सोमेश्वर पर्वत चितवनको दक्षिणी सिमाना हो । यहाँ नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमा रेखासमेत छ । विदेशी आक्रमणकारीलाई रोक्न पुर्खाहरूले यहाँ किल्ला बनाएका थिए । सोमेश्वरगढीका नामले परिचित किल्लाको भग्नावशेष त्यहाँ भेटिन्छ । धर्ममा विश्वास राख्नेहरूले कालिका मन्दिर बनाए । सोमेश्वर कालिका मन्दिरमा चैते दसैं अर्थात् रामनवमीमा नेपाल र भारत दुवैतर्फका हिन्दूहरू पूजा गर्न पुग्छन् ।
चितवनका आदिवासी थारु समुदायको कथागाथा पनि सोमेश्वरसँग जोडिएको छ । सोमेश्वरगढी क्षेत्रमा एउटा डुंगा आकारको ठूलो ढुंगा भेटिन्छ । थारु समुदायमा पूजालगायतका संस्कार विधिहरू सम्पन्न गर्ने अगुवालाई गुरौं भनिन्छ । सोमेश्वरको त्यो विशाल ढुंगाको डुंगा गुरौंहरूले चलाएर घुम्न जान्थे भन्ने कथन सुन्न पाइन्छ । त्यस्तो ऐतिहासिक र धार्मिक क्षेत्र सोमेश्वर पहाडमा अरू पनि विशाल शिलाहरू छन् ।
अनेक आकार प्रकारका ती शिलाहरूमाथि यो पटक कलात्मक स्वरुपहरू कुँदिएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको मूर्तिकला विभाग र माडी नगरपालिकाले संयुक्त रूपमा सोमेश्वर पहाडमा प्रस्तर मूर्तिकला कार्यशाला आयोजना गर्यो । देशका विभिन्न ठाउँबाट सोमेश्वर पुगेका २९ जना कलाकारले त्यहाँका शिलाहरूमा आफ्ना शिल्प पस्किए ।
माडी हुँदै सोमेश्वर पहाड उक्लनुपर्छ । माडी क्षेत्रका आफ्नै कथा–व्यथाहरू छन् । मूर्तिकारहरूले माडी र सोमेश्वर पहाडको विशेषतालाई मूर्तिमा ढालेका छन् । चितवन मूल घर भएकी मूर्तिकार इन्दिरा श्रेष्ठको कार्यक्षेत्र काठमाडौं हो । उनी पनि सोमेश्वर क्षेत्रमा पुगिन् । माडी चितवनका आदिवासी थारु समुदायको बाक्लो बसोबास भएको ठाउँ हो । घोँगी थारु समुदायको भान्सामा पाक्ने सानो आकारको जीवन हो ।
इन्दिराले एउटा ढुंगामा त्यही घोँगीको आकार तयार पारिन् । माडीमा खोलाहरूले निकै दु:ख दिन्छन् । खोला र निकुञ्जको जंगलबाट आउने जनावरबाट माडीवासीले भोगेको पीडा बयान गरी साध्य छैन, तर दक्षिण भएर उत्तरतर्फ बगेका माडीका खोलाहरूमा शालिग्रामहरू पनि भेटिन्छन् । पार्वतीपुर, चितवनका भीम श्रेष्ठले सोमेश्वरको एउटा ठूलो ढुंगामा शालिग्रामको आकार निकालेका छन् ।
रञ्जित थापामगरले कडा ढुंगालाई छिनोले खारेर मुटुको स्वरूपमा ढाले । दुई टुक्रा भएको मुटुमाथि चढेर हेर्दा अर्को सिंगो मुटु देखिने सिर्जनशील मूर्तिकला उनले सोमेश्वरका लागि उपहार दिए । माडीका दिनेश्वर चौधरीले वर्ष दिनअघि सोमेश्वर क्षेत्रमा कालीको एउटा भव्य मूर्ति बनाएका थिए । अहिले उनले ठूलो ढुंगामा देब्रेतर्फ मुट्ठी उठाएको हात र दाहिनेतर्फ चन्द्र सूर्य अंकित नेपाली झन्डाको भव्य आकृति कुँदेका छन् ।
‘यहाँबाट नेपाल–भारत सिमाना डेढ सय मिटरजति पर छ । यो मूर्तिले यस्तो निर्जन जंगलमा पनि नेपालको झलक दिनेछ,’ दिनेश्वरले भने । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको मूर्तिकला विभागमा प्रमुख लालकाजी लामा कलाकारलाई स्थानीयसँग र स्थानीयलाई कलाकारसँग जोड्न प्रतिष्ठानले केही वर्षयता देशका ठाउँ–ठाउँमा मूर्तिकला कार्यशाला आयोजना गरेको बताए ।
‘देशका विभिन्न ठाउँका कलाकारहरू यहाँ आए । उनीहरूले माडी र सोमेश्वरको विशेषता बुझेर मूर्ति बनाए । आफ्नो ठाउँमा आएर कलाकारहरूले यहींकै स्वरूपहरूलाई ख्याल राखेर बनाएको मूर्तिले स्थानीयलाई पनि खुसी नै बनाएको छ,’ लालकाजीले भने । माडी सदरमुकाम भरतपुरबाट दक्षिणमा पर्छ । त्यहाँ पुग्न चितवन निकुञ्जको १० किलोमिटर जंगल छिचोल्नुपर्छ ।
‘कार्यशालामा तयार भएका ४० भन्दा बढी मूर्तिले यहाँ आउने पर्यटकहरूलाई पक्कै पनि आकर्षित गर्नेछ,’ लालकाजी लामाले भने । सदरमुकाम भरतपुरबाट माडीको वसन्तपुर बजार ४० किलोमिटर पर छ । वसन्तपुरबाट १२ किलोमिटर दक्षिण लागेपछि सोमेश्वर पुगिन्छ । जसमध्ये चार किलोमिटर दूरी पहाडी क्षेत्रमा पर्छ । त्यहाँसम्म पुग्ने बाटो बनेको छ । बाटोलाई थप सुधार गर्ने काम पनि धमाधम भएको छ ।