ज्योतिले परिवारका सबै सदस्यलाई एकै ठाउँमा राखेर रुँदैरुँदै मुख खोलिन् । ०६५ सालतिरको कुरा हो । उनले आफू ‘मिस पिङ ब्यूटी ट्यालेन्ट’मा भाग लिन लागेको समेत बताइन् ।
३७ वर्षअघि कान्छो सन्तानका रूपमा जन्मदा ज्योति थापाको परिवारमा एउटा खुसी थपिएको थियो । परिवारले उनलाई छोराकै रूपमा हुर्कायो–बढायो । भक्तपुरको शान्ति निकेतनमा पढिन् । कक्षा सातमा पुग्दा उनको पहिचानमाथि औँला उठाइयो । उनलाई केटाहरूभन्दा केटीहरूसँगको निकटता मन पथ्र्यो । उनीहरूसँगै बस्न, खेल्न र रमाउने इच्छा जाग्थ्यो ।
‘कृष्ण केटा हो कि केटी ? यसको पाइन्ट खोलेर हेर्नुपर्छ,’ शिक्षकको मुखबाटै यस्तो वचन सुनेपछि उनको मनमा सधैं डरले जरा गाडिरह्यो । कतिबेला मेरो पाइन्ट खोलेर हेर्नेहुन् भन्ने डर । ‘मेरो कलिलो बालमस्तिष्कमा नकारात्मक कुराहरू खेल्न थाले । पढाइमा ध्यान जान छाड्यो,’ ज्योति आफू कृष्ण हुँदाको क्षण सम्झन्छिन् ।
आफ्नै पहिचानमाथि प्रश्न
घरमा एक दाइ र दुई दिदी थिए । उनलाई कहिल्यै दाइजस्तो हुन मन लागेन । दिदीको कपडा लगाउने, लेडिज ब्याग बोक्ने, लामो कपाल पाल्न, घरको काम गर्न, दिदीहरूको कपाल कोरिदिन, गाउँ–घरमा केटीहरूको संगत गर्न मन लाग्ने हुन थाल्यो । उनको स्वर पनि न केटाको जस्तो थियो न केटीको जस्तो ।
परिवारले ज्योतिको ‘अस्वाभाविक क्रियाकलाप’लाई उनको बालापन ठान्यो । ज्योतिलाई त्यसको महसुस हुने कुरै थिएन । ७ कक्षा पास गरेपछि उनी गाउँको स्कुल छाडेर शारदा माध्यमिक विद्यालयमा भर्ना भइन् । त्यहाँ ज्योतिको व्यवहार साथीहरूका लागि ठट्टाको विषय बन्यो, तब उनमा म किन अरूभन्दा फरक भएँ भन्ने प्रश्नले घचघच्याउन थाल्यो ।
‘९ कक्षामा पढ्दा म अरूभन्दा फरक छु भन्ने महसुस भयो । तर के फरक हो भन्ने थाहा पाउन सकिनँ,’ ज्योति भन्छिन्, ‘म केटा भएर पनि मलाई किन केटै मन पर्छ र केटीहरूको संगत गर्न किन रुचाउँछु भन्ने प्रश्नले मलाई निकै तनाव दिइरह्यो ।’ यस्तै चिन्ता, तनाव र अपमानबीच उनले ०५७ सालमा एसएलसी पास गरिन् र भक्तपुर बहुमुखी क्याम्पसमा ११ कक्षामा भर्ना भइन् ।
समय बित्दै गयो । ज्योतिको न दाह्री–जुँगा आयो, न उनको स्वर केटाको जस्तो भयो । ‘म बोल्दा साथीहरू थपडी बजाएर हाँस्थे । साथीहरूको मलाई हेर्ने दृष्टिकोण नै फरक हुन्थ्यो । त्यसैले मैले कसैसँग नबोल्ने निर्णय लिएँ,’ उनी प्रस्ट पार्छिन् । निर्णय जति सहज थियो, परिस्थिति त्यति नै कठिन । यसैबीच घरमा केटीसँग उनको बिहेको कुरा चल्यो । उनलाई केटा मन पर्ने ! बिहे सम्भव थिएन । उनले जागिर नभएका कारण श्रीमती पाल्न नसक्ने बहाना बनाउँदै तत्काल बिहे नगर्ने अडान लिइन् । ०६१ सालमा १२ कक्षा पास गरिन् । ‘विभिन्न तनावले १२ कक्षा पास गर्न मलाई चार वर्ष लाग्यों’ ज्योति भन्छिन् । लगत्तै बीएमा भर्ना पनि भइन् ।
