अहिले कतिपय दम्पत्ती मायालाई ‘लिने र दिने वस्तु’ मान्न थालेका छन् । जीवनको सबैभन्दा ठूलो भावनात्मक पक्ष ‘माया’लाई नै बहिखातामा राखिएको रकमजस्तै हिसाबकिताब गर्न थालेपछि त्यो सम्बन्ध कसरी दिगो बनोस् ?
वैवाहिक जीवनमा समर्पण, त्याग, परस्पर सम्मान आदि कुराको महत्त्व हुन्छ । एक–अर्काका कुरा नबुझ्ने, अन्तक्र्रिया नगर्ने, एकअर्कासँग विश्वास कायम गर्न नसक्नेजस्ता कारणले पनि सम्बन्धहरू बिग्रिरहेका देखिन्छन् ।
ठ्याक्कै ३६ वर्ष भएछ, कुन्ती मोक्तान र शिलाबहादुर मोक्तानको विवाह भएको । साढे तीन दशकका १३ हजारभन्दा बढी दिनमा शिलाबहादुरले कुन्तीको माया अपुग भएको कहिल्यै महसुस गरेका छैनन्, न त कुन्तीले नै शिलाबहादुरको मायामा उतार–चढाव आएको अनुभूत गरिन् । किशोर उमेरमै प्रेमविवाह गरेका कुन्ती–शिलाको जोडीको प्रेम एउटै वेगमा अविरल बगिरहेको छ । रहस्य के हो ? ६३ वर्षीय शिलाबहादुर भन्छन्, ‘मैले प्रेम गरेकी कुन्ती जहिल्यै उस्तै रहिन् ।’ जीवनका आरोह–अवरोहमा कहिल्यै महत्त्वाकांक्षी नहुनु पनि आफ्नो वैवाहिक जीवन सुखमय हुनुको कारण मान्छ, यो जोडी । ५७ वर्षीया कुन्तीलाई लाग्छ—कहिल्यै उनीहरूले आफ्नै वैवाहिक सम्बन्धलाई भर्याङ सम्झेनन्, माथि–माथि उक्लिने, उक्लेपछि भर्याङ बिर्सने ।
अभिनेत्री सरिता लामिछाने र निर्देशक ऋषि लामिछानेको वैवाहिक सम्बन्धलाई पनि रोलमोडल मानिन्छ । ऋषि र सरिताबीच विवाह हुँदा सरिता २० वर्ष कटेकी थिइनन्, ऋषिको उमेर पनि भर्खर २० बाट उकालो लागेको थियो । दुवैले भर्खरै करिअर सुरु गर्दै थिए । ऋषि पहिलेदेखि नै चलचित्रमा संघर्ष गर्दै थिए, कालान्तरमा सरिता पनि त्यहीं आइन् । चमकधमक बढी हुने अनि आपसी अविश्वास र शंका छिटो विकसित हुने ठानिने ग्ल्यामर क्षेत्रमा पनि उनीहरूको मधुर सम्बन्धमा कुनै नमीठो क्षण आएको देखिएन । भेट भएको दुई वर्षपछि विवाह गरेको यो जोडीको वैवाहिक सम्बन्ध अहिले २२औं वर्षमा हिँडिरहेको छ । दुई दशक नाघिसकेको मधुर वैवाहिक सम्बन्धको कारण के हो त ? ऋषि भन्छन्, ‘एक–अर्काप्रतिको सम्मान, एक–अर्कालाई बुझ्नु नै हो ।’ सरिता थप्छिन्, ‘विश्वास, माया र अनुशासन सबैभन्दा मुख्य कारण हो । माया देखाउने होइन, फिल गर्ने कुरा रहेछ । त्यही फिलिङमा रहेको जीवन्तता नै हाम्रो वैवाहिक सम्बन्धको ऊर्जा हो । कहीँ श्रीमान् बन्ने, कहीँ श्रीमती बन्ने । कहीँ साथी बन्ने शैलीले नै हामीलाई आजीवन प्रेमी बनायो ।’
