साँझको झिलिमिलीमा जोडी बाँधिएर फेवातालको किनारैकिनार हिँड्नु । उत्तरतिर लस्करै उभिएका हिमाल हेर्दै फेवामा नौकाविहार गर्नु । प्याराग्लाइडिङमा उडेर चराजस्तै उन्मुक्त हुनु । लेकसाइडमा गुञ्जने देशी–विदेशी संगीतमा मन बहलाउनु । पोखरा– वान्स इज नट इनफ ।
विश्वका जुनसुकै सहरबाट हिमाल देखिन सक्छन् । जुनसुकै सहरमा ताल हुन सक्छन् । तर तालमै हिमालको छायाँ टल्किने विरलै सहरमा पर्छ, पोखरा । ८ हजार मिटरभन्दा अग्ला ३ हिमचुचुरा एकैपल्ट हेर्न सकिने अद्वितीय सहर हो, पोखरा । पातलो टिसर्ट लगाएरै यहाँबाट ८ हजार मिटर माथिका अन्नपूर्ण, मनास्लु र धौलागिरि हिमालको दृश्यावलोकन गर्न पाइन्छ । विश्वकै आकर्षक हिमालमध्येको माछापुछ्रे पोखराको नजिकै छ ।
पोखरा उपत्यकाभित्रै छन्, ९ ताल । बेगनास, रुपा, दिपाङ, मैदी, खास्टे, गुँदे, निउरेनी र कमल पोखरीका आआफ्नै विशेषता छन् । डुंगा चढ्ने मात्रै होइन, स्थानीय माछाको स्वाद लिन यी ताल पुग्नुपर्छ । गुफाको सहर पनि हो, पोखरा । छोरेपाटनको गुप्तेश्वर गुफा, बाटुलेचौरको महेन्द्र गुफा र चमेरे गुफा छुटाउन नहुने स्थल हुन् । गुप्तेश्वर गुफा छिचोल्दै गएपछि देखिने पातले छाँगोले थप रोमाञ्चक बनाउँछ ।
फेवातालकै बीचमा रहेको तालवाराही मन्दिर, ऐतिहासिक विन्ध्यवासिनी मन्दिर, लेकसाइडकै केदारेश्वर मन्दिरले धार्मिक पर्यटनलाई उत्तिकै टेवा पुर्याएको छ । पोखरा आउँदा छुटाउनै नहुने स्थान हो, पुम्दीभुम्दीको विश्व शान्ति स्तूप । छोरेपाटनबाट बस चढेर वा फेवातालबाट डुंगामा तरेर रानीवनको बाटो स्तूप पुगिन्छ । ह्वाइट गुम्बाको नामले समेत परिचित स्तूपबाट पोखरा, फेवाताल र हिमशृंखला एकै मेसोमा देख्न सकिन्छ ।
पोखरा वरपरका डाँडाकाँडाले उत्तिकै लोभ्याउँछन् । सूर्योदय, सूर्यास्त, पोखरा सहर, हिमशृंखला र फेवाताल हेर्न यहाँका जुनसुकै डाँडा चढे पुग्छ । सराङकोट, काहुँडाँडा, पुम्दीकोट, मट्टिखान, रुपाकोट, निर्मलपोखरी यहाँका अग्ला डाँडा हुन् । शाहवंशीय राजाको उद्गमथलो कास्कीकोट पोखराबाट जम्मा १५ किलोमिटरको दूरीमा पर्छ । यी डाँडाकाँडा अचेल लक्जरी होटल तथा रिसोर्टले भरिएका छन् ।
साहसिक खेलकुद प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्छ— पोखरा । सराङकोटबाट कावा खाँदै फेवातालको किनारमा ओर्लन पाउनुको अद्भुत आनन्द अन्यत्र कहाँ ! सराङकोटबाट सररर जिप फ्लायरमा हेम्जा ओर्लनुमा पनि विछट्टै मज्जा छ । अल्ट्रालाइटमा उड्नु, बन्जिजम्प गर्नु, बेलाबेलामा स्काइडाइभ गर्न पाउनुले पोखरालाई साहसिक पर्यटकको केन्द्रका रूपमा स्थापित गरेको छ । पछिल्लोपल्ट हट एअर बेलुन पनि पोखरा भित्रिएको छ ।
