साप्ताहिक संवाददाता
‘उरी : द सर्जिकल स्ट्राइक’ पछि ‘मणिकर्णिका’, ‘केशरी’ र ‘भारत’ जस्ता बक्स अफिसमा सफल बायोपिक कथाका चलचित्र बने । यो वर्ष धेरै निर्माताको ध्यान बायोपिक चलचित्रमै बढी थियो ।
योवर्ष कतिपय चलचित्रले चलचित्र घरमा दर्शकलाई निकै मनोरञ्जन दिए । सन् २०१९ मा रिलिज भएका कैयौं चलचित्रमध्ये धेरै चलचित्र कोरियन र दक्षिण भारतीय चलचित्रबाट रिमेक गरिएका थिए ।
कार्तिक आर्यन, अनन्या पाण्डे र भूमि पेडनेकर स्टारर चलचित्र ‘पति पत्नी और वो’ गत डिसेम्बर ६ मा रिलिज भएको थियो । यो चलचित्र सन् १९७८ मा बी आर अम्बेडकरले निर्माण गरेको चलचित्र ‘पति–पत्नी और वो’को रिमेक भर्सन हो । तत्कालीन समयमा यो चलचित्रमा संजीव कपुर, विद्या सिन्हा र रंजिता कौर प्रमुख भूमिकामा थिए ।
साहिद कपुर र कियारा आडवाणी स्टारर चलचित्र ‘कवीर सिंह’ जून २१ मा रिलिज भएको थियो । यो चलचित्र सन् २०१७ मा रिलिज विजयदेवराकोंडा स्टारर तेलुगू चलचित्र ‘अर्जुन रेड्डी’को रिमेक हो । चलचित्र ‘कवीर सिंह’ले बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो ।
सन् २०१९ को जून ५ मा रिलिज चलचित्र ‘भारत’ पनि रिमेक चलचित्र हो । सलमान खान, कटरिना कैफ र दिशा पटानी अभिनीत यो चलचित्र कोरियन फिल्म ‘ओड टु माय फादर’को रिमेक हो । कोरियन भर्सनको चलचित्र सन् २०१४ मा कोरियन भाषामा रिलिज भएको थियो, जसलाई अंग्रेजी, जर्मन र भियतनामी भाषामा पनि अनुवाद गरिएको थियो ।
सञ्जय दत्त अभिनीत गत जून २० मा रिलिज चलचित्र ‘प्रस्थानम’ तमिल चलचित्र ‘प्रस्थानम’को हिन्दी रिमेक हो । तमिल चलचित्र ‘प्रस्थानम’ सन् २०१० मा रिलिज भएको थियो । चलचित्रको हिन्दी रिमेकमा सञ्जयसँगै अली फजल, मनीषा कोइराला, जैकी श्राफ र चंकी पाण्डे प्रमुख भूमिकामा थिए ।
नितिन कक्कडद्वारा निर्देशित चलचित्र ‘नोटबुक’ मार्च २९ मा रिलिज भएको थियो । रोमान्टिक फ्लेभरको यो चलचित्र सन् २०१४ मा रिलिज थाई चलचित्र ‘टिचर्स डायरी’को रिमेक हो । चलचित्रमा जहीर इकबाल र प्रनुतन बहलले प्रमुख भूमिकामा अभिनय गरेका थिए । चलचित्रलाई अभिनेता सलमान खानले सहनिर्माण गरेका थिए ।
अमिताभ बच्चन र तापसी पन्नु अभिनीत चलचित्र ‘बद्ला’ एक स्पेनिस भाषाको चलचित्र ‘द इनभिजिबल गेस्ट’को हिन्दी रिमेक हो । यो चलचित्रका हरेक दृश्य ‘द इन्भिजिबल गेस्ट’बाट लिइएको थियो ।
बायोपिकको बाढी
