साप्ताहिक संवाददाता
मंसिर २८ गते बिहान बूढानीलकण्ठमा पैदलयात्री लीला देवकोटाको कारको ठक्करबाट घटनास्थलमै निधन भयो । ठक्करपछि कार फरार रह्यो । प्रहरीले खोजीकार्य थाल्यो ।
त्यससँगै उक्त कारमा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा चढेको गोप्य सुत्रबाट पत्ता लाग्यो । विभिन्न मिडियामा समाचार आउन थाले । त्यसको केहि समयपछि प्रहरीले उक्त कारका चालकलाई समात्यो । त्यस घटनादेखि अहिलेसम्म मौन रहेकी अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मीले २६ औं दिनमा माफी मागेकी छन् ।
परमिताले फेसबुकमा लामो स्ट्याटस लेख्दै सो दिन कारचालक पृथ्वी मल्लले मादकपदार्थ सेवन गरेर गाडी चलाएको स्वीकारेकी छन् । उनले सो घटनाप्रति दुःख व्यक्त गर्दै आफू सो दुखद घटनाको अंग बन्नु परेकोमा स्तब्ध रहेको उल्लेख गरेकी छन् ।
‘पहिला त म सबैसँग क्षमाप्रार्थी छु । हामी चारजनाको वेवकुफीले एकजना निर्दोषको ज्यान गएको छ । त्यो दिन भएको घटना सत्य नहोस् र मात्र एउटा नराम्रो सपना होस् भन्ने मेरो चाहना छ, तर दुर्भाग्य म पनि त्यही कारमा सवार थिएँ । आफ्नो कुरा राख्न यति ढिला गरेकोमा म फेरिपनि माफि माग्न चाहन्छु,’ उनले स्ट्याटसमा लेखेकी छन् ।
यस्तै उनले आफूसँग मादकपदार्थ सेवन गरेका व्यक्तिले चलाएको उक्त गाडी नचढ्ने विकल्प हुँदाहुँदै पनि चढेर जीवनको ठूलो गल्ती गरेको र त्यसबाट सदाका लागि पाठ सिकेको महशुस गरेकी छन् ।
बूढानीलकण्ठ नगरपालिका–५ स्थित बूढानीलकण्ठ स्कुलनजिकै सडकपेटीमा हिँडिरहेकी बारपाक गाउँपालिका–८ गोरखाकी लीला देवकोटालाई मंसिर २८ गते शनिबार बा १४ च ६१२३ नम्बरको सुजुकी कारले ठक्कर दिएको थियो । देवकोटालाई तत्कालै बाँसबारीस्थित न्युरो अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
कारचालक मल्ल हाल प्रहरी हिरासतमा नै छन् । उक्त दुर्घटनाको महाराजगञ्ज प्रहरीले वृत्तले अनुसन्धान गरिरहेको छ ।