साप्ताहिक संवाददाता
गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतको रूपमा नियुक्त भएका छन् । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो ।
गायक सपूत साङ्गीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उनका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका हुन् ।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मेका सपूतले गण्डकीजस्तो सुन्दर प्रदेशको सद्भावना दूतमा नियुक्त हुन पाउनुलाई महत्वपूर्ण उपलब्धी र जिम्मेवारीका रूपमा लिएको बताए । गायक सपूतले आफ्नो र समग्र नेपाली साङ्गीतिक क्षेत्रको पहिचानलाई प्रदेश सरकारले मूल्याङ्कन गरेको धारणा राखे ।
‘म अब जहाँ–जहाँ कार्यक्रमका सिलसिलामा पुग्छु, भ्रमण वर्षको प्रचार गर्नेछु’, उनले भने, ‘मेरा सिर्जनामा पनि नेपालका पर्यटकीय गन्तव्यका भिडियो र विषयवस्तु समेट्ने प्रयास गर्नेछु ।’
भ्रमण वर्षको सफलताका लागि सिर्जनात्मक, रचनात्मक र प्रचारात्मक हिसाबले सहयोगी भूमिका खेल्ने गायक सपूतले प्रतिबद्धता जनाए । ‘विशेषगरी आन्तरिक पर्यटकलाई गण्डकी प्रदेश भ्रमणका लागि आकर्षित गर्नु मेरो दायित्व हुनेछ’, उनले भने, ‘विदेशका कार्यक्रममा पनि भ्रमण वर्षको प्रचार गर्छौँ ।’
सपूतको ‘बोलमाया’, ‘गलबन्दी’लगायतका गीत बहुचर्चित छन् । डेढ वर्षअघि सार्वजनिक ‘बोलमाया’ गीतले सपूतलाई एकाएक चर्चामा ल्याएको थियो ।
गायक सपूतसँगै म्याग्दीका कीर्तिमानी आरोही निर्मल पूर्जा पनि भ्रमण वर्ष २०२० को सद्भावना दूतका रुपमा नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारले पनि भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।