हालसम्म सफल वैवाहिक सम्बन्धमा बाँधिएका यी दुई जोडी धेरैका लागि ‘रोलमोडल’ हुनसक्छन् । त्यो किनभने यतिबेला नेपाली समाजमा कमजोर वैवाहिक सम्बन्ध एउटा ठूलो चुनौती बन्दै गएको छ । विवाह सम्बन्धहरू जुन गतिमा भत्किँदै जाने थालेका छन्, त्यसले यो सम्बन्ध टिकाउने आधारको खोजी समयमै गर्नुपर्ने आवश्यकता प्रस्ट देखिन्छ । पछिल्लो १० वर्षमा सम्बन्ध–विच्छेद हुने प्रवृत्ति नेपाली समाजमा ह्वात्तै बढेको छ । ६६/०६७ मा देशभरि ५ हजार १ सय ९ सम्बन्ध–विच्छेदका मुद्दा दर्ता भएकोमा ०७५/७६ मा त्यो संख्या बढेर २३ हजार ३ सय ६ पुगेको छ ।
खुला र आधुनिक समाजमा वैवाहिक सम्बन्ध ‘लेनदेन’ र ‘नाफा र घाटा’को विषय बन्दै गएको छ । एकातिर व्यस्तता, महत्त्वाकांक्षा, आशंका, शारीरिक असन्तुष्टि र मानसिक तनावले पार्टनरबीच फाटो आइरहेको छ भने अर्कोतिर महिला सशक्तीकरण, निजी सम्पत्तिको मोह, लचक कानुन, सोसल डिसअर्गनाइजेसन पनि वैवाहिक सम्बन्ध टुट्नुका कारण बनेका छन् ।
काठमाडौंकी २९ वर्षीया ऋतिका महर्जन (नाम परिवर्तन) र ३३ वर्षीय आशाकाजी डंगोल (नाम परिवर्तन) को बिहेको चार महिनामै सम्बन्ध–विच्छेद भयो । ०७५ वैशाखमा बिहे गरेर साउनमा छुट्टिएका ऋतिका र आशाकाजी अलग हुनुको उति ठूलो कारण छैन, काठमाडौं जिल्ला अदालतमा ऋतिकाले दर्ता गरेको सम्बन्ध–विच्छेदको मुद्दामा श्रीमान्सँग दाइजोको विषयलाई लिएर विवाद भएको र झर्किने गरेका कारण आफूले सम्बन्ध–विच्छेद चाहेको उल्लेख छ ।
यसै वर्ष साउनमा धनकुटाका ७७ वर्षीया बर्मध्वज राईले आफ्नी ६० वर्षीया पत्नी बर्मेश्वरी राईसँग सम्बन्ध–विच्छेद गरे । यो सम्बन्ध–विच्छेदको कारण घरायसी खटपटलाई मानिएको छ । २०३४ सालमा विवाह गरेका उनीहरूको दुई दशकदेखि असहमति सम्बन्ध–विच्छेदमा टुंगिएको थियो । सानोतिनो विवाद, अविश्वास र शंकाकै कारण एकझमटमै वैवाहिक सम्बन्ध टुंगिएका यस्ता अनेक नजिर भेटिन्छन्, अदालतमा ।
रेमिट्यान्समा निर्भर अर्थतन्त्र भएको नेपालजस्तो देशमा बढ्दो वैदेशिक रोजगारीपछि उत्पन्न एक्लोपन र अविश्वास पनि पारिवारिक विखण्डनको एउटा मुख्य कारण बनेको घटनाक्रमहरूले देखाउँछन् । आर्थिक प्रलोभन, विलासी जीवनशैलीप्रतिको मोह, घरेलु हिंसा, हाइफाइ जीवनशैली, व्यस्तता, मनमुटाव, पार्टनरबाट मानसिक तथा शारीरिक आकांक्षापूर्ति खड्किने अभावजस्ता कारणले पनि वैवाहिक सम्बन्ध धरापमा पर्न थालेका छन् ।
