साप्ताहिक संवाददाता
किंवदन्तीअनुसार दैंत्यमाथि मानिसको जित र टुँडिखेलमा दैंत्य आत्मा रहेका कारण बर्सेनि घोडा कुदाएर दैंत्यको आत्मालाई दबाउने गरिएको विश्वास गरिन्छ, जसका कारण घोडेजात्रा कहिलेदेखि सुरु भएको हो भन्ने विषयमा खासै यकिन तथ्य छैन ।
नेपालमा घोडचढी खेल नौलो होइन, तर यसको प्रतियोगितात्मक अवस्था हेर्ने हो भने यो नेपालमा पछिल्लो पटक भित्रिएको नयाँ खेल मानिन्छ । नेपालमा घोडचढीसँग सम्बन्धित खेलका रूपमा काठमाडौंमा चैत महिनामा आयोजना हुने घोडेजात्रा र साउन महिनामा मुस्ताङमा आयोजना हुने यार्तुङलाई नै मानिन्छ । वार्षिक रूपमा आयोजना हुने यी दुवै घोडचढीसँग सम्बन्धित खेलका आ–आफ्नै धार्मिक र सामाजिक मान्यता भए पनि घोडचढी खेलका रूपमा भने यी दुवैले मान्यता पाउन सकेका छैनन् ।
काठमाडौंमा आयोजना हुने घोडेजात्रामा गरिने घोडा दौडलाई कुनै समय एसियाकै सबैभन्दा ठूलो मैदानमा आयोजना हुने घोडा दौड प्रतियोगिता मानिन्थ्यो । काठमाडौंको घोडेजात्राको उत्पत्तिको आ–आफ्नै किंवदन्ती छ । किंवदन्तीअनुसार दैंत्यमाथि मानिसको जित र टुँडिखेलमा दैंत्य आत्मा रहेका कारण बर्सेनि घोडा कुदाएर दैंत्यको आत्मालाई दबाउने गरिएको विश्वास गरिन्छ, जसका कारण घोडेजात्रा कहिलेदेखि सुरु भएको हो भन्ने विषयमा खासै यकिन तथ्य छैन । पछिल्लो पटक नेपाली सेनाले घोडेजात्रालाई निरन्तरता दिन थालेपछि भने घोडेजात्रामा पनि विविधता आउन थालेको छ ।
काठमाडौंमा घोडेजात्रा मनाइएजस्तै घोडामा सवार भएर मुस्ताङमा यार्तुङ आयोजना हुने गर्छ । तिब्बतीयन मूलको यो मौलिक पर्व तिब्बतसँग सिमाना र वेशभूषा मिल्ने नेपालीहरूले पनि वर्षौंदेखि मनाउँदै आउन थालेका छन् । यो पर्वमा स्थानीय आफ्नो घोडामा सवार भएर विभिन्न किसिमको दौड प्रतियोगितालगायत घोडामा सवार भएर विभिन्न क्षमता देखाउने गर्छन् ।
सयौं वर्ष अगाडिदेखि यी दुई खेल नेपालमा आयोजना हुँदै आए पनि नेपालमा घोडचढीले भने प्रतियोगितात्मक खेलको रूप धारण गर्न सकेको छैन । घोडचढीलाई आजभन्दा १ सय २० वर्षअगाडि अर्थात् सन् १९०० मा पेरिसले आयोजना गरेको दोस्रो ओलम्पिक प्रतियोगितामा पहिलो पटक खेलकुदका रूपमा समावेश गरेको थियो । यो अवस्थालाई हेर्ने हो भने नेपालमा घोडचढी प्रतियोगितात्मक भन्दा मनोरञ्जन खेलका रूपमा खेलिने गरेको देखिन्छ ।
पछिल्ला केही वर्षमा घोडचढीलाई पनि खेलका रूपमा विकास गर्ने जमर्को गरिन थालिएको छ । सन् २०११ मा श्रीलंकामा आयोजना भएको पहिलो दक्षिण एसियाली बिच गेम्समा नेपालले घोडचढी खेलमा १ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको थियो । यो सफलताले नेपालमा पनि घोडचढीको केही सम्भावना देखिएको हो । घोडचढीको हाम्रो देशमा अलग्गै इतिहास छ । यसलाई केही व्यवस्थित र प्रतियोगिताको रूप दिने हो भने हामी अन्तर्राष्ट्रिय क्षेत्रमा जान सक्छौं भन्छन् नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकार ।
