हरेक साल नयाँ बर्षको प्रारम्भ भएसँगै सबैका आ–आफ्नै खालका प्रतिबद्धताहरु हुन्छन् । कतिपयले नयाँ वर्षलाई सफलताको कडी मान्ने गरेका छन् । कतिपयले भने नयाँ वर्षको प्रारम्भसँगै सुन्दर भविष्यका लागि नयाँ योजना बनाउँछन् । जसले जसरी लिएपनि नयाँ वर्षको रौनक र उल्लासले भने सबैलाई छुने गर्दछ । विश्वभरीनै नयाँ वर्षलाई विभिन्न तरिकाले सेलिब्रेसन गर्ने गरिन्छ ।
सन् २०२० लाई हङकङमा पनि धुमधामका साथ मनाईएको छ । हरेक नयाँ बर्षलाई स्वागत गर्नका लागि हङकङमा सार्वजनिक विदा घोषणा गरिन्छ । सरकारले पर्यटकहरुलाई लक्षित मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना सार्वजनिक स्थानमा गर्ने गर्दछ । नयाँ बर्षलाई मध्यनजर गरेर गरिने आतिसबाजी हङकङको प्रमुख आकर्षक हो । जसका लागि सरकारले लाखौं डलर खर्च गर्दछ ।
सन् २०२० को नयाँ बर्षमा रौनकतासँगै निराशा पनि देखियो । लगभग ६ महिनादेखि निरन्तर चलेको आन्दोलनले हङकङ आर्थिक, सामाजिक र राजनैतिक तवरले तनावग्रस्त अवस्थामा छ । यो दु:खद घडिमा रौनकता गर्न नसकिने र सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त नहुने भन्दै हङकङ सरकारले आतिसबाजी नगर्ने घोषणा गऱ्यो ।
नयाँ बर्षमा अत्याधिक जमघट हुने रात्रीकालिन स्थानहरु सेन्ट्रल, वानचाई, चिमसा चोई लगायतका स्थानहरुमा प्रहरीको कडा सुरक्षा घेरामा युवायुवतीहरुले रमाईलो गरिरहेको देखियो । मेनपावर सप्लाई म्यानेजमेन्ट कम्पनीका सिईयो बेलायतका ब्रिन जाम भन्छन् नयाँ बर्षमा रमाईलो त हुदैछ तर वरिपरिको वातावरण अनि प्रहरीहरुको बाक्लो उपस्थितीले नरमाईलो महशुस भईरहेको छ ।
आन्दोलनको कारण रमाईलो गर्ने मन भएपनि सुरक्षित महशुस नभएको ब्यवसायी तुलसी उप्रेती बताउँछन् । सवैको आशा र विश्वासका साथ नयाँ बर्षमा हङकङमा शान्ति र अमैनचैन हुनेछ भन्ने कामना गरेका छौ उनी भन्छन् ।
आशा र निराशाका बीच हङकङका नेपालीहरु नयाँ बर्षलाई लक्षित गरिएका विभिन्न कार्यक्रमहरुमा सहभागी भए । बगैँचा रेष्टुरेन्ट एण्ड बार, याक एण्ड यति रेष्टुरेन्ट लगायतका नेपाली लगानी भएका बार र रेष्टुरेन्टहरुले पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेका थिए ।
संसारकै उत्कृष्ट रात्रिकालिन मनोरञ्जनात्मक दैनिकी रहेको हङकङमा डर, त्रास, निराशा, आशा र नया विहानीको संयोजन गजबको देखियो ।