साप्ताहिक संवाददाता
सरिता लामिछाने र ऋषि लामिछानेको पहिलो भेट २५ वर्षअघि काठमाडौंको बानेश्वरमा भएको हो । त्यसपछि उनीहरूबीच तीन वर्षसम्म संवाद र भेटघाटका संयोगहरू जुरिरहे । त्यही संयोगले जुराएको भेटघाटमा उनीहरूले एकअर्कालाई राम्रोसँग बुझ्ने अवसर पाए । इमानदारिता, अनुशासन, असल व्यवहार, सरल स्वभाव, सिम्पल सोचजस्ता कारणले उनीहरूलाई विवाहका लागि तयार पार्यो ।
२०५४ साल वैशाखमा उनीहरूले विवाह गरे । ‘हामीले एक–अर्कालाई मन पराएर आफूखुसी काठमाडौंमै विवाह गरेका थियौं,’ ऋषि भन्छन्, ‘६ महिनापछि नेपालगन्जको बागेश्वरी मन्दिरमा गएर बुबाआमाको अघि सिन्दुर हालेर उनीलाई घर भित्र्याएँ ।’ विवाह गर्दा सरिता एक प्रोजेक्टमा काम गर्थिन्, ऋषि चलचित्रमा स्थापित हुने प्रयासमा थिए । काठमाडौं आएपछि करिअर कसरी अगाडि बढाउने भन्ने विषयमा उनीहरूबीच सल्लाह भयो । ‘हामी सिरियस मान्छे रहेछौं,’ आफूहरूको प्रकृतिबारे सरिता भन्छिन्, ‘विवाह भएको केही समयसम्म मैले जागिर खाइरहें । उहाँ चलचित्र क्षेत्रमै हुनुहुन्थ्यो । के गर्ने भनेर टुंगो लागिसकेको थिएन ।’
कि काठमाडौंमै व्यवस्थित हुन, कि त नेपालगन्ज फर्किन घरबाट दबाब बढ्न थाल्यो । मानिसहरू अवसर खोज्दै सहर पसिरहेका हुन्छन्, नेपालगन्ज फर्कन ऋषि–सरिताको मन पनि मानेन । ‘सहरमा संघर्ष गरिरहेका मान्छेका लागि गाउँ फर्किने सम्भावना थिएन,’ सरिता थप्छिन्, ‘त्यसकारण भविष्य यहीँ खोज्नुपर्छ भन्ने सोच्यौं ।’ सरिताले टेलिसिरियल ‘मुक्ति’मा अभिनय गरेर त्यत्तिकै बसिरहेकी थिइन् । ‘मुक्ति’ प्रदर्शनमा भने आइसकेको थिएन ।
त्यही बेला स्पेसटाइम नेटवर्कमा विज्ञापन खुल्यो । दुवै जनाले आवेदन दिए, दुवैको नाम निस्कियो । दुवै जना एउटै ठाउँमा जागिर नखाने सल्लाहमा पुगेपछि स्पेसटाइममा सरिता जागिर खान थालिन् । ऋषि निर्देशक बन्नका लागि चलचित्र क्षेत्रमै सक्रिय रहे । कालान्तरमा सरिताका अगाडि पनि चलचित्र क्षेत्रमा होमिनैपर्ने परिस्थिति आइपर्यो । सरिता पर्दामा देखिन अझै तयार थिइनन्, ऋषिले उनलाई अभिनयका लागि निरन्तर कन्भिन्स गरेपछि बल्ल उनी तयार भइन् । सरिताले चलचित्र ‘सन्तानको माया’मा अभिनय गरेदेखि अहिलेसम्म यो जोडी रिल र रियल दुवैमा जमिरहेको छ ।
