हङकङमा रहेका नेपालीहरुले ‘टोपी दिवस’ मनाएका छन् । अंग्रेजी नयाँ वर्ष र टोपी दिवसको शुभकामना आदनप्रदानका लागि आयोजना गरिएको कार्यक्रममा हङकङ स्थित नेपाली महावाणिज्यदूतावास, विभिन्न संघसस्थाका पदाधिकारीहरु, ब्यवसायी, बुद्धिजिवीहरु भेला भएका थिए ।
सुन्दर पर्यटकयी स्थल चिमसा चोई स्थित स्टार फेरीमा नेपाली पोशाक, ढाका टोपी लगाएर सहभागीहरुले एकआपसमा शुभकामना आदनप्रदान गरे । विभिन्न देशका पर्यटकहरुको उल्लेख उपस्थित रहने स्टारफेरीमा नेपालीहरुको पोशाक र टोपीका बारे उत्साहित पर्यटकहरुले सोधेका थिए ।
हङकङ स्थित महावाणिज्यदुत कमलप्रसाद भट्टराई भन्छन् हाम्रो नेपाली टोपी संसारभरिकै उत्कृष्ठ नमुना हो । जाडो छल्नका लागि या फेसनको लागि संसारैभरि विभिन्न प्रकारका टोपीहरुको प्रचलनमा आएको हुन्छ तर हाम्रो राष्ट्रिय पोशाकसँग सुहाउँने प्रकृतिको टोपीलाई पहिचानकैरुपमा विकसित गरिएको छ । अहिले हामी पर्यटन बर्ष २०२० मा छौ, हाम्रो पहिचानको प्रतिक नेपाली टोपीलाई प्रर्वद्धनसँगै यसको प्रचारप्रसारको पनि आवश्यक छ ।
नेपालबाट शुरु भएर विश्वभरि जनवरी १ तारिकलाई टोपी दिवसकोरुपमा मनाउँन थालिएको हो । टोपी प्रतिष्ठानसँग टोपी दिवसको बारे गरिएको कुराकानी र सहकार्य पछि गत सालबाट हङकङमा पनि यो दिवस मनाउँन थालियो संयोजक कृष्ण पाण्डे बताउँछन् । टोपी हाम्रो राष्ट्रियतासँग जोडिएको छ, यो हाम्रो मैलिक पहिचान हो । गत सालबाट हङकङमा पनि शुरु भएको यो दिवसले अहिले ब्यापकता पाएको छ । बर्षमा एकदिन भएपनि हामीले हाम्रो राष्ट्रियताको प्रतिक टोपीलाई प्रर्दशन गर्न पाएका छौ उनी भन्छन् ।
आउँने पुस्ताको लागि हाम्रो पहिचान र राष्ट्रियताको प्रतिक टोपीलाई अक्षुण राख्नका लागि यो दिवसलाई निरन्तरता दिनुपर्ने कानुन ब्यवसायी जेबि ओख्राबु, लबकुमार गुरुङ, ईन्द्र वनेम बताउँछन् ।
विदेशी भुमीमा खासै नेपाली ढाका टोपी लगाएको देख्न पाईदैन, अझ नयाँ पुस्ताका युवायुवतीहरुलाई यसको महत्व समेत थाहा छैन । हामी आफै पनि नेपाली टोपीको खासै प्रयोग गर्दैनौ तर यो हाम्रो नेपालीपनको प्रतिक हो । बर्षौदेखिको ऐतिहासिकतालाई संरक्षण गर्नको लागि पनि यस्ता दिवसहरुले महत्वपुर्ण भुमिका खेल्दछ नेपाल चेम्बर्स अफ कमर्स हङकङ अध्यक्ष डासुराम पराजुली बताउँछन् ।
त्यसो त एनआरएनए हङकङका महासचिव गोकर्ण ढकालको आफ्नै तर्क छ उनी भन्छन् –‘बर्षमा एकदिन मात्र टोपी लगाउदैमा हाम्रो राष्ट्रियता झल्कदैन । तर विदशी भुमिमा ब्यस्त समयको बापजुत पनि आफ्नो देश र राष्ट्रियताप्रतिको वफादारिता र ईमान्दारिता अवश्य झल्कन्छ । भलै हामी टोपी सदैव लगाउदैनौँ तर जब म नेपाली हु भन्ने कुरा अरुलाई देखाउँने समय आउछ अवश्य म मेरो राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा देखिन्छु ।’
सम्पन्न टोपी दिवस कार्यक्रममा ‘भिजिट नेपाल २०२०’ को प्रचार अंकित लोगो समेत प्रर्दशन गरिएको थियो ।