प्रदेश ५ मा लुम्बिनी दर्शनदेखि विश्वमै दुर्लभ रहेको पाटेबाघसम्मको अवलोकन गर्न पाइन्छ ।
भूगोल, संस्कृति, रहनसहन र जातीय विविधतालाई समेट्न प्रदेश ५ सरकारले प्रदेशलाई ‘मिनी नेपाल’को संज्ञा दिएको छ । समृद्धिको आधार पर्यटनलाई मानिएको छ । स्थलमार्गबाट मुलुकमा सबैभन्दा धेरै पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका छ । त्यसबाहेक बाँकेको नेपालगन्ज, कपिलवस्तुको कृष्णनगर र पश्चिम नवलपरासीको महेशपुर अन्य ठूला नाका हुन् । आगामी वर्ष भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनासाथ अन्तर्राष्ट्रिय हवाई सम्बन्ध कायम हुनेछ । नेपालगन्ज विमानस्थललाई क्षेत्रीय रूपमा स्तरोन्नतिका लागि बहस भइरहेको छ ।
पर्यटन क्षेत्रमा रहेको विविधताले गर्दा यहाँ एउटै रोजाइका गन्तव्य छैनन् । अहिले स्थापित र पर्यटनको केन्द्रका रूपमा बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र रहेका छन् । यहाँ बुद्ध धर्मावलम्बीसँगै विभिन्न आस्थाका मानिस ओइरिन्छन् । अवलोकन गर्ने, बुद्ध दर्शन बुझ्ने र बुद्धको जन्मदेखि मृत्युसम्म जान इच्छुक लुम्बिनी आउने गरेका छन् । यहाँ प्रत्येक वर्ष १५ लाखभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आइरहेका छन् । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनासाथ लुम्बिनीमा आउने पर्यटक ह्वात्तै वृद्धि हुने अपेक्षा गरिएको छ ।
लुम्बिनीलाई आसपासका बौद्धस्थलसित जोडेर ‘बुद्ध सर्किटका रूपमा विकास गर्न लागिएको छ । उक्त सर्किटमा रामग्राम, तिलौराकोट, गोटिहवा, निग्लिहवा, सग्रहवा र देवदह रहेका छन् । कपिलवस्तुमा बुद्ध सम्बन्धित २ सय हाराहारी पुरातात्त्विक स्थल छन् । यी क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष ०७६ घोषणा गरेर मनाइरहेको छ । नेपाल भ्रमण वर्षको लक्ष्य पूरा गर्न लुम्बिनी भ्रमण वर्ष आयोजना गरिएको प्रदेश पर्यटन मन्त्री लीला गिरीले बताए । लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिर र अशोक स्तम्भ हुन् । त्यसबाहेक पवित्र उद्यान क्षेत्रबाट उत्तरतर्फ रहेको अन्तर्राष्ट्रिय गुम्बा क्षेत्रलाई पूर्वी र पश्चिमी विहार क्षेत्र गरी दुई भागमा विभाजन गरिएको छ । त्यहाँ विभिन्न मुलुकले निर्माण गरेका बौद्ध गुम्बा र विहार छन् । शान्ति दीपबाट सुरु भएको केन्द्रीय नहरमा चल्ने डुंगा सयर पर्यटकको अर्को आकर्षण हो । लुम्बिनीका पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि टुर प्याकेज घोषणा गरेका छन् । आन्तरिक पर्यटक लक्षित गरेर ६ हजार ५ सयदेखि ७ हजार ५ सय रुपैयाँमा लजिङ र फुडिङसहितको ३ रात र ४ दिनको प्याकेज तयार गरेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुन श्रेष्ठले बताए । उक्त प्याकेजमा बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीसहित कपिलवस्तु क्षेत्रका विभिन्न ११ वटा गाउँ घुमाउने, चरा अवलोकन, विभिन्न गुम्बा घुमाइने उनले बताए ।
बाघ पहिचान
बर्दिया राष्ट्रिय निकुञ्ज मुलुककै प्रमुख पर्यटकीय गन्तव्य हो । जंगल सफारी, वन्यजन्तु अवलोकन र प्राकृतिक सौन्दर्यका लागि स्थापित छ । पश्चिम क्षेत्रको शानका रूपमा रहेको निकुञ्जमा पछिल्ला वर्ष दुर्लभ पाटे बाघले यसको ब्रान्डिङ गरिरहेको छ । बाघ अवलोकनका लागि देश/विदेशबाट पर्यटक ओइरिने क्रम छ । एकान्त मन पराउने र वन्यजन्तु सफारीमा रमाउनेका लागि यो ‘भर्जिन’ गन्तव्य हो । पाटे बाघ, एकसिंगे गैंडा, हात्ती र मृगका बथान सजिलै अवलोकन गर्न सकिन्छ । निकुञ्जमा अहिले जंगल पदयात्रा, जिप सफारी, हात्ती सफारी, कर्णाली र बबई नदीमा जलयात्रा, क्याम्पिङ, फिसिङ, थारु सांस्कृतिक नाच, थारु समुदायको मौलिक परिकारहरू आदिको अवलोकन गर्न सकिन्छ । निकुञ्जमा अहिले ८७ वटा बाघ छन् । यसैगरी ३७ वटा एकसिंगे गैंडा छन् । १ सयभन्दा बढी हात्ती रहेका छन् ।