सन् २०१९ मा रिलिज चलचित्रको विषयवस्तुलाई नियाल्दा धेरै चलचित्रले राष्ट्रियता र देशभक्तिको भावलाई प्राथमिकतामा राखेका थिए । चलचित्र ‘उरी : द सर्जिकल स्ट्राइक’को प्रदर्शन भएपश्चात् यसले बक्स अफिसमा गरेको आक्रामक व्यापारपछि धेरै निर्माताको ध्यान वास्तविक र बायोपिक चलचित्र निर्माणतिर मोडियो । त्यसैकारण ‘उरी : द सर्जिकल स्ट्राइक’ पछि ‘मणिकर्णिका’, ‘केशरी’ र ‘भारत’ जस्ता बक्स अफिसमा सफल बायोपिक कथाका चलचित्र बने । यो वर्ष धेरै निर्माताको ध्यान बायोपिक चलचित्रमै बढी थियो । कंगना रणावत स्टारर ‘मणिकर्णिका’ले बायोपिक र देशभक्तिको ट्रेन्डलाई चलचित्रमा प्रस्तुत गरेको थियो । यी चलचित्रबाहेक ‘द एक्सिडेन्टर प्राइम मिनिस्टर’, ‘ठाकरे’, ‘सुपर ३०’ र ‘साढ की आँख’ चलचित्रले पनि बायोपिककै कथा बोकेका थिए ।
बलिउडले सन् २०१९ को सफलताको सुरुवात जनवरी ११ मा रिलिज चलचित्र ‘उरी : द सर्जिकल स्ट्राइक’बाट गर्यो । २५ करोडको लागतमा निर्माण भएको यो चलचित्रले ३ सय ४२ दशमलव ६ करोडको कलेक्सन गरेको थियो । बक्स अफिसमा सुपरहिट हुनुमा चलचित्रमा समेटिएको राष्ट्रवादी विषयवस्तु र भावनालाई प्रमुख कारण मानिएको थियो ।
कंगना रणावत स्टारर ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ पनि ऐतिहासिक कथामा आधारित चलचित्र हो । स्वतन्त्रताको योद्धाका रूपमा चित्रण गरिएकी रानी लक्ष्मी बाइको संघर्षको कथालाई देशभक्तीय भावमा चलचित्रमा प्रस्तुत गरिएको थियो ।
बलिउडमा पछिल्लो समय अभिनेता अक्षय कुमार सामाजिक कथावस्तुका चलचित्रमा रुचाइएका अभिनेतामा पर्छन् । बायोपिक चलचित्रमा उनको उपस्थिति निकै दरिलो मानिन्छ । सन् २०१९ मा रिलिज दुई चलचित्र ‘केशरी’ र ‘मिसन मंगल’ले अक्षयलाई नयाँ चर्चा दियो । यो वर्ष रिलिज अक्षयका अन्य चलचित्रभन्दा यी दुई चलचित्रलाई दर्शकले अधिक रुचाए ।
अर्का अभिनेता जोन अब्राहम पनि सन् २०१९ मा रिलिज चलचित्र ‘बाटला हाउस’ बाट चर्चामा आए । यो चलचित्रमा उनी प्रहरी अधिकृतको भूमिकामा छन् । सन् २००८ को विवादास्पद इन्काउन्टरको कथालाई चलचित्रमा समावेश गरिएको छ ।
गत इदमा रिलिज सलमान खानको चलचित्र ‘भारत’ले राष्ट्रियताका विषयलाई प्राथमिकतामा राखेको थियो । चलचित्रमा दर्शकले भारत–पाकिस्तानको विभाजनदेखि आधुनिक समयसम्मको अवस्था हुँदै स्वतन्त्र भारतको ७२ वर्षको इतिहासलाई चित्रण गरेको थियो ।
त्यस्तै राजनीतिक बायोपिक ‘ठाकरे’ र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ले पनि बलिउडमा चर्चा पायो । शिवसेनाका प्रमुख बाल ठाकरेको जीवनीमा आधारित चलचित्र ‘ठाकरे’मा अभिनेता नवाजुद्दिन सिद्धिकी प्रमुख भूमिकामा थिए भने ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’मा अभिनेता अनुपम खेर भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको भूमिकामा देखिएका थिए ।
त्यस्तै पटनाका गणित शिक्षक आनन्दकुमारको बायोपिक ‘सुपर ३०’मा अभिनेता ऋतिक रोशन प्रमुख भूमिकामा थिए । महिला केन्द्रित बायोपिक ‘साँढ की आँख’मा भूमि पेडनेकर र तापसी पन्नु प्रमुख भूमिकामा थिए । यो चलचित्र दुई अक्टोजेनरियन सार्पसुटर चान्द्रो र प्रकाशी तोमरको जीवनीमा आधारित थियो ।
