अर्को साल गरौँला
भनेर थाँती राखेका थुप्रै कामहरू
मेरो अगाडी धर्नामा छन्...
आमाको पथ्थरीको अप्रेसन नगरी भा’छैन
यतिन्जेल त आमाले पनि
थुम्थुम्याउनु भएकै हो, जिद्दी रोग
र, किड्नीकै कुनामा
मिलाएर राख्नुभएको हो, दु:खको पहाड
अब भोलिबाट आमाका कानहरू
मेरो फोनको प्रतीक्षामा हुनेछन्
बाका दाँतहरूले बालाई छोडेर हिँडेदेखि
बाको उन्मुक्त हाँसो नदेखेको थुप्रै भयो
अर्को साल भरौँला भनेर मनाएको हुँ, बालाई
भोलिबाट बाको सपनामा
नयाँ दाँतहरू चम्किलो हाँसो लिएर आउँनेछन्
घरको चुहिएको छानोमा
अर्को साल टिनको छानो लाउला भनेको थिएँ
अब त घरले पनि
घाम र पानीसँग फुर्ती लगाउन थाल्नेछ
सन्तानको आधा भरिएको पेट
प्यारीको बुच्चो नाक, कान र घाँटी
अर्को साल भर्छु भनेर मनाएको छु
देशको लागि गर्नै पर्ने केही काम छन्
जस्तो :–
नागरिक हुनुको धर्म
सन्तान हुनुको धर्म निभाउनै पर्नेछ
एकदिन भएपनि
सिमामा गएर बस्ने कसम खाएको छु
एकछिन भएपनि
माटो समातेर मुठ्ठीमा छाम्नु छ देशको छाती
आफ्नो भने
जुत्ताबाट निस्केर बुढी औँलो भाग्न मात्रै खोज्छ
अरु केही नसके पनि सिलाईदिनुछ जुत्ता
जाडोले निकै धम्क्याईरहेछ
एउटा गलबन्दी किन्छु सोचि नसक्दै
रहरहरू
बाध्यताको बल्छिमा फस्छन् र झुण्डिन्छन् तुन्द्रुङ्ग
आज नयाँ बर्षलाई स्वागत गर्न
घर चाँढो जानुपर्नेछ
तर यतिबेला म साहुका लागि
बर्षभरिको कार्ययोजना बनाउदै छु...
र,
आफ्नै हातले लेखिरहेको छु
आउने बर्षमा कर्मचारीका लागि छुट्टी हुनेछैन
यस बर्ष ब्यपार घाटा भएकोले
तलब वृद्धि हुनेछैन् ।