अधिवक्ता सुवास आचार्य नेपालमा वैवाहिक सम्बन्ध टुट्नुको मुख्य कारण बदलिँदो सामाजिक, आर्थिक परिस्थिति, कानुनको लचकता र व्यस्त जीवनशैलीलाई मान्छन् । ‘सम्बन्ध–विच्छेदका मुख्य कारण बदलिँदो सामाजिक आर्थिक परिस्थिति र कानुनको लचकता हो,’ आचार्य भन्छन्, ‘व्यस्त जीवनशैली, स्वतन्त्रता, पाश्चात्य जीवनशैलीको अनुकरण, महिला सशक्तीकरणजस्ता कारणले पनि सम्बन्ध–विच्छेद बढिरहेको देखिन्छ ।’ उनका अनुसार अहिलेको सोसल डिसअर्गनाइजेसनले पनि सम्बन्ध–विच्छेदमा बढोत्तरी भएको हो ।
आधुनिक जोडीहरूको वैवाहिक जीवनमा देखिएको विग्रहलाई कसरी रोक्न सकिन्छ ? वैवाहिक सम्बन्धलाई कसरी ‘लङ लास्टिङ’ बनाउने ? वैवाहिक सम्बन्ध अन्त्यको बढ्दो आँकडाले यी प्रश्नलाई टड्कारो बनाइदिएको छ । बढ्दो पारिवारिक विग्रहका पछाडि वैवाहिक जोडीहरूमा एक–अर्काप्रति समर्पण, सम्मान, विश्वास, त्याग, प्रेम र निष्ठा खड्किएको अभाव पनि मुख्य कारणमध्ये रहेको देखिन्छ ।
क्लिनिकल साइकोलोजिस्ट डा. मिता राना वैवाहिक जोडीहरू आपसमा सहमतिमा नआउँदा र बुझाइको तह मिलाउन नसक्दा छुट्टिने गरेको बताउँछिन् । ‘दुई जनाको आ–आफ्नै व्यक्तित्व हुन्छ, जीवनको लक्ष्य, उद्देश्य र रुचिहरू पनि फरक–फरक हुन्छन् । यस्ता कुरामा सम्बन्ध बनाउनुअगाडि नै हामी एकदमै स्पष्ट हुन जरुरी छ,’ त्रिभुवन विश्वविद्यालयकी एसोसियट प्रोफेसरसमेत रहेकी डा. राणा थप्छिन्, ‘विवाहपूर्व नै केटीका कति कुरा स्वीकार गर्न सक्छ भन्ने विषयमा केटा र केटाका कति कुरामा एडजस्ट गर्न सकिन्छ भन्ने कुरामा केटी स्पष्ट हुनुपर्छ ।’
सम्पत्तिप्रतिको चरम मोह र सुखको लालसाले मात्रै पनि कतिपय वैवाहिक सम्बन्धहरूको पीडादायी अन्त्य भएको देखिन्छ । डा. राणा थप्छिन्, ‘सँगसँगै भइसकेपछि सुखमात्रै हुँदैन, कठिन अवस्था आउँदाखेरि एकअर्काको झन् बलियो सपोर्ट चाहिन्छ ।’ जेरेमी ब्राउनको फेदरल्लीमा प्रकाशित एक लेखमा विवाहिता जोडीमा अनावश्यक र पूरा नहुने आकांक्षा भएमा विवाह लामो समय टिक्न नसक्ने उल्लेख छ । उनले वैवाहिक सम्बन्ध दीर्घकालीन बनाउन एक–अर्कामा सकारात्मकता र वास्तविकतासँग मेल खाने सपना हुनुपर्ने बताएका छन् ।
वैवाहिक जीवनमा समर्पण, त्याग, परस्पर सम्मान आदि कुराको महत्त्व हुन्छ । एक–अर्काका कुरा नबुझ्ने, अन्तक्र्रिया नगर्ने, एकअर्कासँग विश्वास कायम गर्न नसक्नेजस्ता कारणले पनि सम्बन्धहरू बिग्रिरहेका देखिन्छन् । मनोविद् करुणा कुँवर भन्छिन्, ‘आत्मीयता, यौन जीवन सबै कुराले विवाहमा भूमिका खेल्छ । बेडरुमभित्र पनि स्पेस र रेस्प्याक्टका कुराहरू छन् । व्यक्तिगत दायराको सम्मान भएपछि दुवै जनाले सबै कुरा सहजै लैजान सक्छन् ।’ उनकाअनुसार एक–अर्काप्रतिको सम्मान यो सम्बन्धको सबैभन्दा मुख्य जग हो ।
