साप्ताहिक संवाददाता
स्वीडेनकी १६ वर्षीया ग्रेटा टुनबर्ग प्रतिष्ठित टाइम म्यागाजिनको ‘पर्सन अफ द इयर २०१९’ भइन् । १८ डिसेम्बरमा एक समारोहमा उनलाई यो एवार्डबाट सम्मान गरिएको थियो । ग्रेटा विश्वको जलवायु संकट समाधान गर्न विश्वका प्रमुख नेतालाई स्पष्ट रूपमा भन्न सक्ने अभियन्ताको रूपमा चिनिन्छिन् । उनले सन् २०१८ मा जलवायुसम्बन्धी गरेको गतिविधि भाइरल भएको थियो ।
सन् २०१९ को जनवरी ७ मा जर्मन राजनीतिज्ञ फ्रान्क म्याग्निट्जलाई सहरमा हिँड्ने क्रममा तीन जना नकाबधारीहरूले अचेत हुने गरी कुटपिट गरे । उक्त आक्रमण राजनीतिक रूपले प्रेरित भएको भनेर विश्वभर सनसनी मच्चियो । कुटपिटबाट घाइते भएका म्याग्निट्जले केही समय अस्पतालमा बिताउनुपरेको थियो ।
जनवरी १० मा निकोलस मादुरो भेनेजुएलाको राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि चयन भए । मादुरो पुन: राष्ट्रपतिका लागि चयन भएसँगै विश्व दुई ध्रुबमा बाँडियो । धेरै देशहरूले मादुरोको विजयलाई वैधका रूपमा लिएनन् । पराग्वे र पेरु दुवैले भेनेजुएलाको सरकारलाई नाजायज दाबी गर्दै सम्बन्ध तोडे तर ब्राजिलले यसलाई बैधको रूपमा मान्यता दियो ।
जनवरी १५ मा केन्याको नैरोबी होटलमा आतंककारीहरूले २१ जना व्यक्तिको हत्या गरे । करिब १ घण्टासम्म चलेको आक्रमणमा ५ जना आतंककारीले आत्महत्या पनि गरे । घटनाको अल शाबाबले जिम्मेवारी लिएको थियो ।
जनवरी २४ मा ट्रम्प प्रशासनले भेनेजुएला सरकारलाई नाजायज सम्बोधन गर्दै मदुरोलाई लगानीमा कटौती गर्ने योजना बनायो । मादुरोले त्यसको अघिल्लो दिनै अमेरिकासँग कूटनीतिक सम्बन्ध तोडेका थिए ।
जनवरी २७ मा आतंककारीहरूले फिलिपिन्सको एउटा चर्चमा दुई बम विस्फोट गराउँदा २० जना व्यक्तिको मृत्यु भयो भने १ सय जना मानिस घाइते भए ।
फेब्रुअरी २ मा भेनेजुएलामा १० हजारौं व्यक्तिले मादुरोको सरकार विरुद्धमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न थाले । धेरै देशहरूले मादुरोको सरकारलाई वैध रूपमा हेर्दैनन् भन्ने थाहा पाएपछि उनीहरूले देशभित्र आन्दोलन गरेका थिए ।
फेब्रुअरी १७ मा वार्तापश्चात् क्यामरुनका अपहरणकारीहरूले १ सय ७६ जना विद्यार्थीहरूलाई रिहा गरे । बन्दुकधारीहरू १६ फेबु्रअरीका दिन विद्यालयमा प्रवेश गरी विद्यार्थीहरूलाई अपहरण गरेका थिए ।
फेब्रुअरी २३ मा सुडानका राष्ट्रपति ओमर अल बशिरले आपतकालीन अवस्थाको घोषणा गर्दै सबै संघीय सरकारी कर्मचारीहरू तथा राज्यका प्रशासकहरूलाई बर्खास्त गरे । बशिरको यो कामको आलोचना गर्दै सुडानका नागरिकहरूले सरकार विरोधी प्रदर्शन गरे ।
फेब्रुअरी २८ मा पाकिस्तानले पक्राउ गरेको भारतीय पाइलटलाई भारत फिर्ता गर्यो । भारत र पाकिस्तानबीच काश्मिरको विषयमा युद्ध चर्किएपछि पाकिस्तानले भारतीय विमान कब्जा गरेको थियो ।
मार्च ६ मा भेनेजुएलाले आन्तरिक मामिलामा हस्तक्षेप गरेको अनुमानमा जर्मन राजदूतलाई देश निकाला गर्ने घोषणा गर्यो । तर, कूटनीतिज्ञहरूले भने विपक्षी नेता जुआन ग्वाइडेलाई देश फर्कन सहयोग गरे । जर्मनीले ग्वाइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दियो ।
