साप्ताहिक संवाददाता
बलिउडकी ६७ वर्षीया गायिका अनुराधा पौडवाल यतिबेला चर्चाको चुलीमा छिन् । तिरुवनन्तपुरम (केरल) की ४५ वर्षीया करमाला मोडेक्सले गायिका अनुराधा आफ्नी आमा भएको बताएपछि उनको चर्चा चुलिएको हो । उनले अनुराधा आमा भएको भन्दै जिल्ला फ्यामिली अदालतमा अनुराधाका विरुद्ध मुद्दा दर्ता गराएकी छन् । उनले मुद्दामा अनुराधाले आफूलाई ५० करोड जरिवाना तिर्नुपर्ने उल्लेख गरेकी छन् । ‘करिब ५ वर्षअघि मेरो बुबाले निधन हुनुअघि यो सत्यता बताउनुभएको हो ।
उहाँले अनुराधा मेरो बायोलोजिकल आमा रहेको बताउनुभएको थियो । म चार वर्षको हुँदा अनुराधाले मलाई पाल्ने जिम्मेवारीसहित पोंनाचन र अगनेसलाई हस्तान्तरण गर्नुभएको थियो’, करमालाले भनेकी छन्, ‘मेरो पिता पोंनाचन हुन्, उहाँ महाराष्ट्रमा आर्मीमा हुनुहुन्थ्यो । उहाँ अनुराधाको साथी पनि हो । केही समयपछि उहाँको केरलामा सरुवा भएको थियो ।’
करमालाले पाश्र्वगायनमा व्यस्त रहेका बेला अनुराधाले बालबच्चाको जिम्मेवारी बहन गर्न नसक्ने भएपछि अन्यलाई आफूलाई जिम्मा लगाएको दाबी गरेकी छन् । करमालाका वकिल अनिलप्रसादले करमाला जुन बाल्यकाल र जिन्दगीको हकदार थिइन्, त्योबाट उनलाई वञ्चित गरिएको बताएका छन् । उनले यदि पौडवालले करमालाको दाबीलाई खारेज गरे उनीहरूले अदालतलाई डीएनए टेस्टको माग गर्ने बताए ।
करमालाले यो सत्यताका बारेमा आफूलाई पाल्ने आमा अगनेसलाई पनि थाहा नभएको दाबी गरकी छन् । पोंनाचन र अगनेसका तीन छोरा छन् । उनीहरूले करमालालाई आफ्नो चौथो सन्तानका रूपमा पालेका थिए । ८२ वर्षीया अगनेस अल्जाइमरबाट पीडित छिन् ।
तीन सन्तानकी आमा करमालाले आफूले कैयौं पटक गायिका पौड्वाललाई फोन गर्ने प्रयास गरे पनि उनले कहिले प्रतिक्रिया नदिएको दाबी गरेकी छन् । अनुराधाले करमालाको नम्बर ब्लक गरेपछि समस्या झन् बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तिरुवन्तपुरमको फ्यामिली कोर्टले अनुराधा र उनको बच्चालाई २७ जनवरीमा सुनुवाइका लागि अदालतमा उपस्थित हुन आदेश दिएको छ ।