आयुष्मान खुराना क्रेज
सन् २०१९ लाई अभिनेता आयुष्मान खुरानाको क्रेज वर्षभन्दा फरक नपर्ला । आयुष्मान सन् २०१२ मा रिलिज चलचित्र ‘बिक्की डोनर’बाट नै चर्चामा आएका अभिनेता हुन् । अघिल्लो वर्ष सन् २०१८ मा रिलिज ‘बधाई हो’ र ‘अन्धाधुन’ले आयुष्मानको चर्चामा एउटा नयाँ इँटा थपिदिएको थियो । आयुष्मानले आफ्नो सफलताको पाइलालाई सन् २०१९ मा पनि निरन्तरता दिए । यो वर्ष रिलिज चलचित्र ‘आर्टिकल १५’ बाट आयुष्मानले आफ्नो स्टारडमलाई कायमै राखे । ‘वर्ड अफ माउथ’का कारण पनि दर्शकले चलचित्रलाई अत्यधिक रुचाए । अर्को चलचित्र ‘ड्रिम गर्ल’ले आयुष्मानलाई अर्को सफलता दिलायो । यो चलचित्रमा आयुष्मानले आफू पुरुष भए पनि कलसेन्टरमा महिलाको आवाज निकालेर सेवा दिने कामदारको भूमिका निर्वाह गरेका थिए । आयुष्मानलाई सफलताको स्वाद चखाउने अर्को चलचित्र ‘बाला’ थियो । कपाल नभएपछि एक पुरुषले भोग्ने अनेक पीडालाई यो चलचित्रमा देखाइएको थियो ।
रणवीर सिंह अभिनीत चलचित्र ‘गली ब्वाइ’ले सन् २०१९ मा राम्रो चर्चा पायो । मुम्बईको अन्डरग्राउन्ड र्याप कथा प्रस्तुत गरिएको यो चलचित्र ओस्कर एवार्डका लागि भारतबाट सिफारिस भएको थियो ।
टेलिभिजन शो आकर्षण
सन् २०१९ बलिउड चलचित्रका लागि मात्र होइन, टेलिभिजन शोका लागि पनि विशेष रह्यो । यो वर्ष धेरै दर्शकले टेलिभिजन शोलाई पनि रुचाए । यो वर्ष विशेषत: गृहिणीले टेलिभिजनमा ‘भाग्य’ रिजअन्तर्गतको ‘कुन्डली भाग्य’ र ‘कुमकुम भाग्य’ तथा ‘रिस्ता’ सिरिजअन्तर्गत ‘ये रिस्ता क्या केहलाता है’ र ‘ये रिस्टे हे प्यार के’लाई सर्वाधिक रुचाए ।
टेलिभिजन शोको कुरा ‘बिग बोस’को तेह्रौं संस्करण अर्को प्रमुख आकर्षणका रूपमा रह्यो । सेप्टेम्बर २९ बाट सुरु भएको यो सिजनको शोमा रश्मि देसाई, सिद्धार्थ शुक्ला, काइना मित्राजस्ता चर्चित अनुहार सहभागी थिए । यो शोको चर्चाकै कारण शोका निर्माताले पाँच हप्ताका लागि समय बढाए ।
चिनिएका सेलिब्रटी अनुहारको सहभागिता नरहे पनि अर्को रियालिटी शो ‘ये जादु हे जिन का’ले खुबै चर्चा पायो । गुल खानले निर्माण गरेको यो शो विशेषत सर्वसाधारणमाझ निकै चर्चित रह्यो । यो शो प्रसारण भइरहँदा रेटिङ चार्टको शीर्ष स्थानमा कब्जा जमाएको थियो ।
कलर्स च्यानलबाट प्रसारण भएको शो ‘छोटी सर्दानी’ले पनि दर्शकमाझ अत्यधिक चर्चा पायो । बिना शुभचिन्तक प्रसारण भएको यो शोले च्यानलको शीर्ष स्थान ओगटेको थियो । यसका निर्माता प्रदीपकुमार हुन् ।
भारतीय टेलिभिजनमा रियालिटी शोको नाम लिँदा नछुट्ने नाम हो— ‘खतरों के खिलाडी’ । आठौं संस्करणसम्मको हिट यो शोले नवौं संस्करणमा पनि उस्तै ख्याति पायो । बलिउड निर्देशक रोहित सेठ्ठीले सञ्चालन गरेको यो शो यति धेरै चर्चित भयो कि च्यानलले ‘खतरा खतरा खतरा’ नामक अर्को शोको निर्माण नै गर्यो ।
