साप्ताहिक संवाददाता
आठवटा चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले निर्देशक हेमराज बीसीको नयाँ चलचित्रमा आबद्ध भएकी छन् । फागुनमा छायांकन हुने उक्त चलचित्र फ्लोरमा जानुअघि उनी अभिनेता प्रदीप खड्कासँगै वर्कसपमा व्यस्त हुनेछिन् ।
यसैबीच हालै एउटा समारोहमा सहभागिता जनाउनुअघि साम्राज्ञीले साप्ताहिकसँग चलचित्र क्षेत्रमा राम्रो पारिश्रमिक लिने कलाकारको सूचीमा आफ्नो नाम आउनुलाई आफूले अस्वाभाविक नमान्ने बताएकी छन् ।
पुरुष कलाकारको तुलनामा महिला कलाकारलाई कम पारिश्रमिक दिने प्रवृत्ति चिर्न आफू धेरै हदसम्म सफल पनि भएकोमा उनी गर्वसमेत महसुस गर्छिन् । ‘पुरुषको तुलनामा महिला कलाकारलाई कम पारिश्रमिक दिनु अन्याय हो,’ साम्राज्ञीले भनिन्, ‘जबकि कतिपय अवस्थामा पुरुषभन्दा महिला कलाकारले बढी मेहनत गर्नुपर्छ, अन्य महिला कलाकारले पनि पारिश्रमिकको विषयमा खुलेर बोल्न थाल्नुभएको छ, धेरैले राम्रो पारिश्रमिक पाइरहनु पनि भएको छ ।’