लेखक तथा ब्लगर मार्क म्यासनले १५ सयभन्दा बढी सुखी विवाहित जोडीमा गरेको अनुसन्धानले पनि लामो वैवाहिक जीवन हुनुमा एकअर्काप्रतिको सम्मान मुख्य कारण देखाएको छ । उनले ती सुखी जोडीहरूलाई सोध्दा उनीहरूले विवाह टिक्नुको कारणका रूपमा एकअर्काबीच सदैव सम्मान, एकअर्कालाई आवश्यक समय दिनु, एकअर्कालाई बुझ्नुलाई बताएका थिए । साइकोलोजिस्ट टेसा बर्न मार्टिनले पनि विवाह लामो समय टिक्नुका पछाडि यस्तै कारण अगाडि सारेकी छन् । उनले संवाद, दया, प्रतिबद्धता, स्वीकृति र मायालाई विवाह लामो समयसम्म टिकाउने प्रमुख कारण मानेकी छन् ।
अहिले कतिपय दम्पत्ती मायालाई ‘लिने र दिने वस्तु’ मान्न थालेका छन् । जीवनको सबैभन्दा ठूलो भावनात्मक पक्ष ‘माया’लाई नै बहिखातामा राखिएको रकमजस्तै हिसाबकिताब गर्न थालेपछि त्यो सम्बन्ध कसरी दिगो बनोस् ? दुई वर्षअघि वासिङ्गटन पोस्टमा प्रकाशित ‘द सेक्रेट टु लङ लास्टिङ म्यारिज’ शीर्षकको आलेखमा कोर्नेल युनिभर्सिटीका प्रोफेसर कार्ल पिल्मरले विवाह लामो समय टिक्नुको प्रमुख कारण ‘माया’ नै रहेको बताएका छन् । डा. राणा पनि सम्बन्धलाई दीर्घकालीन र दिगो बनाउन आपसी विश्वास, दया, माया, भावना पक्षहरू बलियो बनाउनुपर्नेमा जोड दिन्छिन् ।
मायासँगै निकटताले पनि वैवाहिक सम्बन्धलाई दीर्घ बनाउने गरेको पाइन्छ । ‘थर्टी लेसन फर लभिङ’ पुस्तकका लेखकसमेत रहेका पिल्मरले ७ सयजना ज्येष्ठ जोडीहरूलाई भेटेर लामो प्रेम सम्बन्धको कारण पहिल्याउने प्रयास गरेका थिए । अन्तर्वार्तामा सहभागी धेरैले लामो वैवाहिक सम्बन्ध कायम हुनुको मुख्य कारण एकअर्कालाई शरीरिक रूपमा स्पर्श गर्न पाएकाले पनि हो भने । स्पर्शले प्रेममा अर्कै किसिमको आनन्द ल्याउँछ भने यसले उनीहरूको अधिकारलाई अझ बढावासमेत दिने गरेको बताए । पिल्मरका अनुसार कतिपयमा प्रेमको भावनासाथ हुँदा पनि देखिन्छ भने कतिपयमा साथ नहुँदा पनि देखिने गर्छ ।
म मात्रै कति त्याग गर्ने ? एक्लै दु:खमात्रै कति गर्ने ? जस्ता अनेकन द्वन्द्वजन्य र निराशाजनक कुराले पनि विवाह सम्बन्ध भड्खालोमा पुर्याइरहेका हुन्छन् । जब सम्बन्धमा यस्ता हिसाबकिताब हुन थाल्छन्, त्यसपछि सम्बन्ध विस्तारै पूर्णविरामको दिशामा जान्छ, जसले पतिपत्नी विवाहको केही वर्षमै अलग–अलग बाटोमा निरस जीवन बिताउन बाध्य हुन्छन् । वैवाहिक सम्बन्धमा एकअर्काको दायरा र नियन्त्रणका विषयले विवाद सिर्जना गरिरहेको हुन्छ, त्यसमा विवाहपूर्व नै स्पष्ट हुनुपर्ने मनोविद कँुवर बताउँछिन् । ‘दुई जना अपोजिट पार्टनरमा विवाहपछि मैले सोचेजस्तो नै उसले गर्नुपर्छ भन्ने बुझाइ एकअर्कामा आयो भने विवाह समस्यामा पर्छ,’ उनी भन्छिन्, ‘व्यक्तिगत दायरालाई कदर गर्ने हो भने एकअर्काप्रति सम्मानजनक सम्बन्ध विकास हुन्छ । त्यो दायराप्रतिको सम्मानले एकअर्कासँग बफादारिता निर्वाह गर्न सक्ने वातावरण सिर्जना गर्छ ।’