घोडचढी खेलले पछिल्लो केही वर्षदेखि नेपालमा निरन्तरता पाउँदै आएको छ । यसैको छैटौं संस्करण आज शुक्रबारदेखि टुँडिखेलमा आयोजना हुँदैछ । एकदिने यो प्रतियोगितामा घोडचढीको हाइजम्प, टेन्ट पोगिङ र शो जम्पको स्पर्धा हुनेछ । यसपटकको प्रतियोगितामा २० पुरुष र ६ महिला राइडरहरूले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय प्रतियोगिताका रूपमा आयोजना भए पनि यो प्रतियोगितामा सहभागी हुने अधिकांश खेलाडी भने नेपाली सेनाकै छन् । प्रतियोगितामा सहभागी हुने घोडाको उपलब्धताकै कारण पनि नेपाली सेनाका खेलाडी र घोडाले यो प्रतियोगितालाई सफल बनाउने देखिन्छ ।
घोडचढी प्रतियोगितामा प्रयोगमा आउने घोडा आममानिससँग छैन भने पनि हुन्छ । यस्तो अवस्थामा प्रतियोगितामा आममानिसको पहुँच हुन नसकेको अध्यक्ष राजकर्णिकार स्विकार्छन् । उनी भन्छन्, ‘यो राष्ट्रिय प्रतियोगिताको हाम्रो लक्ष्य भनेको अहिले रहेका थोरै घोडचढी खेलाडीहरूलाई अनुभवी गराउने हो भने उनीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउनु पनि हो ।’ संघले सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई जनही २०, १५ र १० हजार रुपैयाँ नगद पुरस्कार राखेको छ भने महिला प्रतियोगीलाई ५ हजार रुपैयाँ दिने घोषणा गरिसकेको छ ।
अहिले नेपाल घोडचढी संघले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । रवि भन्छन्, ‘स्वदेशभित्र यो खेलका केही गतिविधि आयोजना पाएमा हामीलाई अन्तर्राष्ट्रिय मान्यता लिन सजिलो हुन्छ । यही प्रतियोगिता आयोजना गर्न पनि संघलाई गाह्रो छ, खेलाडी मात्र भएर भएन घोडा पनि चाहियो, फेरि यो प्रतियोगितामा सहभागी हुने घोडा पनि विशेष किसिमको हुनुपर्यो । यस्तो घोडा आममानिसले पाल्न र प्रशिक्षण दिन पनि सक्दैनन् । त्यसैले नेपाली सेनाको सहयोगबिना यो प्रतियोगिताको राष्ट्रिय प्रतियोगिता आयोजना गर्न पनि सम्भव छैन । अहिले यो खेलमा जति खेलाडी र घोडा छन् तिनीहरूलाई अनुभवी बनाउँदै अन्तर्राष्ट्रिय मान्यताका लागि ढोका खोल्ने हाम्रो योजना हो ।’
घोडचढी खेल हेर्दा जति आकर्षक मानिन्छ यसको राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु र सहभागी गराउनुलाई खर्चिलो र झन्झटिलो मानिन्छ । प्रतियोगितामा सहभागी हुने घोडा खेलाडीले अभ्यास गरेकै हुनुपर्छ । यस्तो अवस्थामा घोडालाई विशेष किसिमको सवारी साधनबाट गर्ने ढुवानी, तिनीहरूको क्वारेन्टाइन परीक्षण, स्थानीय वातावरणसँग घुलमिल आदि जस्ता कुराले झन्झटिलो हुने गर्छ । अहिले नेपालका घोडचढी खेलाडीहरूलाई केही अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन निमन्त्रणा आए पनि खर्च र झन्झटिलो नियमका कारण सहभागी हुन नसकेको रवि बताउँछन् । उनी भन्छन्, ‘हामीले अन्तर्राष्ट्रिय मान्यता पायौं भने वैदेशिक सहयोगमा नेपालभित्रै केही गर्न सक्ने वातावरण बन्ने थियो कि ?’