मार्च १० मा इथियोपियाली एयरलाइन्स उडान टेक अफको लगत्तै दुर्घटनाग्रस्त भयो, जसमा १ सय ५७ जना व्यक्तिको मृत्यु भयो । विमानले केन्यामा हुन लागेको वातावरणीय शिखर सम्मेलनका लागि संयुक्त राष्ट्रका अधिकारीहरूको टोलीलाई बोकेको थियो ।
मार्च १३ मा दुई बन्दुकधारी साओ पाउलो स्कुलमा प्रवेश गरी शिक्षक र विद्यार्थीहरूलाई गोली हाने । जहाँ ८ जनाको मृत्यु भयो भने १० जना घाइते भए । उक्त हमलामा सुटरहरूसमेत मारिएका थिए ।
मार्च १५ मा २८ वर्षीय ब्रेन्टन टेरान्ट नाम गरेका बन्दुकधारीले २ वटा मस्जिदमा प्रवेश गरी ४९ जनाको हत्या गरे भने अन्य धेरैलाई घाइते बनाए । टेरान्टले आफूले गरेको हमलालाई फेसबुकमा प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।
अप्रिल १० मा न्युजिल्यान्डले नागरिकहरूमा स्वचालित हतियार राख्न नपाउने नियम लागू गर्यो । आतंककारीहरूको हमलाबाट सामूहिक ५० जनाको मृत्यु भएपछि न्युजिल्यान्डले यो नियम बनायो ।
अप्रिल १० मा पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भयो । यो तस्बिर आगोको औंठी जस्तो देखिन्छ ।
अप्रिल ११ मा इथियोपियाका नवनियुक्त प्रधानमन्त्री अबी अहमदले भ्रष्टाचार र आर्थिक हिसाब हिनामिना गरेको आरोपमा इथियोपियाली ५९ जना अधिकारी पक्राउ गरे । अहमदले आफूले देशको फोहोर राजनीतिलाई सफा गर्ने उद्देश्यले भ्रष्ट अधिकारीहरूलाई पक्राउ गरेको बताएका थिए ।
अप्रिल १७ मा पेरूको पूर्वराष्ट्रपति एलन गार्सियाले बन्दुकको सहायताले आत्महत्या गरे । मनी लान्डरिंग र घूसखोरीको आरोपमा पुलिसले गार्सियालाई पक्राउ गर्ने तयारी गरिरहेका बेला उनले आत्महत्या गरेका थिए । राजनीतिक दुस्मनहरूबाट अप्ठ्यारोमा पर्न नपरोस् भनेर गार्सियाले आफूले आफैंलाई मारेको अनुमान राजनीति वृत्तमा गरिएको थियो ।
अप्रिल २१ मा आतंकवादीहरूले श्रीलंकाको चर्चहरूमा गरेको विस्फोटमा करिब २ सय जना व्यक्तिको मृत्यु भयो भने सयौं घाइते भए ।
अप्रिल २२ मा हास्यकलाकार भोलोडिमिर जेलेन्स्की युक्रेनको राष्ट्रपति भए । जेलेन्स्की कुनै राजनीतिक अनुभव नहुँदा–नहुँदै पनि चुनाव जितेका थिए ।
अप्रिल ३० मा करिब २०० वर्षपछि पहिलो पटक जापानका सम्राट् अकिहितोले पद छोड्ने घोषणा गर्दै आफ्नो छोरालाई उत्तराधिकारी बनाउने सूचना सार्वजनिक गरे ।
मे ४ मा थाइल्यान्डमा राजा भाजिरयलन्गकोर्नको राजगद्दी समारोह सुरु भयो । उनी आफ्नो बुबाको मृत्युपछि सिंहासनमा आएका थिए ।
मे ५ मा गाजा र इजरायलको आतंककारीहरूबीच भएको रकेट मिसाइल तथा हवाई हमलामा २३ जना मानिसको मृत्यु भयो ।
जुन २ मा सुडानमा भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई आक्रमण गर्दा १३ जनाको मृत्यु भयो भने दर्जनौं मानिस घाइते भए ।
जुन १७ मा नाइजेरियामा ३ आत्मघाती बम विस्फोटकहरूले बम विस्फोटन गर्दा ३० जनाको मृत्यु भयो भने ३९ जना घाइते भए ।
जुन ३० मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आणविक र व्यापार वार्ताको विषयमा छलफल गर्न उत्तर कोरिया प्रस्थान गरे । त्यहाँ उनले किम जोंगलाई भेटेर आणविक हातहतियारको विषयमा कुराकानी गरे ।
