‘गाजा बाजा २’ बन्ने पक्का

- साप्ताहिक संवाददाता

पुस २९, २०७६

केहि बर्षअघि प्रदर्शन भएको चलचित्र ‘गाजा बाजा’को सिक्वेल बन्ने भएको छ । यो चलचित्रलाई पुरानै टिमले निर्माण गर्ने बुझिएको छ ।

हाल स्क्रिप्टको काममा व्यस्त निर्माण टिमले आधिकारिक रुपमा उक्त चलचित्रको सिक्वेल बन्ने बिषयमा पुष्टि गरिसकेको छैन । तर, निर्माण टिम निकट स्रोतका अनुसार पुरानै नामको सिक्वेल बनाउने लगभग पक्का भएको छ । चलचित्रको स्क्रिप्टको काम केहि हप्तामै सकिएपछि कलाकार चयन गरिने निर्माता दीपेन्द्र रेग्मीले बताए । रेग्मीले समेत नाम पक्का नभएको प्रतिक्रिया दिए । उनले भने, ‘हाम्रो टिम चलचित्रको कथा लक गरेर स्क्रिप्टको काममा व्यस्त छ । यो प्रोजेक्ट छिट्टै घोषणा गर्ने योजनामा छौं ।’

कमेडी जनरमा निर्माण भएको पहिलो चलचित्रले सर्वत्र चर्चा पाएको थियो । दर्शक र समिक्षकहरुबाट निकै तारिफ बटुलेको थियो । उक्त चलचित्रमा सुशील सिटौला, अनुपम शर्मा र वर्षा सिवाकोटीलगायतका कलाकारलाई अहिलेका युवापुस्ताको चाल चलन अनुसार गज्जबले अभिनय गराइएको थियो ।

नामको कारण निर्माण घोषणादेखि नै विवादमा मुछिएको उक्त चलचित्रलाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । अदालतमा डेढ बर्ष झमेलामा परेपछि ‘चन्द्रविन्दु’ हटाउने सर्तमा सरकारले यो चलचित्र प्रदर्शन गर्ने इजाजत दिएको थियो ।

दीपेन्द्र रेग्मी र गोमा थापा विष्टको संयुक्त लगानीमा तयार भएको उक्त डीआर फिल्म्स र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको थियो ।

निर्देशक पाण्डे यो चलचित्रलाई सरकारले दिएको नमिठो व्यवहारका कारण केहि समय यो क्षेत्रबाट टाढा रहने सोच बनाएर व्यवसायमा सक्रिय थिए । अब भने पुनः चलचित्र क्षेत्रमा फर्किने उनको योजना छ । यद्यपी यो चलचित्रलाई पाण्डेले निर्देशन गर्छ्न या अरु कोहि निर्देशक रहन्छन् त्यो भने निर्माण टिमले खुलाएको छैन । तर, सिक्वेल भएकाले उनीनै चलचित्रमा आवद्ध हुन सक्ने अनुमान गरिएको छ ।चलचित्रमा रेग्मी र बिष्टले राम्रै रकम खर्च गर्ने योजना गराएका छन् । यसअघि उनीहरुले चलचित्र ‘रणविर’ निर्माण गरेका थिए ।

प्रकाशित :पुस २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×