साप्ताहिक संवाददाता
गाउँबाट शहर पसेको एक युवाको शहर यात्रा समेटिएको चलचित्र ‘चिसो एस्ट्रे’को रिलिज डेट सार्वजनिक भएको छ । यो चलचित्र अर्को वर्षको जेठ १७ गतेबाट प्रदर्शन हुने भएको छ । यो चलचित्रमा आधुनिक बन्ने खोज्दा आफैंलाई गुमाउन पिुगेको पछिल्लो पुस्ताको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रलाई दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् । दिन्शले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए ।
निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ‘चलचित्रले गाउँबाट शहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छौँ,’ दिन्शले भने, ‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै ‘चिसो एस्ट्रे’ हो ।’
चलचित्रमा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ देखिने छन् ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण गरिएको चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बोले सघाएका छन् ।
चलचित्रमा दिन्शले लेखनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । अजर जंगमको संगीत रहेको चलचित्रमा उज्जल बस्ताकोटीको छायांकन, उज्जवल ढकालको सम्पादन रहेको छ ।