साप्ताहिक संवाददाता
नेपालका अधिकांश गायक–गायक कन्सर्टहरूमा प्राय: ट्रयाकमा गीत गाउन रुचाउँछन् । एकल गायन बाहेकका सांगीतिक कार्यक्रममा अधिकांश गायक–गायिकाहरू ट्रयाकमै गाइरहेको सुनिन्छ । मेला–महोत्सवका सांस्कृतिक कार्यक्रमहरूमा समेत उनीहरू ट्रयाकमै गाउँछन् ।
दर्शक तथा श्रोताहरूलाई समेत कलाकारले ट्रयाकमा प्रस्तुत गर्ने गीत सुन्ने बानी परेका छन् । यो प्रसंगमा प्रमोद खरेलदेखि रामकृष्ण ढकालसम्म तथा मीना निरौलादेखि अञ्जु पन्तसम्ममा लागू हुन्छ ।
यद्यपि, अहिले आएर गायक प्रमोद खरेलले स्वदेशका सांगीतिक कार्यक्रममा सकेसम्म ब्यान्डमै प्रत्यक्ष गीत गाउने निर्णय लिएका छन् । यसै साता भारतको आसाममा सम्पन्न सांगीतिक कार्यक्रममा पहिलो पटक ब्यान्डसहित प्रस्तुत भएपछि हौसिएका गायक खरेलले स्वदेशका कन्सर्टमा समेत त्यसैलाई निरन्तरता दिने बताएका हुन् ।
आसामका कन्सर्टमा ब्यान्डबिना गीत नै नसुन्ने जानकारी पाएपछि उनले स्वदेशमा पनि त्यसैलाई निरन्तरता दिने निर्णय गरेका हुन् । ढिलै गरी खुलेको गायक खरेलको चेतलाई अन्य गायक–गायिकाहरूले समेत पछ्याए भने बल्ल वास्तविक संगीतको स्वाद चाख्न पाइनेछ ।