महँगा खेलाडीहरू

- साप्ताहिक संवाददाता

पुस १७, २०७६

विश्वकै सर्वाधिक आर्थिक कारोबार हुने व्यावसायिक क्रिकेट प्रतियोगितका रूपमा रहेको आईपीएलको खेलाडी लिलामीमा यसपटक अस्ट्रेलियाका क्रिकेटरहरू नै हावी भए । सर्वाधिक मूल्यमा खरिद गरिएका पाँच खेलाडीको सूचीमा अस्ट्रेलियाका ३ खेलाडी, दक्षिण अफ्रिका र वेस्ट इन्डिजका एक/एक खेलाडी परे ।

यसपटकको आईपीएलमा सर्वाधिक महँगो मूल्य तिरेर कोलकता नाइट राईडर्सले अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कुमिङ्सलाई खरिद गर्‍यो । टेस्ट क्रिकेटमा उत्कृष्ट बलरको र्‍याङ्कमा रहेका प्याटलाई १५ करोड ५० लाख भारुमा कोलकताले खरिद गरेको थियो । यो लिलामीमा रोयल च्यालेन्जर बेंगलुरसँग २३ करोड र दिल्ली क्यापिटलसँग २६ करोड भारु भए पनि कोलकताले आफ्नो पक्षमा उनलाई पार्न सफल भएको थियो ।

अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल यसपटक आईपीएलको खरिदमा दोस्रो महँगा खेलाडी बने । ग्लेनलाई आफ्नो टिममा पार्न यसपटक दिल्ली क्यापिटल र किंग इलेभेन पन्जाबबीच प्रतिस्पर्धा भएको थियो । ४ करोड भारुबाट खरिद प्रक्रिया सुरु हुँदा पन्जाबले ९ करोड तिर्न मञ्जुर भयो । यो बेलामा पन्जाबसँग ४२ करोड भारु थियो भने दिल्लीसँग २६ करोड भारु रहेको थियो । अन्तत: पन्जाबले ग्लेनलाई १० करोड ७५ लाख भारुमा खरिद गर्न सफल भयो । 

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर क्रिस मोरिस ट्वाटी–२० क्रिकेटका अनुभवी खेलाडी मानिन्छन् । चेन्नाई सुपर किंग, राजस्थान रोयल्स, दिल्ली क्यापिटलबाट क्रिकेट खेलिसकेका मोरिसले २ सय ३७ विकेट लिइसकेका छन् । यसपटक भएको लिलामीमा उनलाई १० करोड भारुमा रोयल च्यालेन्जर्स बेंगलुरले आफ्नो टिममा पार्न सफल भयो ।

वेस्टइन्डिजका पेसर सेल्डन क्रोटेललाई किंग इलेभेन पन्जाबले आफ्नो टिममा पार्न सफल भयो । सन् २०१४ मा इंग्ल्यान्डविरुद्ध ट्वान्टी–२० खेलेर अन्तर्राष्ट्रिय क्रिकेटमा उनले प्रवेश गरेका थिए । सन् २०१५/१६ मा क्रिकेटमा खासै सक्रिय नभएका सेल्डनलाई पन्जाबले यसपटक ८ करोड ५० लाख भारु तिरेर आफ्नो टिममा पारेको थियो ।

अस्ट्रेलियाका नाथान कुल्टर नाइललाई यसपटक मुम्बाई इन्डियन्सले आफ्नो टिममा पार्न सफल भयो । ट्वान्टी–२० को १ सय ८ खेल खेलेका नाथानले १ सय ३० विकेट लिइसकेका छन् । जसका कारण उनलाई खरिद गर्न १ करोड भारुवाट खरिद बढाबढ भएको थियो । मुम्बई र चेन्नाईबीच प्रतिस्पर्धा भएको यो लिलामीमा नाथानलाई मुम्बईले ८ करोड भारुमा आफ्नो टिममा पारेका थिए ।

प्रकाशित :पुस १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×