साप्ताहिक संवाददाता
अभिनेत्री प्रियंका कार्की अहिले चलचित्रमा सक्रिय छैनन् । पछिल्लो चलचित्र ‘हजार जुनीसम्म’ पछि उनको हातमा नयाँ चलचित्र पनि छैनन् । चलचित्रमा सक्रिय नभएको मौका पारेर प्रियंकाले यतिबेला निर्देशनमा आफ्नो भाग्य परीक्षण गर्न थालेकी छिन् । उनको निर्देशनमा बनेको पहिलो वेब सिरिज ‘जस्ट एनोदर लभ स्टोरी’ को केही भाग युट्युबमार्फत सार्वजनिक भइसकेको छ ।
यो सिरिजमा उनी निर्देशकसँगै सम्पादकका रूपमा समेत सक्रिय छिन् भने सृष्टि श्रेष्ठसँगै अभिनय पनि गरेकी छिन् । वेब सिरिजको निर्देशनसँगै प्रियंकाले अहिले आएर म्युजिक भिडियोको निर्देशनमा समेत हात हालेकी छिन् । उनले निर्देशन गरेको बालगायिका आयुष्का खनियाँको स्वरको ‘मेरै लाहुरेले...’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
आफ्नै निर्देशनको उक्त गीतको म्युजिक भिडियोमा प्रियंकाले अभिनेता आयुष्मान देशराज जोशीसँग अभिनय पनि गरेकी छिन् । प्रियंकाको निर्देशन यात्रालाई अधिकांश चलचित्रकर्मीले सकारात्मक मानेका छन् । वेब सिरिज र भिडियोमार्फत निर्देशनमा सक्रिय भएकी प्रियंकाले कुनै दिन चलचित्र नै निर्देशन गरिन् भने अचम्म नमाने हुन्छ ।