वैवाहिक जीवनमा समस्या पुर्याउने वा बढाउने माध्यमका रूपमा यतिबेला सामाजिक सञ्जाल र स्मार्टफोनहरू पनि बनेका छन् । दम्पतीहरूबीच बेड न्यानो बनाउन सञ्जीवनी बुटी मानिने स्पर्श, संवादजस्ता पक्षहरूलाई सामाजिक सञ्जाल र स्मार्टफोनहरूले निलिरहेका छन् । यसले पनि मानिसमा जीवन्त सम्बन्धलाई कृत्रिमतातिर धकेलिरहेको छ । मनोविद् कुँवर पनि यसमा सहमत छिन् । ‘श्रीमान्–श्रीमतीले एकअर्काको अनुहार हेरेर सुत्दैनन्, अनुहार हेर्छन् ग्याजेटको । त्यसमा पनि फेसबुक धेरैजनाको कमन प्ल्याटफर्म हो । कतिसम्म भने श्रीमान्–श्रीमतीको बर्थ डे विस, एनभर्सरी विस पनि फेसबुकमा हुन्छ,’ उनी भन्छिन्, ‘बिहान सँगै उठ्दा विस गरेर उठ्दा पनि हुन्छ । फेसबुकमा विस गर्दा धेरै जनाले माया गरेको थाहा पाउँछन् भन्ने बुझाइ भइसकेको छ । एकदमै कृत्रिम भइसकेको छ । सम्बन्ध मधुर बनाउन बेडमा हुने जीवन्त संवाद नै हुन छाडेका छन् ।’
विच्छेदमैत्री कानुन
-सुवास आचार्य
नेपालमा सम्बन्ध–विच्छेदको दर बढेको देखिनुमा पहिलो कारण त यसबारे कानुनमा व्यवस्था भएर आउनु हो । पहिले महिलाले मात्रै फिराद गर्न पाउने व्यवस्था थियो । अहिले नयाँ कानुनमा पुरुषले पनि फिराद गर्न पाउने व्यवस्था छ । पहिले पनि पुरुषले सम्बन्ध–विच्छेद गर्न सक्थे, तर वडा कार्यालयदेखिको लामो प्रक्रिया हुन्थ्यो । अहिले पुरुषका लागि सम्बन्ध–विच्छेद गर्नु झन्झटिलो छैन । पुरुष वा महिलामध्ये एकले फिराद गरेपछि अदालतले मिलापत्रका लागि एक वर्षको समय दिन्छ । त्यो अवधिमा मिलापत्र भएन भने अदालतले फैसलामार्फत सम्बन्ध–विच्छेदको निर्णय गर्छ ।
बदलिँदो सामाजिक–आर्थिक परिस्थिति र कानुनको लचकता सम्बन्ध–विच्छेदका मुख्य कारण हुन् । स्वतन्त्रता, पाश्चात्य जीवनशैलीको अनुकरण, महिला सशक्तीकरण, व्यस्त जीवनशैलीजस्ता कारणले पनि सम्बन्ध–विच्छेद बढी देखिएको हो । पहिले जसरी महिलाहरू श्रीमान्सँग कम्प्रोमाइज गर्थे, सशक्तीकरण र महिला आन्दोलनहरूले गर्दा अहिले उनीहरूले त्यसो गर्दैनन् । पहिले पुरुषको सफलतामा महिलाहरू पनि आफ्नो सफलता देख्थे । अहिले श्रीमान् र श्रीमती दुवैमा स्वतन्त्र ढंगले आफैं सफल हुने होड चल्छ । व्यक्तित्व विकास र करिअर निर्माणका दृष्टिले उनीहरूको मिलनबिन्दु नै टाढा हुन थाल्यो । ‘मिन्स टु इन्ड’को यो दौडले पनि सम्बन्ध–विच्छेदलाई बढावा दियो ।
