साप्ताहिक संवाददाता
पछिल्लो दशकमा बलिउडको बक्स अफिसमा सबैभन्दा बढी कलेक्सन गर्ने चलचित्रको सूची सार्वजनिक भइसकेको छ । यी चलचित्रमध्ये केही चलचित्र बक्स अफिसमा मात्र सफल नभई दर्शकको प्रेमका आधारमा पनि सफल भएका छन् । बक्स अफिस इन्डिया डटकमले हालै मात्र पछिल्लो दशकमा सबैभन्दा बढी हेरिएको चलचित्रको सूची बाहिर ल्याएको छ । यो सूचीमा थिएटर र टेलिभिजनमा सर्वाधिक हेरिएका चलचित्र छन् ।
सूचीको पहिलो स्थानमा प्रभास अभिनीत चलचित्र ‘बाहुबली २ : द कन्क्लुजन’ छ, तर सूचीमा अभिनेता सलमान खानले प्रभाससहित अन्य अभिनेतालाई पछाडि पारेका छन् । दशकमा सबैभन्दा बढी हेरिएको चलचित्रमा सलमानका चार चलचित्र ‘बजरंगी भाइजान’, ‘टाइगर जिन्दा है’, ‘दबंग’ र ‘सुल्तान’ छन् । यसबाहेक शाहरूख खान र दीपिका पादुकोण स्टारर चलचित्र ‘चेन्नइ एक्सप्रेस’ पनि सूचीमा छ ।
सूचीमा पहिलो स्थानमा ‘बाहुबली : द कन्क्लुजन’ (२०१७), दोस्रो स्थानमा ‘बजरंगी भाइजान’ (२०१५), तेस्रो स्थानमा ‘बाहुबली : द बिगिनिङ’ (२०१५), चौथो स्थानमा ‘दंगल’ (२०१६), पाँचौं स्थानमा ‘गोलमाल अगेन’ (२०१८), छैटौं स्थानमा ‘पीके’ (२०१४), सातौं स्थानमा ‘टाइगर जिन्दा है’ (२०१८), आठौं स्थानमा ‘दबंग’ (२०१०), नवौं स्थानमा ‘सुल्तान’ (२०१६) र दसौं स्थानमा ‘चेन्नई एक्सप्रेस’ (२०१३) छन् ।