बलिउडको चर्चा गर्दा नछुट्ने पाटो भनेको यसको संगीत पनि हो । यो वर्षमा बलिउड संगीतको भेराइटीमा उतारचढाव नै आयो । नयाँ हार्ड हिटिङ ओरिजिनल कम्पोजिसनदेखि पुराना भर्सनका गीतको रिमिक्सले दर्शकलाई राम्रो मनोरञ्जन दिलायो । बलिउडमा यो वर्ष सयौं चलचित्र रिलिज भए, तर रिलिजमध्ये केही चलचित्रका गीतका लागि स्मरणीय नै रहे ।
यो वर्ष रिलिज भएको रोमान्टिक कमेडी ड्रामा ‘एक लड्कीको देखा तो ऐसा लगा’को शीर्ष गीतले श्रोता तथा दर्शकलाई रोमान्टिक हुने वातावरण बनाइदियो । सन् १९९४ मा रिलिज चलचित्र ‘१९४२ : ए लभ स्टोरी’मा रहेको गीत ‘एक लड्की को देखा तो ऐसा लगा’को नामबाट प्रभावित भएर यसै नाममा निर्माण गरिएको चलचित्रको गीतले प्रेममा परेका जोडीलाई बढी प्रभावमा पार्यो ।
चर्चा र विवाद
बलिउड र विवाद पर्यायवाची नै हुन्, जसका कारण पनि हरेक वर्ष बलिउडमा केही न केही विवाद आइरहेका हुन्छन् । निजी जीवन होस् या कुनै विषयमा सेलिब्रेटीले बोलेको कुरा विवादमा आउँछन् । भारतमा अप्रिल १२ देखि मे १२ सम्म लोकसभा चुनाव भएको थियो । यो समयमा अभिनेता विवेक ओबेरायले एक्जिट पोलको विषयलाई लिएर एक विवादास्पद पोस्ट सामाजिक सञ्जालमा सेयर गरेका थिए । त्यो पोस्टमा उनले अभिनेत्री ऐश्वर्या राय बच्चनको जिन्दगीलाई एक्जिट पोलसँग तुलना गरेका थिए । विवेकको पोस्टले विवाद चुलिएपछि उनले ऐश्वर्यासँग माफी नमागी पोस्टलाई हटाएका थिए ।
बलिउडका मिस्टर परफेक्टसनिस्ट आमिर खानको चलचित्र ‘दंगल’ फेम अभिनेत्री जायरा वसिम सन् २०१९ मा चर्चासँगै विवादमा पनि तानिइन् । उनले सामाजिक सन्जालमा आफ्नो धर्मको कारण जनाउँदै अभिनयबाट सदा लागि विश्राम लिने घोषणा गरिन् । जायराको निर्णयलाई लिएर उनका फ्यान तथा बलिउडकर्मीले आफ्नो प्रतिक्रिया दिएका थिए । त्यसको केही समयपछि उनले आफ्नो एकाउन्ट ह्याक भएको बताएकी थिइन् । तर, केही समयपछि उनै जायराले एकाउन्ट ह्याक नभई आफैंले पास्ट सेयर गरेको करा बताएपछि उनी पुन: विवादमा तानिएकी थिइन् ।
बलिउड अभिनेता रितिक रोशन र अभिनेत्री कंगना रणावतबीच भइरहने विवादबारे जोकोही जानकार छन् । रितिककी बहिनी सुनैनाले परिवारसँग झगडा गरेर ट्विटरमा कंगनालाई समर्थन गरेपछि यो विषयले चर्चासँगै विवादमा आएको थियो । त्यसको केही समयपछि कंगनाकी बहिनी रंगोलीले पनि रोशन परिवारमाथि आक्षेप लगाएकी थिइन् ।
निर्माता करण जोहारको पपुलर च्याट शो ‘कफी विथ करण’ जहिल्यै पनि चर्चामा आइरहन्छ । शोका होस्ट करण प्राय: शोमा आमन्त्रित पाहुनालाई चटपटे प्रश्न सोधिरहन्छन् । यो वर्ष शोमा क्रिकेटर के एल राहुल र हार्दिक पाण्डेय उपस्थित थिए । करणको केही प्रश्नमा हार्दिकले आफ्नो प्रेम सम्बन्धका बारेमा खुलेर कुराकानी गरेका थिए, जसका कारण करण, हार्दिक र केएल विवादका घेरामा आए ।
