलेर उनीहरूको सुरक्षामा ध्यान दिन्छौं । नेपाल एउटा शान्ति भूमि हो । त्यसैले कुनै पनि पर्यटक अथवा विदेशीहरूले अर्को देशको विरुद्धमा आपराधिक गतिविधि गर्न पाइँदैन । त्यसैले त्यसलाई हामी कडा निगरानी गर्छौं ।
पर्यटकहरूलाई प्राकृतिक मनोरम देखाएर ठूला व्यापारिक कम्पनी मात्र धनी भए तर स्थानीय तहमा विदेशी पर्यटक पुर्याउन सकिएन किन ?
नेपाल भ्रमण वर्ष २०२० को तयारीको सिलसिलामा मैले सयौं बैठक गरिसकें । यी बैठकहरू गर्दा पर्यटनका सम्बन्धमा जागरुकता बढेको छ । हरेक गाउँपालिकाले पर्यटन प्रबद्र्धनमा आफ्नो बजेटको निश्चित हिस्सा खर्च गर्न थालेका छन् । उनीहरूले काठमाडौं आएका विदेशी पर्यटकहरूलाई आफ्नो ठाउँसम्म कसरी ल्याउने भन्ने कुरा सोचिरहेको देख्छु । त्यो धेरै राम्रो कुरा हो । आज त्यसमा उल्लेख्य प्रगति नभए पनि यसले क्रमश: प्रगतितर्फ लान्छ । पर्यटनका केन्द्र भनेका काठमाडौं, पोखरा, सौराहा, सगरमाथा क्षेत्र, खुम्बु क्षेत्र, अन्नपूर्ण क्षेत्र मात्र होइनन् । देशभरि नै पर्यटनका त्यत्ति नै सम्भावना छन् भनेर २०२० मा स्थापित गर्छौं ।
वाइल्ड लाइफ र ल्यान्डस्केपमा मात्र प्राथमिकता दिइरहेको देखिन्छ, अन्य पर्यटकीय सम्भावनालाई ब्रान्ड बनाउन हामी चुकेका हौं ?
नेपालसँग भएको प्रोडक्ट भनेको एकातिर प्रकृति हो भने अर्कातिर संस्कृति पनि हो । यही प्रकृति र संस्कृतिलाई जोडेर लाने हो । त्यसमा पनि पर्यटकको आफ्नै इच्छा हुन्छ । कोही धार्मिक एवं सांस्कृतिक पर्यटक हुन्छन्, उनीहरूको इच्छाअनुसारको घुम्ने प्रबन्ध हामीले मिलाउनुपर्छ । घुम्न जाने ठाउँहरूमा खाने–बस्ने ठाउँ राम्रो होस् भनेर स्थानीय तहहरूसँगको साझेदारीमा होमस्टेको कन्सेप्ट अघि बढाउँदैछौं । सांस्कृतिक सम्पदाहरूको सरसफाइमा स्थानीय तहले जोड दिनुपर्छ भनिरहेका छौं । साथै संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरू, उहाँहरूका भातृसंगठन, जनसंगठनहरूलाई बोलाएर तपाईंहरूको अबको एजेन्डा पर्यटन क्षेत्र हो है भनेको छु । एउटा मनोविज्ञान बनाइरहेका छौं ।
मुख्य सहरकै वातावरण पर्यटकमैत्री छैन, जस्तो खानेपानी, शौचालयजस्ता सुविधाको अभाव देखिन्छ यस्तो अभावलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
समस्या चाङका चाङ छन् । यसको मतलब नेपालमा पर्यटनको कुरा उल्टो दिशातिर जान्छ भन्ने होइन । बाटोघाटोको समस्या छ, यो हामी बनाउँदै जान्छौं, सरसफाइको कुरा छ, हिजोभन्दा आज सरसफाइको अवस्था सुदृढ छ, अझै गर्दै जान्छौं । सार्वजनिक ठाउँहरूमा आराम गर्ने ठाउँ छैनन्, शौचालय छैनन् यी सबै कुरा बनाउँछौं ।
दोहोर्याएर नेपाल भ्रमणमा आउने पर्यटकलाई नयाँ स्वाद दिन कस्ता योजना बनेका छन् ?
यसका लागि हामीले नयाँ प्रोडक्टहरू तयार पार्नुपर्छ । प्रदेश र स्थानीय तहसँग हिजोको जस्तो जताततै बजेट नछरौं, खास उपलब्धि हुने ठाउँमा बजेट लगानी गरौं । केन्द्र, प्रदेश र स्थानीय तह मिलेर हरेक प्रदेशमा कमसेकम एक–दुई वर्षभित्रमा पर्यटनका निम्ति ठूला–ठूला प्रोडक्टहरू बढाऔं भन्ने प्रस्ताव गरेका छौं । आउने बजेट, नीति तथा कार्यक्रममा हामी त्यसतर्फ ध्यान दिन्छौं । साथै १० वर्षभित्र हामी अध्ययन मात्र गर्दैनौं । १० वर्ष पर्यटन प्रवद्र्धनका निम्ति पूर्वाधारमा के–के काम गर्ने ? प्रमोसनमा के–के काम गर्ने ? नयाँ प्रोडक्टहरू कसरी बनाउने ? साझेदारी कसरी गर्ने ? जनचेतना कसरी फैलाउने ? साथै जनशक्तिको निर्माण कसरी गर्ने भन्ने कुरामा जोड दिन्छौं ।
पर्यटकहरूलाई जति भ्रमण लम्ब्यायो उति नै आम्दानी हुन्छ, पर्यटकलाई लामो समय नेपाल टिकाउने योजनाहरू के छन् ?
टिकाउन पनि धेरैभन्दा धेरै प्रोडक्ट चाहिन्छ । साथै सहजताका साथ जाने–आउने कनेक्टिभिटी चाहिन्छ । हाम्रो हस्पिटालिटी नराम्रो छैन । अझै राम्रो गर्ने हो । मूलत: नेपालमा भएका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूले नै उनीहरूलाई टिकाउने हो । त्यसमा मानवीय पक्ष भनेको उहाँहरूलाई गर्ने व्यवहार हो । त्यो व्यवहार हामीले राम्रो गर्यौं भने पर्यटक नटिक्ने कुनै कारण छैन ।
आन्तरिक पर्यटक लक्षित कार्यक्रम कत्तिको चलाइरहेका छौं ?
हामीले बाह्य पर्यटक २० लाख भनिरहँदा आन्तरिक पर्यटकलाई पनि छोड्नु हुँदैन । किनभने नेपालका लागि त्यो पनि महत्वपूर्ण पक्ष हो । त्यसैले नेपाल सरकारका कर्मचारीहरू, निजी क्षेत्रका कर्मचारीहरू सबैलाई वर्षमा एउटा निश्चित दिन देशभित्र घुम्न पठाउनुपर्छ र देशभित्र घुम्नका लागि केही इन्सेन्टिभ दिनुपर्छ भन्ने प्रस्ताव अघि बढाएका छौं ।
भ्रमण वर्षको तयारी पुगेन भनेर निराश भएका व्यवसायीलाई उत्साहित बनाउन तपाईं के भन्नुहुन्छ ?
सरकार अघि लाग्ने हो । त्यसमा उहाँहरूले पछ्याउनुहुन्छ । उहाँहरूलाई पछ्याउनुबाहेक अर्को विकल्प छैन । म त भन्छु, सरकालाई निजी क्षेत्रले जितेर अगाडि जानुपर्छ ।