‘पारिजातले मेरो कथाको प्रशंसा गर्नुभएको थियो’

- कृष्ण आचार्य

पुस २६, २०७६

 

पारिजातले मेरो विराटनगरस्थित घरमै पुगेर ‘तपाईंको कथा असाध्यै मन पर्यो’ भन्नुभयो । सोही क्रममा मलाई एक दिन सूचना विभागबाट फोन आयो । ०३५–३६ सालतिर हो । रानी ऐश्वर्याका बारेमा पनि कथा लेखिदिनुपर्‍यो भनियो । त्यसपछि भने मलाई लेख्न मन लाग्न छाड्यो ।

नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको अघिल्लो वर्ष ‘न्याय’ शीर्षकमा आत्मवृत्तान्त प्रकाशन भएपछि सार्वजनिक वृत्तमा उनी लेखकका रूपमा पनि चिनिइन् । हालै उनको उपन्यास पुस्तक ‘कारा’ सार्वजनिक भएको छ । नयाँ पुस्तक प्रकाशनकै सेरोफेरोमा कार्कीसँग साप्ताहिकका कृष्ण आचार्यले गरेको संवाद :

 

आत्मवृत्तान्त ‘न्याय’ सार्वजनिक भएको १५ महिनामै ‘कारा’ उपन्यास लिएर आउनुभयो । तयारी पहिल्यैदेखि थियो या यही १५ महिनामा तयार पार्नुभएको हो ?

सायद पाठकहरूले अपेक्षा गर्नुभएको थिएन । यो उपन्यास मैले अहिले लेखेको भने होइन । २०४६ सालको जनआन्दोलनमा प्रहरीले नियन्त्रणमा लिएर मलाई विराटनगरको हाटखोला जेल चलान गर्‍यो । त्यतिबेला मैले जेलको वातावरण नियाल्ने अवसर पाएँ । जेलको दरिद्र अवस्था देखेर मलाई अचम्म लाग्यो । कुनै किल्लाको आकारको जेलभित्र भकारीजस्तो माटाको ढिस्को बनाइएको थियो । माथिबाट फर्स बिछ्याएर त्यसको मुनि नुन राखिएको थियो । नुनको असरले कैदीको छिटो मृत्यु होस् भन्ने पञ्चायती शासकको मनसाय रहेछ । छानामा झुलजस्तो माकुराको कालो भयंकर जालो पिङ खेलिरहेको थियो । ढिस्कोमाथि माटोको भाँडा राखेर खाना बनाउनुपथ्र्यो । झन्डै ३० फिटको पर्खालभित्र हामी यसरी कैद भएका थियौँ कि त्यहाँबाट बाहिरको संसार नियाल्नु सपनाजस्तो थियो । कतैबाट ताजा हावा आउने कुरै थिएन । महिलामाथि विभेद, अन्याय र अत्याचार त्यस्तै । मलाई त्यहाँको जीवन कुनै चलचित्रको रिलजस्तो लाग्यो । सबै कुरालाई आफ्नो डायरीमा टिपोट गरिरहेकी थिएँ । त्यही टिपोटले अहिले आएर उपन्यासको रूप लिएको हो ।

त्यतिबेला टिपोट गर्दा नै भविष्यमा पुस्तक बनाउने सोच्नुभएको थियो ? 

जेलभित्रको गतिविधिले मलाई निकै छोएको थियो । त्यसैले यो साहित्य सिर्जनाको राम्रो सिक्वेन्स हुन्छ भन्ने लागेर टिपोट गरेकी थिएँ । जेलबाट निस्किएपछि डायरीको टिपोटलाई लम्ब्याएर सारेँ । त्यसपछि भने लामो समय (झन्डै तीन दशक) थन्किएर बस्यो ।

साहित्यप्रतिको रुचि पहिल्यैदेखि थियो या जेलको वातावरणबाटै यतातर्फ आकर्षित हुनुभयो ?

सानैदेखि म कविता र उपन्यासहरू पढ्थेँ । फुर्सद हुनासाथ मेरो ध्यान साहित्यिक कृतिको अध्ययनमा जान्थ्यो । म आफैं पनि कथा र कविताहरू लेख्थेँ । १८–१९ वर्षको उमेरमा मैले एउटा उपन्यास तयार पारेर हरिभक्त कटुवाललाई देखाएँ पनि । उहाँले ‘नानी, तेरो उपन्यास लेख्ने उमेर अझै भएको छैन’ भन्नुभयो । त्यसपछि म पछि हटेँ ।

युवाकालमा तपाईंका कथा र कविता कतै छापिए पनि कि ? रहर मेट्न मात्रै लेख्नुभयो ?

मेरा कथा र कविता विराटनगरका स्थानीय पत्रपत्रिकामा निकै छापिएका छन् । त्यतिबेला काठमाडौंबाट निस्कने पत्रपत्रिकामा पनि छापिए । एउटा कथा पढेर पारिजातले त्यसको प्रशंसा गर्नुभएको थियो । कथाको नाम मैले अहिले बिर्सिएँ तर त्यो कथा जीवनसँग हारेको एक युवकको थियो । उसले बिहानीसँगै देखेको सूर्यलाई आफ्नो उदाउँदो भविष्यको प्रतीकका रूपमा लिएको थियो । एक पाक्षिकमा छापिएको सो कथा पढेर पारिजातले मेरो विराटनगरस्थित घरमै पुगेर ‘तपाईंको कथा असाध्यै मन पर्यो’ भन्नुभयो । सोही क्रममा मलाई एक दिन सूचना विभागबाट फोन आयो । ०३५–३६ सालतिर हो । रानी ऐश्वर्याका बारेमा पनि कथा लेखिदिनुपर्‍यो भनियो । त्यसपछि भने मलाई लेख्न मन लाग्न छाड्यो । त्यहीँदेखि मैले लेख्न छाडेँ । लोकतान्त्रिक आन्दोलनमा लागेको मान्छे म, कसरी राजपरिवारको गुनगान गाउन सक्थेँ ?