बलिउड अभिनेत्री कंगना रणावत आफ्नो चलचित्र ‘जजमन्टल हे क्या’को एक गीत सार्वजनिक कार्यक्रममा पुगेकी थिइन् । यो कार्यक्रममा एक पत्रकारको प्रश्नमा कंगनाले पत्रकारको वर्गीकरण गरेकी थिइन् । जसका कारण कार्यक्रममा हंगामा नै मच्चियो । यो मामला त्यसै रोकिएन ।
पत्रकारहरूले कंगनाले उपस्थिति जनाउने कुनै पनि कार्यक्रमको रिपोर्टिङ नगर्ने निर्णय लिए । यही मामलामा कंगनाको अर्को एक भिडियो सार्वजनिक भयो, जुन भिडियोमा उनले पत्रकारप्रति आपत्तिजनक भाषा प्रयोग गरेकी थिइन् । कंगनाको यो चलचित्रप्रति इन्डियन साइक्राटिक सोसाइटीले एक विज्ञप्ति निकालेर नै आपत्ति जनायो । उसले सेन्सर बोर्डलाई पत्र लेख्दै मानसिक रूपमा अस्वस्थ व्यक्तिको चलचित्रले मानमर्दन खोजेको आरोप लगाएको थियो । इन्डियन मेडिकल एसोसिएसन र अभिनेत्री दीपिका पादुकोणको द लिभ लभ लाफ फाउन्डेसनले पनि चलचित्रका नाम र पोस्टरप्रति आपत्ति जनाएको थियो ।
लोकसभाको निर्वाचनको छेकोमा रिलिजको तयारीमा रहेको चलचित्र ‘पीएम नरेन्द्र मोदी’ को प्रदर्शन रोकिएको थियो । अभिनेता विवेक ओबराय स्टारर यो चलचित्रलाई अप्रिल ५ मा रिलिज गर्ने भनिए पनि चुनावका कारण मे २४ मा मात्र रिलिज भयो । चुनावको ताका यो चलचित्र रिलिज भएमा मोदीको भारतीय जनता पार्टीप्रति मतदाताको मत बढी जान्छ भन्ने चर्चा चलेपछि चलचित्र प्रदर्शनमा रोक लगाइएको थियो ।
अर्जुन कपुर, सञ्जय दत्त र कृति सेनन अभिनीत चलचित्र ‘पानीपत’ एक दृश्य र संवादका कारण विवादमा तानियो । चलचित्रमा सुरजमलसँग जोडिएको एक किस्सा देखाइएको थियो, जसमा जाट समुदायका मानिसले आपत्ति जनाएका थिए । चलचित्रमा कृति सदाशिव रावकी पत्नी पारवती बाईको भूमिकामा छिन् । चलचित्रमा उनले बोलेको ‘मैंने सुना है जब पेशवा अकेले मुहीम पर जाते हैं तो मस्तानी के साथ वापस लौटते हैं’ संवाद निकै विवादमा तानिएको थियो । यो चलचित्रले मराठा र मुगलको तेस्रो युद्धलाई प्रस्तुत गरेको थियो । भारतको जयपुर, भरतपुर र बिकानरका मानिसले यो चलचित्रको प्रदर्शनमा प्रतिबन्धै लगाउनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । राजस्थानका मुख्यमन्त्री अशोक गेलोटले जनताको माग पुरा गर्न सेन्सर बोर्डलाई हस्तक्षेपकारी निर्णय गर्न माग गर्दै ट्वीट गरेका थिए । पछि निर्माताले चलचित्रको विवादास्पद दृश्य र संवाद हटाउनुपरेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत पाकिस्तानको विवादास्पद सीमा क्षेत्र जम्मु कस्मिरको सन्दर्भमा संसदमा संविधानको धारा ३७० खारेज गर्ने घोषणा गरेपछि पाकिस्तानले आफ्नो मुलुकमा भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगायो । बलिउडका ठूला स्टारकास्टका लागि पाकिस्तान पनि एउटा प्रमुख बजार हो । बलिउडका मधुर भण्डारकर, सोनु सुदलगायतका चलचित्रकर्मीले यसलाई सामान्य रूपमा लिए ।