बीएमा भर्ना भएको केही समयमै उनले भक्तपुरकै सरस्वती निम्न माध्यमिक विद्यालयमा करारमा पढाउन थालिन् । त्यहाँ पनि उनलाई विद्यार्थीहरूले ‘केटी मास्टर’ भनेर जिस्क्याउन थाले । उनी विद्यार्थीका कुरामा ध्यान नदिई आफ्नो कर्ममा लागिन् । धैर्यता धेरै समय नटिकेपछि २ वर्ष ६ महिनापछि पढाउन छाडिन् । त्यति नै बेला ज्योतिले एक म्यागजिनमा तेस्रोलिङ्गी–समलिङ्गीबारे पढ्ने मौका पाइन् । म्यागजिनमा तेस्रोलिङ्गीका विशेषताहरू जे–जे थिए ती सबै उनको जीवनमा मेल खान्थे । बल्ल उनले आफ्नो फरक पहिचान
चाल पाइन् ।
समाज र परिवारले थाहा पाए के भन्लान् ? उनको मनमा यो प्रश्नले बारम्बार झकझक्याइरह्यो । ‘त्यसपछि
म रातभरि रोएँ । अरूले थाहा पाउलान् भन्ने कुरा मनमा खेल्न थाल्यो अनि मैले आत्महत्याको प्रयास गरेँ,’ ज्योति सुनाउँछिन् । आत्महत्या सोचेजति सहज थिएन । संसारमा ममात्र किन यस्तो भएँ ? उनले कैयौँ रात यही सोचेर बिताइन् । डिप्रेसनमा परिन् । बिरामी भइरहने, मनमा कुरा खेलाइरहने, भोक र निद्रा नलाग्ने । दुई वर्ष उनको जीवन ठूलो संकटबाट गुज्रियो । ज्योति भित्रभित्र विक्षिप्त भइसकेकी थिइन् । न मर्न सक्थिन्, न बाँचेर बाँच्न नै । मर्नु र बाँच्नु बीचको दोसाँधमा थिइन् उनी ।
विश्वविद्यालयमा एक्स्पोज, परिवारको साथ
यत्तिकैमा ब्ल्यू डायमन्ड सोसाइटीबारे थाहा पाइन् । उनले बुझिन्– आफूजस्ता अरू पनि हुँदा रहेछन् र उनीहरूका लागि संस्था पनि हुँदो रहेछ । भन्छिन्, ‘ब्ल्यू डायमन्डको कार्यालय जाँदा त मलाई अचम्म लाग्यो । त्यहाँ मजस्ता धेरै साथी थिए । उनीहरूको दु:खकष्टबारे सुनेँ । त्यसपछि बल्ल राहत महसुस भयो ।’ बल्ल उनको मनलाई शान्ति मिल्यो । फलस्वरुप ०६४ सालमा बीए पास भइन् । केही समयमै एमए भर्ना भइन् । परिवारबाट बिहेका लागि दबाब आउन भने रोकिएको थिएन । उनले भक्तपुरमा रहेको ब्ल्यू डायमण्डको कार्यालयमा जागिर खान थालिसकेकी थिइन् । अब उनीसामू बिहे टार्ने कुनै बहाना थिएन ।
अन्तत: ज्योतिले परिवारका सबै सदस्यलाई एकै ठाउँमा राखेर रुँदैरुँदै मुख खोलिन् ।
०६५ सालतिरको कुरा हो । उनले आफू ‘मिस पिङ ब्यूटी ट्यालेन्ट’मा भाग लिन लागेको समेत बताइन् । यो तेस्रोलिङ्गीहरूको सौन्दर्य प्रतियोगिता हो ।उनको आत्मकहानी सुनेर एकछिन सबै स्तब्ध भए । त्यसपछि सबैले ज्योतिलाई हौसला दिन थाले । त्यो पल उनका लागि जीवनको सबैभन्दा विशेष मोड थियो ।
