बोल माया, गलबन्दी लगायत एकपछि अर्को हिट गीत दिएका अहिलेका चर्चित गायक प्रकाश सपुतलाई अब चलचित्रमा समेत देख्न पाइने भएको छ । उनले छिट्टै एक चलचित्रमा काम गर्न लागेको रहस्य बाहिर आएको छ । यो खबर सार्वजनिक भएसँगै सपुतका फ्यान मख्ख भएका छन् ।
२०७२ मा सार्वजनिक भएको लोकप्रिय चलचित्र ‘परदेशी’को दोस्रो सिरिजबाट गायक सपुतले ठुलो पर्दामा डेब्यु गर्न लागेका हुन् । नारायण रायमाझीले निर्देशन गर्न लागेको यो चलचित्रका लागी प्रकाशसँग कागजी सम्झौता भइसकेको छ । उनले मुख्य भुमिकामा काम गर्न लागेको बुझिएको छ । बिदेश पलायन भैरहेका युवाहरुको कथा टपक्क टिपेर चलचित्र निर्माण गर्न खोजिएको यो चलचित्रमा सपुतबाहेक अन्य कलाकारहरुको भने खोजी भैरहेको निर्देशक रायमाझीले बताए ।
गीतसंगीत क्षेत्रमा मात्र होइन् चलचित्र समेत स्थापित नारायण रायमाझीको निर्माण तथा निर्देशन रहेका दुई चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ बक्स अफिसमा निकै रुचाईएका थिए । ‘गोर्खा पल्टन’ २०६७ सालमा प्रदर्शनमा आएको थियो भने ‘परदेशी’ २०७२ सालमा प्रदर्शनमा आएको थियो ।
सामाजिक विषयवस्तुका चलचित्र बनाएर दर्शकको मन जितेका उनि ४ बर्षपछि तेस्रो चलचित्र निर्माणको तयारीमा जुटेका हुन् । उनका यसअगाडीका दुबै चलचित्रमा इण्डियन आइडल प्रशान्त तामाङ मुख्य भूमिकामा थिए । यस चलचित्रमा भने उनी नदोहोरिने पक्का छ । निर्माण टिमले अब छिट्टै चलचित्रको स्क्रिप्ट र कलाकार छनौटको काम सकेपछि चलचित्र घोषणा गर्ने योजना गराएको छ ।
चलचित्र खेल्ने इच्छा सानैदेखि थियो
गायकबाट अभिनेता बन्ने तरखरमा रहेका सपुतले चलचित्रमा काम गर्ने इच्छा सानैदेखि बढेको बताए । उनले भने, ‘यसअघि केहि पटक चलचित्रका अफर आएका थिए । तर, यसपटक कथाले मन छोयो । काम गर्न राजी भएँ ।’ यसअघि उनले केहि गीतमा समेत अभिनय गरेका छन् । स्वर मात्रै होइन, अभिनयमा समेत काम गर्न सक्ने क्षमताका कारण सपुतलाई चलचित्रमा लिइएको निर्माण पक्षले जनाएको छ ।
पेशा होइन रहर हो
गायक सपुतले चलचित्र उद्योग आफ्नो लागी अहिले रहरको विषय मात्रै रहेको स्पष्ट पारेका छन् । भविष्यको कुरा पछि नै थाहा होला, उनले थपे, ‘अहिले म गायन क्षेत्रमा बढि व्यस्त छु । चलचित्र क्षेत्र सानैदेखि मन परेको विषय भएकाले काम गर्ने सोच गराएको हुँ ।’ चलचित्र भनेपछि सानैदेखि हुरुक्क हुने उनी सुरुवाती अवस्थामा जब गाउँमा टेलिभिजन आउन थाले, त्यतिबेला चलचित्रका सिडी किनेर ल्याउथे । फ्याट्ट–फुट्ट टेलिभिजनमा आउने सिरियल र निरन्तर चलचित्र हेर्ने बानी बसेपछि यसरी पर्दामा आउन पाए कस्तो हुन्थ्यो भन्ने भयो, उनले विगत सम्झिए, ‘अरु बेला मात्रै होइन, एकपटक एसएलसी दिइरहेका बेला विचमा शनिवार समेत चलचित्र हेर्न छुटाएनौं ।’ सपुतले जिन्दगीमा पहिलोपटक हेरेको चलचित्र ‘आफ्नो मान्छे’ हो । सिडी किनेर ल्याएपछि ब्लाक एण्ड ह्वाइट टेलिभिजनमा उक्त चलचित्र हेरेको क्षण उनले कहिल्यै बिर्सिएका छैनन् । राजेश हमाल, दिलिप रायमाझी, भुवन केसी र निखिल उप्रेतीका चलचित्र कहिल्यै नछुटाउने सपुत अहिले भने शाहरुख खानका फ्यान हुन् । शाहरुखका चलचित्र आफु जान्ने भएपछि सकेसम्म छुटाएका छैनन् ।
यो चलचित्र मेरो सिकाइ हो
चलचित्र ‘परदेशी २’ आफ्नो लागी महत्वपुर्ण सिकाइ हुने सपुतले अपेक्षा गरेका छन् । यो चलचित्र हिट होला र अहिलेका अभिनेताहरुलाई धमाधम पाखा लगाउँछु भनेर अनुमान समेत गरेको छैन, उनले थपे, ‘अरु हिरो जस्तो व्यवसायिक रुपमा चलचित्रमा काम गर्दिनँ । राम्रो कथामा टिम राम्रो भेटियो भने मात्रै काम गर्छु ।’ खासमा चलचित्र मेरो करिअर होइन, अहिले मैले जसरी गीतमा समेत कन्टेन्ट मिसाएर काम गर्दै आएको छु, त्यसैगरी चलचित्र पाएँ भने मात्रै काम गर्छु, उनले थप खुलाए । मैले चलचित्रमा अभिनय त सुरु गर्दैछु, यो चलचित्र मेरो लागी सिकाई हुनेछ, उनले थपे, ‘त्यसपछि म बिस्तारै चलचित्र निर्माणमा समेत सक्रिय भएर लाग्ने योजना गराएको छु ।’