साप्ताहिक संवाददाता
केहि दिनयता जाडो ह्वात्तै बढेको छ । देशका विभिन्न स्थानहरुमा हिमपात भैरहेको छ । कयौं ठाउँको जनजीवन प्रभावित भएका विवरणहरु सार्वजनिक हुन थालेका छन् । चिसो मौसममा विरामी तथा वृद्धहरूलाई हृदयाघात हुने संभावना बढी हुने चिकित्सकहरूले बताउँदै आएका छन् ।
गर्मी महिनाको तुलनामा जाडो महिनामा मानिसहरु मुटु रोगसम्बन्धी जोखिममा बढी रहने चिकित्सकहरुको भनाई छ ।
रक्तचाप फेरबदल भैरहने समस्या पनि जाडोमा बेशी हुने उनीहरुको भनाई छ । रक्तचापमा फेरबदल भन्नाले कहिले धेरै कहिले कम हुने समस्या जाडो बेला बढी देखिने गर्छ ।
चिसोले रक्तनली र शरीरमा पार्ने सिधा प्रभावका कारण यस्तो समस्या देखिने पनि चिकित्सकहरुको भनाई छ । अर्को, चिसोका कारण शरीरमा उत्पन्न हुने रसायन वा हर्मोनहरू हुन् जसले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्छन् । मुटु भित्रका नलीमा रक्त संचार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढाइदिन्छ ।
६० वर्ष नाघेका मानिसहरू, मधुमेह वा दमका रोगी, अन्य रोग लागेका वा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या भएका जस्तै मुटुको अनियमित चाल, उच्च वा न्यून रक्तचाप, बाइपास सर्जरी गरेका वा मुटुको काम गर्ने शैलीमा समस्या भोगेका विरामीहरूले जाडोमा मुटुको हेरचाह विशेष गर्नु पर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल बताउँछन् ।
मुटु रोगीहरुले विहानविहानै अति चिसोमा गरिने हिँडडुल कम वा बन्दै गर्न उनले सुझाएका छन् । हिँड्नै परेको खण्डमा न्यानो कपडा लाएर मात्रै बाहिर हिड्न सकिने छ । तर, हावा चलेको बेला र पानी परेको बेला जोखिम अझैँ बढ्ने भएकाले त्यस्तो बेला बाहिर ननिस्कनुमै हित हुने अनिल बताउँछन् ।
स्वस्थ मुटुका लागि खानपानमा समेत विशेष ख्याल गर्नु पर्ने हुन्छ । विशेषगरी जाडो छल्न भन्दै बढ्ने चुरोट र मदिरापानले मानिसहरूमा मुटुको जोखिम बढ्ने गर्छ । कतिपय अवस्थामा चुरोट र मदिरापान सेवनका बेलामानै हृदयाघात भई मृत्यु पनि हुने गरेको छ ।