सन् २०१९ को अन्त्यतिर अभिनेता अक्षय कुमार पनि विवादमा तानिए । अक्षयले क्यानेडियन पासपोर्ट बनाउने निर्णय लिएपछि उनीमाथि धेरैले रोष पोखेका थिए । तर, अक्षयले आफूले भारतलाई माया गर्ने र राष्ट्रियतालाई नभुल्ने बताउँदै रोषलाई थामथुम पारेका थिए । उनले आफू विगत ७ वर्षदेखि क्यानाडा नगएकाले पासपोर्ट बनाउनुपरेको प्रतिक्रिया दिएका थिए ।
सिक्वेल लहड
बलिउडमा सिक्वेल चलन पुरानै हो । सन् २०१९ ले पनि यो शैलीलाई निरन्तरता नै दियो । सलमान खानले आफ्नो ‘दबंग’ सिरिजलाई यो वर्ष निरन्तरता दिए । सिरिजको तेस्रो संस्करण ‘दबंग ३’ यतिबेला थिएटरमा प्रदर्शन भइरहेको छ । प्रभु देवा निर्देशित चलचित्रमा सोनाक्षी सिन्हा सलमानको अपोजिटमा छिन् ।
वर्षको पहिलो सिक्वेल चलचित्र ‘टोटल धमाल’ रहयो । जुन चलचित्र फेब्रुअरी २२ मा रिलिज भएको थियो । इन्द्र कुमार निर्देशित कमेडी फ्रेन्चाइजी ‘धमाल’को यो तेस्रो सिक्वेलमा अजय देवगन, अनिल कपुर र माधुरी दीक्षितको प्रवेश भएको थियो । जबकि रितेश देशमुख, अरशद वारसी र जावेद जाफरी आफ्नो पुरानै भूमिकामा छन् । चलचित्रले १ सय ६४ करोड कलेक्सन गरेको थियो ।
वर्षको दोस्रो सिक्वेल ‘स्टुडेन्ट अफ द ईयर २’ थियो, जो मे १० मा रिलिज भएको थियो । यसको अघिल्लो संस्करणबाट वरुण धवन, सिद्धार्थ मल्होत्रा र आलिया भट्टले ‘डेब्यु’ गरेका थिए, जबकि दोस्रो सिक्वेलबाट अनन्या पाण्डेय र तारा सुतारियाले बलिउडको यात्रा सुरु गरेका थिए । अभिनेता टाइगर श्राफले चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका थिए । व्यापारिक हिसाबले चलचित्र पहिलो संस्करणभन्दा फितलो देखियो । दोस्रो संस्करणले ७० करोड आसपासको मात्र व्यापार गरेको थियो ।
अक्षय कुमारको ‘हाउसफूल ४’ अक्टोबर २५ मा रिलिज भएको थियो । कमेडी सिरिज ‘हाउसफूल’को यो चौथो संस्करणमा अक्षय कुमार, बबी देओल, रितेश देशमुख, चंकी पाण्डेय, कृति सनोन, कृति खरबन्दा र पूजा हेगडले अभिनय गरेका थिए । चलचित्रले बक्स अफिसमा २ सय करोडभन्दा बढी कलेक्सन गरेको थियो ।
एक्सन सिरिजको ‘कमान्डो’को तेस्रो चलचित्र ‘कमाण्डो ३’ नोभेम्बर २९ मा रिलिज भएको थियो । विद्युत् जामवालको यो चलचित्रले ३२ करोड आसपासको व्यापार गरेको थियो । रानी मुखर्जी अभिनीत चलचित्र ‘मर्दानी २’ डिसेम्बर १३ मा रिलिज भएको थियो । चलचित्र ‘मर्दानी’ फ्रेन्चाइजीको दोस्रो संस्करणमा अभिनेत्री रानी मुखर्जी प्रहरी अधिकृत शिवानी शिवाजी रायको भूमिकामा छिन् । जो महिलासँग जोडिएका अपराधका विरुद्धमा लडिरहेकी हुन्छिन् । हाल प्रदर्शनरत चलचित्रले बक्स अफिसमा २६ करोड व्यापार गरिसकेको छ ।
स्रोत : एजेन्सी