साप्ताहिक संवाददाता
नजिकका साथीहरूले शान भनेर चिन्छन्, उनको वास्तविक नाम भने शान्ता राई हो । उनी स्वयं आफूलाई न केटी भनेर चिनाउँछिन्, न त केटा । उनको आफ्नो अलग्गै परिचय छ्, परलिङ्गी पुरुष (ट्रान्सम्यान) । आहाले, धनकुटाका शानलाई आफू परलिङ्गी पुरुष भएको खुलाउन कुनै हिचकिचावट छैन । बाबुआमाको चारवटी छोरीपछि पाँचौं छोरीका रूपमा जन्मिएका हुन्— शान ।
जसरी उनी अलग भएर जन्मिए, त्यस्तै उनको जीवन संघर्षको यात्रा पनि फरक धारमा अगाडि बढ्यो । परलिङ्गी पुरुष भएकै कारण उनले अनेकौं हन्डर खेपेका छन् । समाजमा लैङ्गिक अल्पसंख्यक हेर्ने नजर बदलिएको छैन । लैङ्गिक अल्पसंख्यक हुन् भन्ने बुझेपछि अझै पनि कतिपय मानिस पेसेवर यौनकर्मी ठान्छन् । ‘सबै कुरा यौनसम्बन्धमै निर्भर छैन,’ शान खुल्छन्, ‘यौनसम्बन्ध नै ठूलो कुरा होइन, सबैभन्दा ठूलो कुरा त माया हो ।’ मानिसहरूको यस्तै धारणा हटाउन शान आफूलाई एउटा सफल व्यवसायी बनाउन मेहनत गरिरहेका छन् ।
काठमाडौं सुन्दरीजलमा जग्गा भाडामा लिएर उनले पशुपालन गरिरहेका छन् । उनको फार्ममा कुखुरा, टर्की र बाख्रा छन् । यही फार्मबाट उनी मासिक ५० हजार आम्दानी गर्छन् । मासिक ५० हजार आम्दानी गर्ने व्यवसायसम्म आउनलाई पनि उनले कम्ता संघर्ष गर्नुपरेन । जन्मेको दुई वर्षमै बाबु बिते, लगत्तै आमाको मानसिक सन्तुलन बिग्रियो । उनका दिदीहरू पनि विवाह गरेर गएपछि आमा पाल्ने अभिभारा उनकै काँधमा आयो । सानै उमेरमा घरव्यवहार आइपरेपछि उनले ज्याला–मजदुरी गरेर बाल्यकाल बिताए ।
ज्याला–मजदुरीले घर चलाउन गाह्रो हुँदै गएपछि विदेश जाने सोच बनाए । १४ वर्षकै उमेरमा उनले त्यसैका लागि भनेर उमेर बढाएर नागरिकता बनाउन धनकुटा गए । त्यतिबेलासम्म उनको जन्मदर्तासमेत पनि रहेनछ । ‘बुवाको नागरिकता थियो, तर पानीले भिजेर केही पनि बुझिँदैनथ्यो,’ उनी भन्छन्, ‘आमाको नागरिकता नै थिएन ।’ यही कारणले उनलाई नागरिकता बनाउन निकै कठिन भयो ।
जिल्ला प्रशासन कार्यालय, धनकुटाले प्रमाण नपुगेकाले नागरिकता दिन मानेन । नेपाली भएर नेपालीले नै नागरिकता नपाउने भनेर उनी रिसाए । जिल्ला प्रशासन कार्यालयले नजिकको प्रहरी चौकीमा सात जनाको सर्जमिन गरी मुचुल्का उठाएर ल्याउनु भनेर पठाइदियो । उनी भेडेटार प्रहरी चौकीमा गएर हार गुहार गरेर ७ जनामान्छे जम्मा पारी मुुचुल्का उठाएर जिल्ला प्रशासन कार्यालयमा गए । त्यसपछि मात्र उनले ६ वर्ष उमेर बढाएर नागरिकता लिए । नागरिकता बनाइसकेपछि उनले विदेश जानका लागि पासपोर्ट बनाए ।
विदेश जाने भनेर उनी आमासहित मोरङ झरे, जहाँ उनी दिदीको घरमा बस्न थाले । मोरङको दिदीको घरमा रहँदा एक जनासँग उनको भेट भयो । कुराकानी हुन थाल्यो । बाक्लिँदो कुराकानीले उनीहरू एकअर्कासँग प्रभावित भए । त्यही प्रभाव प्रेममा बदलियो । बिस्तारै उनीहरूसँगै बस्न थालिसकेका थिए । सँगै बस्न थालेपछि घरपरिवारबाट नबस्न दबाब बढ्यो । दुवैले विदेश गएर केही गरौं भन्ने सल्लाह गरे । यही क्रममा उनको प्रेमी साउदी गए । केही समयमै शान पनि भिसालगायतका प्रक्रिया पूरा गरेपछि साउदी हानिए ।