जुलाई २ मा विद्रोहीहरूले साउदी अरेबिया एयरपोर्टमा ड्रोन हमला गरे । ९ जना घाइते भएको उक्त घटनाको होउथी समूहले जिम्मा लियो ।
जुलाई १६ मा हङकङका नागरिकलाई चीनमा सुपुर्दगी गर्न सकिने प्रावधान भएको विधेयकको विरोधमा लाखौं नागरिक सडकमा उत्रिए । हङकङ सरकारकी मुख्य कार्यकारी क्यारी लामले पछि सो विधेयक स्थगित गरेको घोषणा गरिन् ।
जुलाई २४ मा बोरिस जोनसन इंग्ल्यान्डको प्रधानमन्त्री बने ।
जुलाई २८ मा नाइजेरियामा बोको हरामले गरेको आक्रमणमा अन्त्येष्टिमा आएका ६५ जना व्यक्तिको मृत्यु भयो ।
जुलाई ३१ मा उत्तर कोरियाले सातामा दोस्रो मिसाइलको प्रक्षेपण गर्यो ।
अगस्त ७ मा फिलिपिन्समा जनवरी र जुलाईबीच डेंगुका कारण ६ सय २२ व्यक्तिको मृत्युपछि राष्ट्रिय महामारीको घोषणा गर्यो ।
अगस्ट ३१ मा फ्रान्सको लियोनमा सब वे स्टेसन नजिक भएको चाकुको हमलामा ८ जना घाइते भए भने १ जनाको मृत्यु भयो ।
सेप्टेम्बर १७ मा अफगानिस्तानमा दुई आत्मघाती बम विस्फोट भयो, जहाँ ४८ जना व्यक्ति मारिए । पहिलो बम एक चुनावी सभालाई निशाना गरी गरिएको थियो भने अर्को अमेरिकी दूतावास नजिकै भएको थियो ।
अक्टोबर ३ मा उत्तर कोरियाले आणविक वार्ता पुन: सुरु गर्न वासिङ्टनसँग सहमत भएको एक दिनपछि फेरि ब्यालिस्टिक मिसाइलको परीक्षण गर्यो ।
अक्टोबर ९ मा लिथियम आयन ब्याट्री नोबेल रसायन विज्ञान पुरस्कार तीन वैज्ञानिकहरूलाई प्रदान गरियो, जसमा पीबल्स्, मिसेल मेयर तथा डीडीएर क्वेलोज छन् ।
अक्टोबर ११ मा इथियोपियाका प्रधानमन्त्री अबी अहमदलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो । अहमदले इरिट्रियासँग आफ्नो देशको २० वर्षको युद्ध अन्त्य गर्न मद्दत गरेका थिए ।
अक्टोबर २६ मा आईएसआई एसका नेता अबु बकर अल बगदादी अमेरिकी सेनाको आक्रमणमा मारिए ।
नोभेम्बर ११ मा एक महिनाको विरोध पछि राष्ट्रपति इभो मोरालेसले आफ्नो १४ वर्षे शासनकाल पछि राजीनामा गरे । नोभेम्बर १६ सम्म मोरालेस समर्थक र मोरालेस विरोधी पक्षका बीच झडप हुँदा ५ व्यक्तिको मृत्यु भयो ।
नोभेम्बर २५ मा जर्मनीको ड्रेस्डेन ग्रिन भोल्ट म्युजियमबाट तीन सेट हीरा चोरी भयो । । चोरहरूले ३७ टुक्रा भएको दसमध्ये तीन हीराका सेटहरू चोरेका थिए ।
डिसेम्बर २१ मा भारतमा नागरिक कानुन पारित भएको विषयमा गरिएको प्रदर्शनमा १० व्यक्तिको मृत्यु भयो ।
फोब्र्सका अनुसार यो वर्ष अमेजनका संस्थापक जेफ बेजोस (१ सय ३१ बिलियन डलर) सहित संसारको सबैभन्दा धनी व्यक्ति बने भने बिल गेट्स (९६ दशमलव ६ बिलियन डलर) दोस्रो स्थानमा रहे । वारेन बफेट (८२ दशमलव ५ बिलियन डलर) ले तेस्रो स्थानमा रहे ।
यो वर्ष जमैकाकी २३ वर्षीया सुन्दरी टोनी एन सिंहले मिस वल्र्ड २०१९ को ताज जितिन् । १४ डिसेम्बरमा इक्सल लन्डनमा आयोजित कार्यक्रम उनी विश्वसुन्दरी घोषित भएकी थिइन् ।
यो वर्ष स्मार्टफोनतर्फ सर्वाधिक रुचाइएको एप्पलको आईफोन ११ तथा ११ प्रो सार्वजनिक भयो भने सामसुङको नोट १० प्लस पनि सार्वजनिक भयो ।
स्रोत : एजेन्सीहरु