स्वर्गद्वारीदेख रुरुसम्म
विश्वभरिका बुद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनी बनेको छ । त्यस्तै अन्य धर्मावलम्बीले सदियौंदेखि श्रद्धापूर्वक धार्मिक यात्रा गर्दै आएका ऐतिहासिक स्थल यहाँका रहेका छन् । त्यसमध्ये स्थापित धार्मिक गन्तव्यमा बर्दियाको ठाकुरबाबा धाम, नेपालगन्जको बागेश्वरी मन्दिर, कपिलवस्तुको तौहिवास्थित तौलेश्वर महादेव मन्दिर, गुल्मीको रुरु क्षेत्र धाम, रेसुंगालगायत छन् । यी मन्दिरमा स्वदेशी साथै छिमेकी भारतबाट दर्शनार्थी आउने गरेका छन् । यीमध्ये प्राचीन र भारतीयको भीड लाग्नेमध्ये स्वर्गद्वारी एक हो । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गद्वारी बुटवलबाट पश्चिम प्युठान जिल्लामा रहेको छ । एकातिर चिताएको पूरा हुने विश्वास । अर्कातर्फ गर्मीमा राहत मिल्ने भएकाले सर्वसाधरण ओइरिने गरेका हुन् । भारतीय तीर्थयात्रीले स्वर्गद्वारीलाई बढी महत्त्व दिने गरेका छन् । स्वर्गद्वारी पुगेपछि स्थानीय गाईको दूध, दही खान पाइन्छ ।
हिल स्टेसन
पहाडी जिल्लाका रमणीय र ऐतिहासिक स्थल तराईका बासिन्दाका लागि गर्मी छल्ने गन्तव्य बनेका छन् । नेपाल र सीमावर्ती भारतीय सहरका बासिन्दा यस्ता गन्तव्यमा ओइरिने गरेका छन् । रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका बासिन्दाका लागि सबैभन्दा नजिकको ‘हिल स्टेसन’ पाल्पाको श्रीनगर डाँडा र ऐतिहासिक रानीमहल हुन् । श्रीनगरबाट हिमाली दृश्य अवलोकन गर्न सकिन्छ । बुटवलबाट ४० किलोमिटर यात्रापछि तानसेन पुगिन्छ । तानसेनबाट १५ किलोमिटर दूरीमा रानी महल रहेको छ । कालीगण्डकी किनारमा रहेको रानीमहल प्रेमको प्रतीक भएकाले त्यहाँ घुम्न जाने अधिकांश युवा हुने गर्छन् । त्यहाँको अर्को विशेषता राति क्याम्पिङ हो । रानी महल क्षेत्रमै टेन्टमा रात बिताउन पाइन्छ । स्थानीय परिकार खाँदै रात बिताउन रानिमहल पुग्ने बढेका छन् । अर्को रमणीय हिल स्टेसन नरपानी हो । पहाडको खोचमा रहेको नरपानीमा यतिबेला थामिनसक्नु भीड लाग्ने गरेको छ । पहाडी खाना लोकल कुखुरा, ढिंडो, सागपात, मौसमअनुसार फलफूल खान पाइन्छ ।
संस्कृति र खानपान
प्रदेश ५ का तराईका जिल्लाहरूमा थारु, अवधी, भोजपुरी समुदाय रहेका छन् । पहाडमा मगर, क्षेत्री, नेवारलगायत समुदाय मिलेर बसेका छन् । उनीहरूका कौंडा, सराय, मारुनी नृत्य प्रदर्शन गरिन्छ । अहिले पर्यटकलाई थारु, पञ्चैबाजा, नेवारी लाखे र धिमे, स्थानीय बिराहा तथा पञ्जाबी संस्कृति प्रदर्शन गरिंदै आएको छ । बर्दियामा थारु, मगर संस्कृति देखाइन्छ । लुम्बिनीमा स्थानीय बिराहा संस्कृति लोकप्रिय छ । पहाडमा मगर संस्कृतिका साथै झाउरे र भजन रुचाइन्छ । यहाँ समुदायपिच्छे फरक खानपान छन् । अहिले पुराना खानाको ब्रान्डिङ बढिरहेको छ । तराईमा घोंगी, लोकल कुखुरा विशेष मानिन्छ । पहाडमा बटुक, सेल र नेवारी खाजाका साथै ढिंडो र लोकल कुखुरा परिकारमा उपलब्ध छन् । यहाँ समुदायपिच्छे खाना र परम्परा रहेकाले जिल्लाअनुसार फरक स्वाद उपलब्ध हुन्छन् । पछिल्लो समय समुदायपिच्छे होम स्टे सञ्चालन गर्ने लहर सुरु भएको छ ।