उनी एमए पढ्दै गरेको त्रिभुवन विश्वविद्यालयमा पनि एक्स्पोज भइन् । ‘आफ्नो पहिचान लुकाएर आफैभित्र गुम्सिन मन लागेन । त्यसैले केटीको लुगा लगाएर कलेज गएँ र विद्यार्थी तथा सरहरूको बीचमा उभिएर आफू र आफ्नो समुदायबारे बताएँ’ ज्योति भन्छिन् । एसएलसीपछि कृष्ण थापाको नामबाट नागरिकता लिएकी उनलाई त्रिविले ‘टाइटल नेम’ ज्योति राखेर परिचयपत्र बनाइदियो ।
ज्योति ०६५ मा ब्ल्यू डायमन्डले आयोजना गरेको ब्यूटी पेजेन्टमा ‘ब्यूटी विथ ब्रेन’को उपाधि जित्न सफल भइन् । सोही प्रतियोगिताअन्तर्गत एचआईभी एड्स एमबेसडोरका रूपमा मध्यमाञ्चल विजेता पनि बनिन् । उनको पहिचानबारे पत्रपत्रिकामा समाचार आउन थाले । गाउँ–घरकाले पनि त्यसबारे चाल पाए । लगत्तै उनी गाउँमा आयोजित सांस्कृतिक कार्यक्रममा सारी–चोलो लगाएर गइन् । माइकिङ गरेर आफ्नोबारे बताइन् । ‘गाउँभरि फलानोको छोरा त केटी भएर हिँड्छ रे भनेर हल्ला फैलियो । मेरो उपचारका लागि मानसिक अस्पतालमा लैजान परिवारमा सुझाव दिए । तर, यस्ता कुराले म कत्ति विचल्लित भइन,’ ज्योति भन्छिन् ।
२०६६ सालदेखि ज्योतिले ब्ल्यू डायमन्ड भक्तपुर शाखामा काम गर्न थालिन् । त्यसपछि निरन्तर उनी सोही संस्थामा आबद्ध छिन् । भक्तपुर जिल्लामा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मानवअधिकार र यौन स्वास्थ्यको क्षेत्रमा जिल्ला कार्यक्रम संयोजक भएर उनले निरन्तर काम गरिरहेकी छन् ।
यात्रा मोडलिङको
०६५ को प्रतियोगितापछि ज्योतिको रुचि मोडलिङमै बढ्यो । उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक–हितमा काम गर्ने र मोडलिङलाई निरन्तरता दिने सोच बनाइन् । २०७३ सालदेखि उनी पूर्णकालीन रूपमा मोडलिङमा आबद्ध भइन् । तीन वर्षको दौरान उनले ‘पानाच रनवे’, इन्भोग्यू सिजन–४’, ‘आईसी डिजाइनर्स रनवे’, ‘पोखरा अन्तर्राष्ट्रिय फेसन विक’ जस्ता दुई दर्जन फेसन शोमा भाग लिइन् । गत वर्ष मलेसियामा भएको ‘अन्तर्राष्ट्रिय आईपोन फेसन विक’ मा सहभागी भएर ज्योतिले आफ्नो अन्तर्राष्ट्रिय यात्राको सुरुवात गरिसकेकी छन् ।
‘अहिले त मलाई धेरै देशबाट अफर आएको छ,’ ज्योति भन्छिन्, ‘फेसन शो मात्र नभएर फोटोसुटका लागि पनि अफर आएका छन् । केही समयपछि म फोटोसुट र फेसन शोका लागि विदेश जाने योजनामा छु ।’ ज्योति आफूलाई प्रोफेसनल मोडलका रूपमा चिनाउन सफल भएकी छिन् । कुनै समय ‘हाउस अफ फेसन नेपाल’ मा आबद्ध मोडलका रूपमा काम गरेकी ज्योति यतिबेला स्वतन्त्र मोडलिङमा छिन् ।
उनी यतिबेला आफ्नै खुट्टामा उभिएकी छन् । चाहेको पैसा खर्च गर्न, मन परेको ठाउँ घुम्न, मन परेको लुगा लगाउन कुनै आर्थिक समस्या छैन । अध्ययनका हिसाबले पनि ज्योतिले चानचुने सफलता हासिल गरेकी छैनन् । जेन्डर स्टडीमा मास्र्टस गरेर उनले पहिलो ‘ओपन जेन्डर ग्राजुएट’ को रुपमा पहिचान बनाउन सफल भएकी छन् ।