घरेलु तथा साना उद्योगहरूको विकास र बजारीकरण तथा कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बागलुङमा महोत्सव सञ्चालन भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा २०५९ देखि थालिएको महोत्सवलाई निरन्तरता दिँदै छैटौँ महोत्सव आयोजना भएको हो । कला र संस्कृति संरक्षणमा मेला महोत्सव सहयोगी बन्दै आएको आयोजकको भनाइ छ ।
स्थानीय उत्पादन, कृषि र घरेलु उद्योगका सामग्रीहरू स्टलमा राखिएको छ । राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, राष्ट्रिय कलाकारहरूको भेट, भजन प्रतियोगिता, खुला पुरुष तथा महिला भलिबल प्रतियोगितालगायतका कार्यक्रमले मेलाको रौनक थपेको छ । मेलामा राष्ट्रिय रूपमा ख्याति कमाएका प्रकाश सपूत, वसन्त थापा, विष्णु खत्री, श्रीकृष्णबम मल्ल, चोलेन्द्र पौडेल, कुलेन्द्र बिकजस्ता दर्जनौं कलाकारले प्रस्तुति देखाएका छन् । पुसको २१ गतेसम्म चल्ने महोत्सवमा दैनिक लोकदोहोरी गीत प्रतियोगितासँगै राष्ट्रिय कलाकारहरूबीच समेत दोहोरी प्रतियोगिता राखिएको छ ।
महिलाहरूको आकर्षणका रूपमा लठ्ठो तान्ने र रत्यौली गीतहरू सञ्चालन भएका छन् । मेलामा जिल्लाका होमस्टेहरूले अर्गानिक खाना खुवाएका छन् । त्यस्तै उनीहरूले आफ्नो क्षेत्रका लोकगीत संगीत र जातीय वेशभूषाका संस्कृति पनि देखाएका छन् । भ्रमण वर्ष–२०२० लाई पनि सफलतामा लैजान महोत्सवले भूमिका खेलेको संघका अध्यक्ष युवराज राजभण्डारी बताउँछन् । मेला र महोत्सवकै अवसर पारेर ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषि फसल र अन्य घरेलु उद्योगका सामग्री बिक्री कक्षहरू सञ्चालन छन् । महोत्सवमा २ सय बढी व्यापारिक स्टल राखेर व्यवसायको अवसर दिइएको आयोजकको भनाइ छ । साथै महोत्सवमा प्याराग्लाइडिङको अवसरसमेत दिइएको छ ।