जेलबसाइको भोगाइलाई ‘कारा’मा आख्यानको रूप दिनुभएको छ । यसमा वास्तविक घटनाको सम्बन्ध कति छ ? 

सारी–चोलो लगाएकी, पटुका बाँधेकी, लामो कपाल भएकी एउटा महिला भर्‍याङमा उक्लिरहेकी छ, सोच्दा–सोच्दै यो आइडिया फुर्‍यो । त्यसपछि मैले उसलाई केन्द्रीय पात्र बनाएर उपन्यास सुरु गरेँ । आपराधिक घटना समावेश गर्न मसँग थुप्रै सन्दर्भ थिए । रोचक लागेजति मिसाउँदै गएँ । भर्‍याङ उक्लिएकी महिलालाई किर्ते मुद्दामा फसेको पात्र बनाएँ । सौताको बच्चाप्रति हुने निकै क्रूर व्यवहारबारे पनि मैले सुनेकी थिएँ । त्यसलाई पनि मिसाउँदै लगेँ । यसरी जेलको सन्दर्भमा पात्र र घटनाक्रम मिसाउँदै त्यसलाई रोचक बनाएर यो कृति तयार पारेकी हुँ ।

तपाईंले जेलजीवन पनि बिताउनुभयो, न्यायिक क्षेत्रको नेतृत्व पनि सम्हाल्नुभयो । महिला र अपराधको सम्बन्धको सामाजिक पक्षलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

महिलाहरू हत्पति अपराध गर्ने पक्षमा हुँदैनन् । दुई–तीन प्रतिशतमा मात्र यसको सम्भावना हुन्छ । उनीहरूले आफ्नो मात्र नभएर परिवारको पनि इज्जत र प्रतिष्ठाको ख्याल राख्छन् । यो एकदम क्रय–विक्रयमा हुन्छ । मेरो उपन्यासमा एक पात्र छिन्, जो श्रीमान्ले छाडेर माइतीमा बसेकी हुन्छिन् । मामाको छोरासँग लसपस भएर उनको गर्भधारण हुन्छ । बच्चा जन्मिएपछि लगेर कतै फाल्छिन् । कुकुरले बोकेर उसको आँगनमै ल्याइदिन्छ । उसको बच्चा भन्ने थाहा पाएपछि उनीमाथि अनैतिकताको बिल्ला भिराइन्छ, पक्राउ गरेर थुनामा राखिन्छ । उनीसँग अमानवीय व्यवहार गरिन्छ । यो मैले आफैं हेरेको मुद्दा हो । पात्रको नाम परिवर्तन गरेर यो घटनालाई मैले उपन्यासमा समेटेकी छु । जीउ मास्ने, बेच्ने अपराधमा पनि अभिभावकले लाग्न बाध्य बनाउँछन्, तर फस्ने महिला हुन्छन् ।

जेलजीवन त महिला र पुरुषका लागि एउटै अनुभव होइन र ?

पुरुष जेल पर्नु र महिला पर्नुमा फरक छ । पुरुषका लागि उसका श्रीमती, आमा, बहिनी सबैले पर्खिएर बस्छन् । तर, महिला पर्दा उनीहरूलाई साथ दिने, उनीहरूको पर्खाइमा बस्ने कोही हुँदैन । जेलबाट निस्किएपछि ऊ कतै जाने ठाउँ हुँदैन । विराटनगरमा मसँगै जेलमा बसेकी एक महिला जेलमुक्त भएपछि सडक–पेटीमा माग्दै हिँडेको मैले कैयौँ पटक देखेकी छु । उसलाई आफ्नै हातले केही रुपैयाँ सहयोग गरेकी छु । प्राय: पुरुषहरू अपराध गरेरै जेल आएका हुन्छन्, तर महिला अपराध नगरी फस्छन् । अपराध गर्नेहरू कम मात्र हुन्छन् । यो कुरा मैले जेलमा देखेको र आफ्नो करियरमा अनुभव गरेको आधारमा भन्दै छु । 

‘कारा’ उपन्यासको टिपोट तीन दशकअघि तयार रहेछ । तर, उपन्यासभन्दा आत्मवृत्तान्त अघि निकाल्नुभयो, किन ?

मैले इमानदार भएर काम गर्दा पनि ममाथि महाअभियोग लगाउन खोजियो । त्यो मेरा लागि सामान्य घटना थिएन । न्यायालयभित्रका विकृति स्मरण हुँदै निकाल्दा राम्रो भनेर मैले पहिले आत्मकथाको पुस्तकमा काम गरें । ‘कारा’जस्ता उपन्यासका विषय मसँग धेरै छन् । बिस्तारै काम गर्दै जान्छु ।

प्रकाशित :पुस २६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×