मसित प्रेम नगरे हुन्छ

- उषा शेरचन

पुस २५, २०७६

 

तिम्रो मनको संकुचित आकाशभित्र

–मेरो प्रेमको विशालता अटाउनै सकेन

तिम्रो अहंकारको क्षितिजभित्र

–मेरो प्रेमको लहरा फैलिनै सकेन

खिया लागेका तिम्रा सोचाइहरु

–प्रदूषित भएर जताततै

–ह्वास्स ह्वास्स गनाइरहन्छ

सुगारटाइका तिम्रा पुनरास्वरहरु

–काँडे झार भएर जताततै

–च्वास्स च्वास्स बिझाइरहन्छ

प्रेम खेल जस्तो लागे पनि

यो कुनै खेल होइन

प्रेम बन्धन जस्तो लागे पनि

यो कुनै बन्धन होइन

काँचो मासु कोपर्नेहरुले प्रेमको मर्म जानेका हुँदैनन्

सिनोमाथि झुम्मिनेहरुले प्रेमको अर्थ बुझेका हुँदैनन्

प्रेम पूजा हो प्रेम आरधाना हो

प्रेम आस्था हो प्रेम विश्वास हो

प्रेम तपस्या हो प्रेम बलिदान हो

प्रेममा नि:स्वार्थका अविरल धाराहरु बहिरहनु पर्छ

प्रेममा निश्चलताका अविराम खोलाहरु बगिरहनु पर्छ

प्रेममा सुन्दरताका ताजहरु उठिरहनु पर्छ

प्रेममा सर्मपणका अखण्ड ज्योतिहरु बलिरहनु पर्छ

प्रेम आकाश जस्तै विशाल हुन्छ

प्रेम क्षितिज जस्तै फैलिएको हुन्छ

प्रेम धरती जस्तै महान् हुन्छ

प्रेममा किनबेचको सवालै हुँदैन

प्रेममा नाफा र घाटा पनि सोचिँदैन

प्रेममा मौकाको फाइदा कदापि उठाइँदैन

सही अर्थमा प्रेम अमृत हुन सक्छ

गलत अर्थमा प्रेम विष पनि हुन सक्छ

मेरो प्रेमलाई तिमीले

–गलत अर्थमा परिभाषित गर्न खोज्दैछौ भने

मेरो प्रेमलाई तिमीले

–मात्र सम्झौताको नाम दिन चाहन्छौ भने

भो अब तिमीले मसित प्रेम नगरे हुन्छ 

भो अब तिमीले मसित प्रेम नगरे हुन्छ  !!

 

प्रकाशित :पुस २५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×