ऋषि–सरिता वैवाहिक सम्बन्धमा बाँधिएको २२ वर्ष पुग्यो । यो दुई दशक लामो अवधिमा समाजमा धेरै घटना भए, धेरै यथार्थ बदलिए, तर ऋषिका लागि सरिता र सरिताका लागि ऋषि कहिल्यै बदलिएनन् । करिअर र सफलताजस्ता कुराले पनि उनीहरूको दाम्पत्य जीवनलाई थिचेन । व्यस्तताका कारण एक–अर्कालाई समय नदिएको गुनासो पनि उनीहरूको आपसमा गरेनन् । ‘करियर बनाउनका लागि व्यस्त हुने हो,’ व्यस्तताले सम्बन्ध बिगार्छ भन्ने बुझाइको जवाफमा ऋषिले भने, ‘करियर बिगार्नका लागि व्यस्त हुने होइन । सबैभन्दा महत्त्वपूर्ण कुरा त करियरले आफूलाई नखाओस् ।’ उनलाई लाग्छ, सकारात्मक सोचाइका साथ काम गर्दा करियर पनि बन्छ र सम्बन्ध पनि दिगो बन्छ ।
गहिरो माया झांगिँदै उनिएका अनेक वैवाहिक सम्बन्ध पनि अहिले संकटमा परेको सुनिन्छ । तर, जहाँ गहिरो माया हुन्छ, त्यहाँ विश्वासमा संकट नै नआउने ऋषिको अनुभव छ । ‘हाम्रो अरूले देखाएको जस्तो भयंकर डिप लभ पनि होइन र हाम्रो जति प्रेम अरू कसैले पनि गर्दैन,’ आत्मविश्वासी भावमा उनले भने, ‘काम, प्रेम र जीवनप्रतिको बुझाइमा हामी परिपक्व छौं ।’ सरिताका लागि प्रेम के हो त ? भन्छिन्, ‘प्रेम अरूलाई देखाउन गर्ने होइन, प्रेम त हुने हो ।’ बाहिर भयंकर देखाउने सम्बन्धहरू भित्री रूपमा अर्कै हुने पनि उनले देखेकी छन् ।
वैवाहिक जीवनलाई एउटै मधुरपथमा दौडाइरहन के तत्त्व आवश्यक पर्छ ? ऋषि अतिरिक्त महत्त्वाकांक्षा, तीव्र दौडजस्ता चिजलाई आफूहरूले कहिल्यै महत्त्व नदिएका कारण सुमधुर दाम्पत्य जीवन अगाडि बढेको सुनाउँछन् । ‘अहिलेको समाजमा कसैलाई नाम चाहिएको छ, कसैलाई दाम, कसैलाई इज्जत । मान्छे प्राप्तिका लागि मात्र दौडिरहेको छ, प्राप्तिका लागि त दौडिने तर कहाँसम्म भन्ने हो,’ उनी आफ्नो सफल दाम्पत्यको कारण खोल्छन्, ‘अति महत्त्वाकांक्षा राखेर तीव्र गतिमा दौडियो भने लडिन्छ, बिग्रिन्छ, सम्बन्ध टुट्छन्, बिग्रन्छन् । तर, महत्त्वाकांक्षा राखेर पनि होस गरेर हिँड्ने हो भने जीवन काट्न सहज छ ।’
आजकाल सहरमा धेरैजसो सुनिने गर्छ— श्रीमती र श्रीमान्को सम्बन्ध सम्झौताका कारण लामो समय चल्छ । तर, ऋषिको विश्वास बेग्लै छ– श्रीमान्–श्रीमतीको सम्बन्धमा कुनै सम्झौता हुन्न । ‘मान्छेहरू श्रीमान्ले केही कम्प्रोमाइज गर्नुपर्छ, श्रीमतीले केही कम्प्रोमाइज गर्नुपर्छ भन्छन्, त्यो सबै नौटंकी हो,’ उनी भन्छन्, ‘श्रीमती भनेकी प्रेमी हुन्, प्रेममा कुनै कम्प्रोमाइज हुँदैन । प्रेमभन्दा ठूलो कुरा के छ ?’