‘पाँच महिनापछि म पनि साउदी गएँ, साउदी गएको एक वर्षमै हाम्रो सम्बन्ध टुट्यो,’ उनी भन्छन्, ‘डेढ वर्ष लामो प्रेमसम्बन्ध टुट्दा कसलाई पो दु:ख लाग्दैन, हाम्रो सम्बन्ध छुट्दा उल्कै दु:खी भएँ ।’ दु:खमै रहेर मात्र कुनै उपाय थिएन, आमाको मुहार उज्यालो राख्ने जिम्मेवारी उनकै काँधमा थियो । साथै आफूमाथि समाजले हेर्ने गलत नजरबाट पनि उम्कनु थियो । उनको शारीरिक बनावट र व्यवहारलाई देखेर कतिपय मानिस गिज्याउँथे, हेप्थे । तर, उनले त्यस्ता मानिसहरूलाई कहिल्यै प्रतिवाद गरेनन्, सहेरै बसे । यिनीहरूका अघि केही गरेर देखाउनुपर्छ भनेर आत्मबल बलियो बनाए । ‘परलिङ्गी पुरुष रहरले हुने होइन आफ्नो बाध्यता हुन्छ,’ उनी भन्छन्, ‘बाध्यतालाई नबुझ्ने मान्छेले नराम्रो भने भनेर मन दुखाउनुभन्दा तिनीहरूका अघि केही गरेर देखाउनुपर्छ भन्ने लाग्छ ।’
साउदीमा घरायसी कामका लागि भनेर गएकी थिइन्, यद्यपि उनले त्यहाँ भनेजस्तो काम पाएनन् । भेडाबाख्रा गोठालो लाग्ने काममा लगाइयो । अफिसमा गुनासो गरे, ‘म यस्तो काम गर्न आएको होइन ।’ उनको कुरा सुनुवाइ गरिदिने कोही भएनन् । त्यहाँ रहेका नेपालीले समेत उनलाई राम्रो व्यवहार गरेनन् । तीन महिना भेडाबाख्रा चराइसकेपछि उनले नेपालमा दिदीलाई सम्पर्क गरे । दिदीले उनलाई पठाउने एजेन्टलाई थर्काएपछि घरमा काम लगाइदिएको शान बताउँछन् । घरको काम गर्न थालेपछि उनले मासिक ८ हजार पारिश्रमिक पाउन थाले । त्योमध्ये केही आमालाई पठाउँथे, केही आफैंसँग राख्थे । यसरी अढाई वर्ष साउदी बसाइपश्चात् उनी नेपाल आए । नेपाल फर्कंदा उनले १ लाख ५० हजार रुपैयाँ बोकेर आएका थिए । त्यही पैसाले मोरङमा जग्गा किने ।
साउदीबाट फर्केपछि उनी २०६७ सालमा काठमाडौं आए । काठमाडौंमा बाँच्न झनै ठूलो संघर्ष गर्नुपर्यो । ‘मेरो गेटअपले गर्दा मलाई काठमाडौंमा टिक्न निकै गाह्रो पर्यो,’ उनी भन्छन्, ‘बाँच्नका लागि भारी बोक्ने, ज्यामी काम गर्न थालें ।’ यहीबीचमा उनले एक जना महिला जीवनसाथी फेला पारिसकेका थिए । जीवनसाथीकी दुई छोरी पनि थिए । पाँच वर्ष काठमाडौंमा गुजारेपछि उनी २०७० मा मलेसिया पलायन भए । मलेसियामा पनि उनले भनेजस्तो सुविधा पाएनन् । बिरामी परेपछि अढाई वर्षमै नेपाल फर्किए । ‘विदेशमा रात, बिहान भन्न नपाइने, बिरामी छु भन्दा पनि १८ घन्टा काम गर्नुपर्ने बाध्यता थियो,’ शान भन्छन्, ‘त्योभन्दा त नेपालमै ८ घन्टा खटेर आरामको जीवन बाँच्छु भनेर नेपाल आउने निर्णय गरें ।’ नेपाल आउनका लागि उनीसँग पैसा थिएन । जीवनसाथीसँग आफू नेपाल आउन लागेको जानकारी गराए । लाइफ पार्टनरले ६० हजार रुपैयाँ नेपालबाट पठाएपछि उनी नेपाल फर्किए ।
मलेसिया र साउदीको वैदेशिक रोजगारीका स्वाद लिएर काठमाडौं फर्केपछि उनलाई नेपालमै केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो । त्यसका लागि केही पैसा चाहिन्थ्यो । उनले आफ्नी जीवनसाथीलाई कुवेत पठाए । आफूले काठमाडौंमा ज्याला मजदुरी गर्दै दुई छोरीको पालनपोषण र अध्ययनलाई अघि बढाए । जीवनसाथी दुई वर्षपछि नेपाल फर्किइन् । त्यसपछि उनीहरूले सुन्दरीजलमा कुखुरापालन सुरु गरे । डेढ वर्षअघि ६ लाख लगानीमा टहरा निर्माण गरेर १ हजार कुखुरा हालेर व्यवसाय सुरु गरेको शान बताउँछन् । पहिलो लटबाटै उनले १ लाख २२ हजार रुपैयाँ नाफा कमाए ।
त्यसयता उनी यही व्यवसायमा रमाइरहेका छन् । व्यवसायमा कहिले अप त कहिले डाउन भइरहन्छ । पछिल्लो लट भने निकै घाटा बेहोर्नुपर्यो । १ हजार कुखुरा हालेकोमा १ सय २५ वटा कुखुरा मात्र बाँचे । त्यो पनि २ सय केजी मात्रै भयो । ‘यसबाट निकै घाटा भयो,’ उनी सुनाउँछन् । अहिले उनको फार्ममा कुखुरामात्र होइन, टर्की, खसी बाख्रा छन् । तरकारी खेती पनि थपिएको छ । सबैतिरबाट औसत मासिक ५० हजार रुपैयाँ आम्दानी हुन्छ, जसले उनलाई परिवारको जीविकोपार्जन गर्न पुग्छ । आफ्नै बाहुबलमा सामाजिक हेपाइ खप्दै उनी व्यावसायिक कर्ममा रमाइरहेका छन् ।