पोखराको पुरानो नेवार बस्ती अझै देख्न पाइन्छ । रातोपैह्रोको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पुगेर हिमाली जनजीवन बुझ्न सकिन्छ । नयाँबजारमा रहेको प्रदेश संग्रहालय सांस्कृतिक ग्राम बन्ने बाटोमा छ । पोखरा लाहुरेले बनाएको सहर पनि हो । बेलायत, हङकङबाट फर्केका लाहुरेले बनाएका ढुंगा टाँसिएका चिटिक्क परेका घरले पोखराको सौन्दर्य जोगाइराखेको छ । भित्री बाटोमा समेत सर्लक्क परेका पिच रोड, आँगनमा बिछयाइएका ढुंगा, हरेक घरमा सानोतिनो बगैंचाले पोखरालाई सभ्य सहरको चिनारी दिन्छन् । गुरुङ जातिको संस्कृतिले यहाँको आतिथ्यता सत्कारलाई टेवा दिन्छ ।
घाँटु, कौडा, कृष्ण चरित्रलगायत ऐतिहासिक नाचमा रमाउन पोखरा नजिकका गुरुङ गाउँ पुगे हुन्छ । ती गाउँमा खोलिएका सामुदायिक होमस्टेले अर्गानिक खाना पस्किन्छन् । पोखरानजिकै कालाबाङ घडेरी, मौजा, भुजेल गाउँ, निर्मलपोखरी, ल्वाङघलेल, हेम्जाकोट, चापाकोट, पञ्चासेमा होमस्टे छन् । लोकल कुखुराको मासु र कोदोको ढिंडोसँग न्यानो माया मिसाएर स्थानीयले सत्कार गर्छन् । पिउन चाहनेले कोदोको रक्सी पिए पनि भयो ।
पोखरा एकै मेसोमा घुमेर नसकिने सहर त हुँदै हो, पछिल्लो समय यो ‘ट्रान्जिट’ सहर पनि हो । पोखरावरपरका पर्यटकीय स्थल पुग्न यहीं सहरमा बास बसेर जानुपर्छ । ट्रेकिङ रुचाउने पर्यटकको प्रवेशद्वार पोखरा नै हो । मनाङ, मुस्ताङ, बागलुङ, पर्वत, म्याग्दीका पर्यटकीय स्थल पुग्दा र फर्कंदा पोखरा बस्नैपर्छ । पदयात्रा पर्यटनले प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आउने अधिकांश पर्यटकको पहिलो गन्तव्य हो— पोखरा । अन्नपूर्ण सर्किट, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, पुन हिल, घोरेपानी, घान्द्रुक, सिक्लेस, ताङतिङ, कपुचे ताल, खोप्रा लेकलगायत पदयात्रा मार्ग पर्यटकको रोजाइमा पर्छन् ।
पोखराबाट सुरु भएर नेपालकै ब्रान्ड बन्न सफल भएको छ, पोखरा सडक महोत्सव । लेकसाइडको ३ किलोमिटर क्षेत्र ‘नो भेइकल जोन’ बनाएर अंग्रेजी नयाँ वर्षमा महोत्सव चल्छ । ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा लिएर रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले हरेक वर्ष यो महोत्सव गर्छ । पर्यटनमा ‘अफ सिजन’ मानिने समयमा हुने महोत्सवमा देशभरबाट आन्तरिक पर्यटक लेकसाइड ओइरिन्छन् । यसबाहेक पोखरा पर्यटन परिषद्ले असार १५ मा रोपाइँ महोत्सव गर्छ । हिलो खेल्ने, गोरु दौडाउने, धान रोप्ने, हिलोमा माछा छोप्ने, हिलोमा दौडने जस्ता क्रियाकलापमा पर्यटक सहभागी हुन पाउँछन् ।
प्रदर्शनी केन्द्रमा पोखरा उद्योग वाणिज्य संघले गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेला, लेखनाथ उद्योग वाणिज्य संघले तालचोकमा गर्ने लेखनाथ महोत्सव, अमरसिंहचौरमा हुने पोखरा महोत्सवले यो सहरलाई महोत्सवको सहरका रूपमा पनि चिनाएको छ । नयाँ वर्ष, वैशाख पूर्णिमा, साउने संक्रान्ति, तीज, दसैं, तिहार, पुसे पन्ध्र, ल्होसार, माघे संक्रान्ति, फागू पूर्णिमा, चैते दसैंलगायतका गाउँ–गाउँमा मेला हुन्छन् । आन्तरिक पर्यटकलाई गाउँ पुर्याउन ती मेला सफल छन् । साहित्य र खेलका गतिविधिहरूले पनि पोखरामा आन्तरिक पर्यटकको संख्या बढाएको छ । पोखरा आउँदा सारंगीको धुन सुन्न गन्धर्व बस्ती खोज्दै हिँड्नेको कमी हुँदैन ।