सरितालाई लाग्छ— प्रेम र दाम्पत्यमा अनुशासन हुनुपर्छ । ऋषिलाई लाग्छ— शंका–उपशंका, नाफा–घाटा, जोड–घटाउ गर्न थालेपछि त सम्बन्ध बिग्रिहाल्छ । जीवनलाई क्याल्कुलेटरका बटनजस्तै थिच्नाले पनि दाम्पत्य जीवनको सन्तुलन बिग्रिरहेको हुन्छ । सरिता आफूहरूले त्यो जीवन कहिल्यै नबाँचेको टिप्पणी गर्छिन् । जीवनमा आइपर्ने अप्ठ्यारोहरूले केही सम्बन्धहरू भत्किरहेका देखिन्छन् ।
सरिता भन्छिन्, ‘श्रीमान् कमजोर हुँदा श्रीमतीले छोड्नेलाई कसरी सही दाम्पत्य जीवन मान्ने ?’ पावर, पैसाजस्ता कस्मेटिक कुराले बनेका सम्बन्धहरू चाँडै भत्किन्छन् । ऋषि भन्छन्, ‘हामीले कहिल्यै कृत्रिम जीवन बाँचेनौं ।’ बनावटी जीवन, नौटंकी शैली र उच्च महत्त्वकांक्षाले सम्बन्धमा द्वन्द्व सिर्जना गर्ने उनी बताउँछन् । सफल दाम्पत्यका लागि सरल जीवन पनि उत्तिकै महत्त्वपूर्ण हुने यो दम्पतीको अनुभव छ ।
रिल लाइफलाई रिलमै छाडिदिएर रियल लाइफमा बाँचेको यो जोडीको ११ वर्षकी छोरी छन् । विवाहको ११ वर्षपछि छोरी समृद्धि जन्मिएकी हुन् ।
विवाहलाई सधैं सुमधुर र ताजा बनाइरहन भावनात्मक पक्ष पनि त उस्तै सजीव रहनु जरुरी हुन्छ । लामो समय आफ्नै पार्टनरसँगको सम्बन्धलाई ताजा बनाइरहने फर्मुला के हो त ? सरिताका अनुसार एक–अर्कालाई बुझ्ने समझ र अनुशासन नै बलियो सम्बन्धको अचुक फर्मुला हो । ‘जीवन त भावनाबाटै सुरु हुन्छ । एक–अर्कालाई बुझ्नुपर्यो, एकले अर्कालाई सम्मान गर्नुपर्यो,’ सरिता भन्छिन्, ‘कहीँ साथी बनिदिनुपर्यो, कतै श्रीमान् बनिदिनुपर्यो ।
कहीँ साथी, कहीँ श्रीमती बन्नुपर्यो । यो सबै भावनासँगै जोडिने कुरा हो । भावनात्मक पक्षलाई बलियो पार्ने सबैभन्दा ठूलो कुरा एक–अर्काप्रतिको सम्मान हो ।’ उनका अनुसार श्रीमान्–श्रीमती त्यस्तो सम्बन्धको नाम हो, जहाँ श्रीमान्लाई परेको पीडा सहने तागत श्रीमतीले प्रदान गर्छ, श्रीमतीका दु:खपीडा श्रीमान्ले बाँडिदिनुपर्छ ।
सम्बन्धलाई बलियो बनाउने र लामो समय टिकाउने अरू पनि थुप्रै उपाय छन्, नियमित छलफल र अन्तक्र्रिया । ऋषि र सरिता दुवै सधैं खुला छलफल गर्छन् । उनीहरू दुवै एकले अर्काको उत्तिकै ख्याल गर्छन् । जब घरबाट निस्कन्छन्, को कहाँ छ भन्ने दुवै जनालाई थाहा हुन्छ । दिनभरिको कामको अपडेट एकअर्कालाई थाहा हुन्छ । बेलुका घर फर्केपछि दिनभरिको कामको आपसमा समीक्षा गर्छन् ।
उनीहरूको सम्बन्धमा न कुनै स्वतन्त्र दायराको आवश्यकता छ, न कुनै छेकबार र नियन्त्रण नै । त्यसको प्रमुख कारण उनीहरूबीच विकसित आपसी विश्वास हो । त्यही विश्वासले उनीहरूको प्रेमिल दाम्पत्य बन्न पुगेको छ । न त सरिता–ऋषि सम्बन्धमा हिसाब–किताब गर्छन्, न त सफलता र असफलतामा एक–अर्कालाई दोष देखाउँछन्, जो पर्छ, दुवैले भोग्छन् । त्यही भोगाइबाट एउटा भावना बन्छ, त्यही भावनाबाट प्रेम । झापामा जन्मिएकी सरिता र सल्यानमा जन्मिएका ऋषिलाई त्यही प्रेमले बाँधिरहेको छ ।