साप्ताहिक संवाददाता
सन् २०१९ मा कैयौं कलाकार, अभिनेता तथा अभिनेत्रीले बलिउडमा आफ्नो यात्रा सुरु गरे । तर, यीमध्ये एक–दुई जनाले मात्र सफलताको स्वाद चाखे । बाँकी सबै फ्लप सावित भए । नयाँ कलाकारका लागि सन् २०१९ खासै उल्लेख्य रहेन ।
अभिनेता सलमान खान नयाँ कलाकारलाई विशेष मौका दिन्छन् । उनले चलचित्र ‘नोटबुक’बाट मोहनीश बहलकी छोरी प्रनुतन बहल र जहिर इकबाललाई मौका त दिए, तर यो चलचित्र बक्स अफिसमा असफल भयो । चलचित्रमा प्रनुतनले आफ्नो प्रतिभा देखाउँदै सम्भावनाका केही ढोका खोलिन् । सलमानले ‘दबंग–३’ मा महेश मान्जरेकरकी छोरी सई मान्जरेकरलाई मौका दिएका थिए । चलचित्रमा छोटो भूमिकामै भए पनि सईले आफ्नो प्रभाव छोड्न सफल भइन् । प्रनुतन हाल चलचित्र ‘हेलमेट’मा व्यस्त छिन् ।
अभिनेता सनी देओलका छोरा करण देओल पनि वर्ष–२०१९ मा चर्चामै आए । पछिल्लो दुई वर्षदेखि उनी अभिनीत चलचित्र ‘पल पल दिल के पास’ बनिरहेको थियो । यो चलचित्रबाट करणका अतिरिक्त सहर बाम्बाले पनि करियर सुरु गरेकी थिइन् । चलचित्रचाहिँ बक्स अफिसमा पूर्ण रूपमा असफल नै भयो, तर सहर अभिनयका हिसाबले चलचित्रकर्मीलाई प्रभाव पार्ने किसिमले छाइन् । उनी जति छाए पनि चलचित्रको असफलताले उनी अगाडि बढ्न सकिनन् ।
चलचित्र ‘स्टुडेन्ट अफ द इयर–२’ बाट निर्माता करण जोहारले अनन्या पाण्डे र तारा सुतारियालाई अवसर दिए । चलचित्र असफल भए पनि दुई अभिनेत्रीले सबैको ध्यान खिचे । तारा ‘मरजावाँ’ र अनन्या ‘पति पत्नी और वो’ मा पनि देखिए । दर्शकले ताराभन्दा अनन्यालाई बढी रुचाए र उनी सन् २०१९ को नयाँ कलाकारको सूचीमा अग्रस्थानमा आइन् । अनन्या हालका दिनमा इशान खट्टरसँग चलचित्र ‘खाली–पीली’ मा व्यस्त छिन् । त्यस्तै तारा अभिनेत्री करिना कपुरका भतिजा आदर जैनको सम्बन्धलाई लिएर चर्चामा छन् ।
अभिनेत्री डिम्पल कपाडियाकी भतिज र सिम्पल कपाडियाका छोरा करण कपाडिया चलचित्र ‘ब्ल्यांक’ मार्फत बलिउडमा आए । चलचित्रलाई सशक्त बनाउनका लागि सनी देओललाई पनि चलचित्रमा जोडियो । तर, चलचित्र सफल हुन सकेन ।
निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीले चलचित्र ‘मलाल’बाट जावेद जाफरीका छोरा मिजान जाफरी र भन्सालीकी भान्जी शर्मिन सेहगललाई अभिनयमा डेब्यु गराए । तर, चलचित्र पूर्ण रूपमा असफल सावित भयो । पहिलो चलचित्र असफल भए पनि मिजान दोस्रो प्रोजेक्ट ‘पाने’बाट सफल भए । उनी सन् २०२० मा चलचित्र ‘हंगामा–२’ मा देखिँदैछन् ।
चलचित्र अभिनेत्री भाग्यश्रीका छोरा अभिमन्युले ‘मर्द को दर्द नहीं होता’ बाट चलचित्र यात्रा सुरु गरे । तर, चलचित्र असफल भयो । वर्धन पुरीले आफ्ना हजुरबुवाको पाइला पछ्याउँदै बलिउडमा चलचित्र ‘ये साली आशिकी’ बाट एन्ट्री मारे । तर, त्यसको नतिजा शून्य रह्यो ।
केही दक्षिण भारतीय कलाकारले पनि हिन्दी चलचित्रको यात्रा सुरुवात गरे । आर बाल्कीको चलचित्र ‘मिसन मंगल’बाट दक्षिण भारतीय अभिनेत्री नित्या मेननले बलिउडमा डेब्यु गरिन् । जगन शक्तिको निर्देशनमा बनेको चलचित्र ‘मिसन मंगल’ हिट भयो । चलचित्र हिट भए पनि नित्याले हिन्दी चलचित्रमा आफ्नो पहिचान बनाउन सकिनन् ।
नित्याबाहेक दक्षिण भारतीय कलाकार श्रया धनवन्तरीले ‘ह्वाइ चिट इन्डिया’, मेघा आकाशले ‘सेटलाइट शंकर’, वेदिकाले ‘द बडी’ र श्रद्धा श्रीनाथले ‘मिलन टाकिज’बाट हिन्दी चलचित्रमा पाइला चाले पनि चलचित्रको असफलतासँगै उनीहरूको पहिचान पनि गुम्यो ।