साप्ताहिक संवाददाता
दाङको घोराहीमा तीन दिने बुद्ध सरयू चलचित्र महोत्सव भएको छ । ‘नेपाली कला, संस्कृती र पर्यटन प्रवद्र्धन : चलचित्रमा अब गुणात्मक परिवर्तन’ भन्ने नारासहित भएको महोत्सवमा नेपाली मौलिक संस्कृति झल्किने चलचित्र, लघु चलचित्र र बृत्तचित्र प्रर्दशन भएको छ ।
महोत्सवले नेपाली चलचित्र, कला, संस्कृती र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने आयोजक पहल नेपालका अध्यक्ष केएल पिडितले बताए । ‘यसले नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसार, नेपाली चलचित्रको प्रवद्र्धन, लोककला, रितिरिवाजको संरक्षण र मौलिक संस्कृतीबारे जाँगरण फैलाउने छ,’ पिडितले भने,‘चलचित्रको प्रवृत्ती र जनअपेक्षाबारे पनि बहस हुनेछ । यसले नेपाली चलचित्र क्षेत्रलाई मार्गदर्शन गर्नेछ ।’
मंगलबारदेखि शुरु भएको महोत्सवमा ‘चलचित्र नीति र मौलिक चलचित्र’ बिषयमा बहस भएको छ । बहसमा अमर गिरी, नविन सुब्बा र अनुप सुवेदीले चलचित्र सम्बन्धी आबश्यक नीति र मौलिक चलचत्रिको आबश्यकताबारे बिभिन्न विचार राखेका थिए । बजारमा मौलिक चलचित्रको अभाव भैरहेको र दर्शकको माग अनुसार निर्माण हुन आबश्यक रहेको उनीहरुले बताए ।
महोत्सव उद्घाटन गर्दै प्रदेश ५ का सभामुख पूर्ण घर्तीले चलचित्रले नेपाली मौलिक कला, संस्कृती र पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने बताए । चलचित्र लेखक निर्देशक नविन सुब्बाले चलचित्र क्षेत्रको विकासका लागि उचित वातावरण नभएको गुनाशो गरे । नायक नवल खड्काले सरकारी तहबाट चलचित्रबारे उल्लेख्य काम हुन नसकेको बताए । कार्यक्रममा अभिनेता मुनाल घिमिरे, बिनोद श्रेष्ठ, आर्यन बज्राचार्य, गितकार लोकराज अधिकारी लगाएतलाई सम्मान गरिएको थियो । महोत्सवमा बिभिन्न कला, संस्कृती झल्किने नाचहरु प्रस्तुत गरिएका थिए ।