साप्ताहिक संवाददाता
पत्रकार तथा लेखक राजकुमार दिक्पाल ‘आदिवासी विद्रोहको इतिहास’ लिएर आफ्ना पाठक सामु आएका छन् । यसै साता सार्वजनिक भएको उनको पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला, लेखककी आमा चन्द्रमाया मुदेनछोङ साँवा, प्राज्ञ दिनशेराज पन्त, डा. चैतन्य सुब्बा, डा. कृष्ण भट्टचन, अजम्बर काङमाङ, खगेन्द्र राई लगायतका स्रष्टाले सामुहिक रुपमा लोकार्पण गरेका थिए ।
नेपाली वाङ्मय परिषद् र मञ्जरी प्रकाशनद्वारा प्रज्ञा भवनले आयोजना गरेको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि काइँलाले दिक्पालको पुस्तक प्रकाशन हुनुले हरेक आदिवासीका लागि उदाहरणीय काम भएको विचार व्यक्त गरे । उनले भने, ‘हरेक आदिवासीका आ–आफ्नै इतिहास छन् तर तिनको खोजी ढिलो भइसकेको छ ।’ उनले अगाडी थपे, ‘विद्रोहका मात्र होइन, संस्कार र संस्कृतिका कुरा पनि इतिहास हुन्छन्, व्यक्तिको पनि इतिहास हुन्छ, अब त्यतातिर ध्यान पुग्नुपर्छ ।’
पुस्तकबारे समीक्षा गर्दै डा. कृष्ण भट्टचनले नेपालमा आदिवासी विद्रोहका इतिहास खोतल्ने प्रयास गरेर लेखकले सम्पूर्ण आदिवासी समुदायमा ठुलो गुन लगाएको बताए । उनले भने, ‘अब इतिहासकारहरूको ध्यान आदिवासी समुदायको इतिहास लेखनतर्फ जानु पर्छ ।’