अहिलेको सामाजिक असंरचनाले पनि सम्बन्ध–विच्छेदलाई बढाएको छ । पहिला सामाजिक संरचना एकताबद्ध थियो । नातागोता, छरछिमेक र इष्टमित्रसँग डराउने हुन्थ्यो, अहिले ती सामाजिक सम्बन्धका नटहरू कमजोर भएका छन् । त्यसकारण नियन्त्रण गर्ने आफ्नो विवेकबाहेक केही भएन । आवेशमा आएर रिस पोख्ने, एकछिनको क्रोधकै कारण सम्बन्ध बिग्रने समस्या पनि देखिन्छ । यसले श्रीमान्–श्रीमतीबीचमा दूरी बढाउँछ, कालान्तरमा त्यही सम्बन्ध–विच्छेदको कारण बन्छ । परिणाम, काठमाडौं, पोखरा, चितवनजस्ता बढी बसाइँसराइ भएका सहरहरूमा सम्बन्धविच्छेद बढी देखिन्छ ।
रोजगारीको अभावले पनि सम्बन्ध–विच्छेदलाई बढाइरहेको छ । श्रीमान्–श्रीमती रोजगारीको खोजीमा भिन्न–भिन्न ठाउँमा बसोबास गर्छन् । भिन्दा–भिन्दै स्थानमा बस्दा–बस्दै उनीहरूमा फरक किसिमको मनोविज्ञान र जीवनशैलीको विकास भएको हुन्छ, जसले उनीहरूपछि एकअर्काको जीवनशैलीसँग घुलमिल गर्न कठिन हुन्छ । यसले पनि सम्बन्ध–विच्छेद बढाएको छ । अर्कातर्फ, कानुन बनेपछि लामो समय बाध्यतामा मौन बसेका पुरुषहरू पनि कानुन आएपछि खुलेर आएका छन् । यसले केही वर्ष सम्बन्ध–विच्छेद अझ बढेको देखिनेछ ।
(आचार्य अधिवक्ता हुन्।)
रुचि नमिल्दाको परिणति
- डा. मीता राणा
सम्बन्ध–विच्छेदको कारण वैवाहिक सम्बन्धमा द्वन्द्व हो । द्वन्द्व हुनुको कारण बुझाइ नमिल्नु हो । रुचि एक–अर्कासँग मिल्दो हुनुपर्छ भन्ने गरिन्छ । कहिलेकाहीँ एकअर्काको रुचि र चाहनाहरू नमिल्न सक्छन् । व्यक्तित्व नै फरक हुन्छ । अर्को सम्झौताको कुरा पनि हुन्छ । शिक्षाले पनि धेरै कुरामा परिवर्तन ल्याएको छ । शिक्षित महिलाहरू अहिले एकतर्फी सम्झौता गर्दैनन्, अधिकारका कुरामा उनीहरू सचेत छन् । पहिलेजस्तो जे पनि सहने अवस्थामा उनीहरू छैनन् । अहिले पनि पुरुष प्रभुत्व समाजमा छ । तर, त्यसो हुँदाहुँदै पनि दुवै कति सम्झौतामा आउन सक्छन् भन्ने कुराले पनि विवाह–सम्बन्धको लम्बाइ निर्धारण गर्छ ।
कतिपय अवस्थामा पुरुष समझदारीमा नआउँदा पनि सम्बन्ध समस्यामा पर्छन् । अहिलेका सम्बन्ध ‘गिभ एन्ड टेक’मा अगाडि बढिरहेका छन् । अहिले संयुक्त परिवार उति छैनन्, एकल परिवार बढी छन् ।
काम र पढाइका सिलसिलामा कतिपय श्रीमान्–श्रीमती बाहिर छन् । बदलिँदो परिस्थितिमा आर्थिक, सामाजिक, सांस्कृतिक कुरामा आएको परिवर्तनअनुसार चल्न नसक्दा पनि सम्बन्धहरू अगाडि बढ्न गाह्रो हुन्छ । यसमा कतिपय अवस्थामा अभिभावकहरूको सचेतनाले काम गर्छ । आर्थिक, सामाजिक र राजनीतिक रूपमा ठूलो परिवर्तन देखा परेको छ । पुरातन परिवारले पनि अहिले सम्झौता गर्न सिकेको देखिन्छ ।
