साप्ताहिक संवाददाता
कला, साहित्य र रंगमञ्चमार्फत स्थानियता र मौलिकता प्रबद्र्धन गर्ने ध्येय सहित जेसुम यात्रा हुँदै आएको छ । हाइकिङ गर्दै स्थानिय सम्पदा र संस्कृति अवलोकन गर्ने र तिनको प्रभावलाई सिर्जनामा उतार्ने यो अभियानको एघारौं श्रृंखला काठमाडौंको सांस्कृतिक शहर टोखामा सम्पन्न भएको छ ।
लिच्चविकाल भन्दा पनि पुरानो मानिने यो शहरको माथिल्लो लाक्षीमा एउटा फराकिलो चोक छ । यहीँ लिच्छविकालदेखि भगवानहरुको नाच निकालिने डबली छ, जसलाई भनिन्छ– या प्याँख । पुर्वतिर लिच्छविकालमै बनाइएको गा:हिटी (भुइँमा खनेर बनाइएको धारा) छ ।
कुनै समय उपत्यकामा अनिकाल पर्दा टोखाबासीले यही धारा पुरिने गरि अन्नदान गरेका थिए भन्ने किम्बदन्ती छ । यही चोककै पुर्वोत्तर भागमा बिसं ५१९ मा लेखिएको शिलालेख खडा छ । यही ऐतिहासिक शहरमा शनिबार जेसुम अभियानका साथ चित्रकार र कविहरु पुरानो समय, सम्पदा र संस्कृति खोज्न निस्किएका हुन् ।
विहानको हुस्सु र चिसोलाई छिचौल्दै आइपुगेका स्रष्टाहरुले न्हुज पुस्तकालयबाट टोखाको सांस्कृतिक यात्रा थालेका थिए । पुस्तकालयका अध्यक्ष दिपेन्द्र श्रेष्ठले ‘पंचायतकालमै खुलेको पुस्तकालय कुनै समय नेताहरु भुमिगत थलो रहेको’ बताउँदै परिवर्तनप्रतिको ध्येय झल्काउन उतिबेला न्हुज (नयाँ किरण) राखिएको बताए ।
यसपछि टोलीलाई स्थानियबासीले मतिना भ्वाय छें (भोजघर)मा नेवारी टिका र सुगनले स्वागत गरेका थिए । भिमसेन देउताको प्रतीक मानिने ध्वजाबाट निर्मित माला र रातो टिका लाएपछि सालको पातको दुनामा अण्डा र माछासहितको नेवारी पम्परागत सगुन ग्रहण गरिरहादा स्रष्टाहरु रमाएमा थिए ।
टोखा नगरपालिकाको सहकार्य रहेको यात्रामा स्थानिय संस्कृतिविद सत्यनारायण डंगोल र गणेशमान श्रेष्ठ तथा स्थानिय सुविन्द्र श्रेष्ठले विभिन्न ऐतिहासिक तथ्यहरुबारे जानकारी दिएका थिए ।
टोलीले लिच्छविकालमै निर्मित तलेजु भवानी, चण्डेश्वरी, सपन तिर्थ मन्दिर, विस्केट जात्राको लिंगो ठड्याउने थलो, नाशा द्यौ लगायतका सम्पदा क्षेत्र भ्रमण गरेर चित्र र कविता कोरे ।
मतिना भ्वाय छें (भोजघर)मा नेवारी परम्परागत भोजनपछि न्हुज पुस्तकालयकै सभाहलमा प्राज्ञ लक्ष्मी माली, सुलोचना मानन्धर, स्नेह सायमी, अनिता लामा, अजितमान तामाङ, फूलमान वल, विना थिङ, रामगोपाल आशुतोष, रोजिता बुद्धाचार्य, रमेश कँडेल, लक्ष्मी रुम्बा, ममता थापा, श्याम संकल्प, गणेश बुढा, प्रभात सापकोटा, भरत गौतम, दिपेन्द्र श्रेष्ठ लगायतले टोकाको सांस्कृतिक र ऐतिहासिक सौन्दर्य र सन्दर्भ समेटिएको कविता सुनाएका थिए ।
कविता गोष्ठीसँगै चित्रकार दिपेन्द्र बनेपाली, डिबी किराँत, भीम सुब्बा तामाङ (बाबु साँइला), विनिता बुद्धाचार्य, कान्छाकाजी भासिमा, बिक्रम प्रजापति, प्रकाश मानन्धर, विनोद गुप्ता लगायतका चित्रकारहरुले टोखामाथि सिर्जिएका चित्रकला प्रदर्शनी गरे ।
पहिलोपटक आफ्नो थलोमा साहित्यकार र चित्रकारहरुले यात्रा गरेकोप्रति खुशी हुँदै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र उपमेयर ज्ञानिमाया डंगोलले टोखालाई सांस्कृतिक नगर बनाउने योजनामा आफूहरु लागि परेको खुलाए । जेसुम यात्राकी संयोजक अनिता लामाले बाहिरी सांस्कृतिक प्रभाव बढ्दै गइरहेको बेला आफूहरु साहित्य, कला र रंगमञ्चमार्फत स्थानियपनको खोजीमा लागिपरेको बताइन् ।