समाजमा खुलापन र परिवर्तन आइसकेपछि त्यसलाई आत्मसात् गर्नुपर्छ । अहिले ब्रुजुकहरू पनि खुला हुँदै गएका छन् । युवाहरूमा वैवाहिक सम्बन्धलाई सहज बनाउन अभिभावकको भूमिका पनि उत्तिकै जिम्मेवार हुन्छ । पहिलेको दिनमा बेहुलीबाट गर्ने अपेक्षा अहिले हामी गर्न सक्दैनौं ।
अहिले प्रविधि, सामाजिक सन्जालजस्ता माध्यमले समाजलाई धेरै खुला बनाएको छ । कुनै न कुनै हिसाबले सामाजिक सन्जाल र प्रविधिले सम्बन्धलाई असर गरिरहेको छ । फेसबुकमा कति बहकिन्छन् । त्यसले पनि नकारात्मक असर गरिरहेको छ ।
सम्बन्ध लामो समय टिकाउन हामीले भिन्नभिन्न व्यक्तित्वको अस्तित्व स्विकार्नुपर्छ । सबैको आ–आफ्नै व्यक्तित्व हुन्छ । जीवनको लक्ष्य, उद्देश्य र रुचिहरू फरक–फरक हुन्छन् । यस्ता कुरामा सम्बन्ध बनाउनु अगाडि नै हामी एकदमै स्पष्ट हुन जरुरी छ । व्यक्तिको विवाहपछि परिवारसँग पनि सम्झौताका कुरा आउँछन्, त्यसमा पनि हामी पहिल्यै स्पष्ट हुनुपर्छ । केटीले कति स्वीकार गर्न सक्छ भन्ने विषयमा केटा र केटाले कति सम्झौता गर्न सकिन्छ भन्ने कुरामा केटी स्पष्ट हुनुपर्छ । दया, माया, भावनाजस्ता कुरा बुझ्ने, सेयरिङमार्फत् बुझ्ने र विश्वासको तह बढाउन सक्छौं, त्यसैमा सम्बन्ध निर्भर हुन्छ । सँगसँगै भइसकेपछि सुखमात्रै हुँदैन, कठिन अवस्था आउँदाखेरि एक–अर्कालाईझन् बलियो भरोसा चाहिन्छ ।
अहिले म कहाँ आउनेहरूमध्ये अधिकांशको फरक–फरक चाहना हुन्छ, एकले अर्कालाई बुझ्न नसक्दा र सञ्चार गर्न नसक्दा नै सम्बन्धमा दरार आउँछ । व्यक्तिगत इगोले पनि सम्बन्ध बिग्रिरहेको छ, ‘तिमी यसो गर्छौं भने म के कम ?’ भन्ने इगो भावनाले सम्बन्ध बिगार्छ । खुला रूपमा सञ्चार भएर सेयरिङ भएमा पनि सम्बन्धमा सहजता आउँछ । मोबाइल, फेसबुक, टेक्स्टबाट एक्स्ट्रा मेरिटल अफेयर्सथाहा पाएर सम्बन्ध समस्यामा परेका केसहरू पनि छन् । घरेलु हिंसाले पनि सम्बन्ध टुटेको देखिन्छ । वैवाहिक सम्बन्ध बलियो गर्ने भनेको सकारात्मक भावनात्मक सम्बन्ध, एक आपसमा सम्झौता, समान बुझाइ, दयामाया, केयरिङ, खुला सञ्चारजस्ता कुरा आवश्यक हुन्छन् । दुवैतर्फ यस्तो भए वैवाहिक सम्बन्ध एकदमै राम्रो हुन्छ । कतिपय अवस्थामा मनको कुरा मात्रै होइन, शारीरिक सम्बन्धको कुरा पनि राम्रो हुन्छ । भावनात्मकसँगै शारीरिक सन्तुष्टि नभएर पनि सम्बन्धमा एकदमै द्वन्द्व भएको देखिन्छ ।
(डा. राणा क्लिनिकल साइकोलोजिष्ट हुन् ।)